युक्रेनी शान्तिका लागि पद त्याग्न तयार छु : जेलेन्स्की


काठमाडौं १२ फागुन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा शान्तिस्थापनाका लागि आफू राष्ट्रपति पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् ।


सोमबारको युरोपेली बैठकलाई उद्धृत गर्दै उनले भने, “यदि युरोपेली देशहरूबीच मतभेद भयो भने त्यो दुःखी परिवारजस्तो हुनेछ ।” सोमबारदेखि युक्रेनमा हुने युरोपेली नेताहरूको बैठकका सन्दर्भमा सोधिएको एक प्रश्नको जवाफमा उनले त्यहाँ केही कठिन निर्णय गर्न बाँकी रहेको बताए । युक्रेनी अधिकारीका अनुसार नेताहरूले बैठकमा आफ्नो आगामी रणनीतिबारे छलफल गर्नेछन् भने जेलेन्स्कीले युक्रेनको सुरक्षा प्रत्याभूतिको बारेमा पनि कुरा गर्ने छन् ।


नयाँ अमेरिकी प्रशासनको चर्को आलोचना खेपिरहेका जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई भेट्नुअघि डोनाल्ड ट्रम्पलाई भेट्न चाहेको पनि बताएका छन् । जेलेन्स्कीले युद्ध अन्त्यका लागि कुनै पनि सम्झौताअन्तर्गत युक्रेनलाई उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो)को सदस्यता दिन माग गर्दै आएका छन् तर वासिङ्टन नेतृत्वको गठबन्धनले प्रतिबद्धता जनाउन आनाकानी गर्दै आएको छ ।

ट्रम्प–पुटिन वार्ताप्रति जेलेन्स्कीले कडा प्रतिक्रिया दिँदै युक्रेनको सहभागिताबिना कुनै पनि शान्ति सम्झौता बेकार हुने बताएका थिए । हालै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध रोक्न साउदी अरबमा रुससँग छलफल गर्ने बताएका थिए । वार्ताका लागि मिति घोषणा गरिएको छैन र अमेरिकाले यसका लागि युक्रेनलाई पनि निमन्त्रणा गरेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया