युग द्रष्टा सिद्धिचरण श्रेष्ठ

स्वयम्भू शाक्य

भाग सबै जन दूर मबाट, या सब मिली मार मलाई
नत्र कुनै दिन भैरव बन्दै नाच्छु म नरमुण्ड लगाई ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधाराका नयाँ युगका प्रवर्तक युगकवि सिद्धिचरण श्रेष्ठको जन्म वि.सं. १९६९ साल जेठ ९ गते मंगलवार शुक्ल पञ्चमीका दिन पूर्वी नेपालको सगरमाथा अञ्चल ओखलढुंगा जिल्लामा साबिक ओखलढुंगा गा.वि.स. वडा नं. ६ हाल सिद्धिचरण नगरपालिका वडा नं. १२ (प्रदेश नं. १) मा भएको थियो । उनका आमा नीरकुमारी र पिता जिल्लामा तत्कालीन माल अड्डाका हाकिम (खरिदार) तथा ‘सुमति’ (१९९१) र ‘भीष्म प्रतिज्ञा’ (१९९३) उपन्यासका लेखक विष्णुचरण श्रेष्ठ (१९१०–२००१) थिए । ओखलढुंगामा त्यसबेला स्कूल नभएको कारणले ७ वर्षको उमेरमा बा¥हखरी पढ्न थाले र वि.सं. १९७६ सालमा ओखलढुंगाबाट माता–पिताका साथ आफ्नो पैतृक घर ओमबहाल बस्न थाले । गणितमा कमजोर भएकोले दरबार हाईस्कूलमा पढे पनि ८ कक्षामै उनले स्कूल छोडी स्वअध्ययन गर्न थालेका युगकवि सिद्धिचरण श्रेष्ठले नेपालको पहिलो स्कूल वि.सं. १९९३ सालमा काठमाडौंको बाङ्गेमुढामा स्थापित महावीर स्कूलमा वि.सं. १९९४ सालदेखि अंग्रेजी विषयको शिक्षक भई अध्यापन गरेको देखिन्छ ।
पिता विष्णुचरण श्रेष्ठले आदिकवि भानुभक्त आचार्यको रामायण र आशुकवि मोतीराम भट्टको ‘प्रह्लाद’ लय हालेर पाठ गर्थे र आफ्नो छोरा सिद्धिचरण श्रेष्ठलाई पनि पाठ गर्न लगाउँथे । आमा नीरकुमारी श्रीमद्भागवद् गीता लय हालेर गाउने गर्थिन् । यसैबाट नै युगकवि सिद्धिचरण श्रेष्ठको साहित्यप्रति रुचि जागरुक हुनुका साथै साहित्यिक गुरु ऋद्धिबहादुर मल्लबाट पनि साहित्यप्रति रुचि अभिवृद्धि भएको पाइन्छ ।
सिद्धिचरण श्रेष्ठ (१९६९–२०४९) ले साहित्य क्षेत्रमा पहिलो पाइला टेक्दा कवि शिरोमणि लेखनाथ पौड्यालकै कृति जस्तो अनुकरण गर्ने प्रयास गरेका थिए । विद्यार्थी जीवन कालमा वि.सं. १९८३ सालतिर नेपालभाषामा कविता लेख्न आपूm पढ्ने दरबार हाई स्कूलसँगै कमलाछी टोलमा वैद्य भूधरानन्दको आयुर्वैदिक औषधी पसलमा महाकवि सिद्धिदास अमात्यकहाँ सिद्धिचरण श्रेष्ठ र ठाकुरलाल मानन्धर कविता सिकी रहेकै बेलामै सिद्धिचरण श्रेष्ठले दरबार हाई स्कूलमा ५ कक्षा पढ्दा नै ज्बउउथ ीषभ भन्ने कविताको अनुवाद गरी त्यसबेलाका शिक्षक बासुदेव भट्टराईलाई देखाएका थिए ।
वि.सं. १९८४ सालको “सन्ध्या” कविता कवि सिद्धिचरण श्रेष्ठको नेपाली कविता यात्राको वसन्ततिलका छन्द प्रयोग गरी रचेको पहिलो कविता हो भने नेपालभाषामा वि.सं. १९८७ सालमा शार्दूलबिक्रीडित छन्दमा रचेको पहिलो रचना “तकुस्वां” हो । यसबाट नेपाली भाषामा १९८४ र नेपालभाषामा १९८७ मा काव्ययात्राको थालनी भएको स्पष्ट हुन्छ । वि.सं. १९९० सालमा नेपाली भाषामा ‘भूइँचालो’ कविता गोरखापत्रमा प्रकाशित भयो भने वि.सं. १९९१ साल चैत्रमा ‘शारदा’ मासिक पत्रिकाको पहिलो अंकमा “प्रभातकालीन किरण” प्रकाशित भयो । पछि ‘उद्योग’ र ‘नेबुला’ पत्रिकामा पनि कृति प्रकाशित भएको देखिन्छ । नेपालभाषामा वि.सं. १९९६ सालमा “नेपाली विहार” नामक कविता संकलन फत्तेबहादुर सिंहको सम्पादन र प्रकाशनमा जोशिला भूमिकासहित छापिए पछि मात्र सार्वजनिक रूपमा देखाप¥यो । यसरी सिद्धिचरण श्रेष्ठलाई कविता सिकाउने गुरु महाकवि सिद्धिदास अमात्य थिए भने हुर्काउनका लागि मलजल दिने काम कविकेशरी चित्तधर हृदयले गरेका थिए । तसर्थ सिद्धिचरणका समकालीन कवि नेपाली भाषामा महाकवि लक्ष्मीप्रसाद देवकोटा हुन् भने नेपालभाषामा कविकेशरी चित्तधर हृदय रहेको देखिन्छ । यसरी सिद्धिचरण श्रेष्ठले वि.सं. १९९७ सालमा जेल जीवनमा लेखेको “उर्वशी” खण्डकाव्य जेल जीवन पश्चात् प्रकाशित पहिलो कृति हो ।
नेपाली साहित्यमा स्वछन्दतावादी काव्य धाराको प्रादुर्भाव सिद्धिचरण श्रेष्ठको कविता “साहित्यिक नेपाल” वि.सं. १९९१ साल मंसिर ८ गते गोरखापत्रमा प्रकाशित भएको कवितालाई लिन सकिन्छ भने महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित “पूर्णिमाको जलधि” कविता वि.सं. १९९१ साल मंसिर १५ गते गोरखापत्रमा प्रकाशित भएपछि काव्ययात्रा आरम्भ भएको देखिन्छ । वि.सं. १९९२ सालसम्मको सिद्धिचरण श्रेष्ठको कविता र महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ खण्डकाव्य तर्पm आकर्षित भएर सिद्धहस्त सुविख्यात समीक्षक सूर्य विक्रम ज्ञवालीले ‘नेपाली साहित्याकाशमा दुई नयाँ तारा’ शीर्षक समीक्षा प्रकाशित गरी युगकवि सिद्धिचरण श्रेष्ठ र महाकवि लक्ष्मीप्रसाद देवकोटालाई स्वच्छन्दतावादी कविताको परम्पराको थालनी गरेको चर्चा गरे पछि विशेषरूपमा उहाँहरूको चर्चा हुन थालेको हो ।
हुन त स्वच्छन्दतावादी काव्यधाराको जन्म र विकास पाश्चात्य देशमा भएको पाइन्छ । उन्नाइसौं शताब्दीमा बेलायत, फ्रान्स र जर्मन जस्ता देशहरूमा स्वच्छन्दतावादी साहित्यको विकास भएको देखिन्छ । भारतमा हजारीप्रसाद, सूर्यकान्त त्रिपाठी “निराला”, सुमित्रानन्द पन्त र महादेवी बर्मा जस्ता कविहरूले थालनी र विकास गरेको पाइन्छ भने बङ्गलादेशमा रविन्द्रनाथ टैगोर र विवेकानन्द जस्ता कविहरूले गरेको पाइन्छ । स्वच्छन्दतावादीको चरित्रभित्र मानवतावाद, रहस्यवाद, पलायनवाद, देशप्रेम, प्रकृतिप्रेम, सौन्दर्यप्रेम, प्राचीनतावाद, कृत्रिमतावादबाट मुक्त, प्रणय चेतनावाद, विद्रोहीवाद जस्ता भावहरू अन्तर्निहित हुने भएकोले परम्परागत परिष्कारवादी भन्दा अलगै एउटा नयाँ युगको थालनी भएको हो ।
वि.सं. १९९१ साल फागुन महिनाको सरस्वती पुजाको दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यका ज्ञाता सु.ऋद्धि बहादुर मल्लको सम्पादकत्वमा ओमबहालस्थित जोरगणेश प्रेसबाट निस्कको साहित्यिक मासिक पत्रिका ‘शारदा’को उदय भए पश्चात् नेपाली साहित्यमा थुप्रै साहित्यकारहरूको जन्म भएको देखिन्छ । वि.सं. १९७५ साल भन्दा अगाडि भारतको काशी, दार्जिलिङ्ग र देहरादुनमा बस्ने प्रवासी नेपालीहरूले साहित्यिक पत्रिका ‘सुन्दरी’ (१९६३), ‘माधवी’ (१९६५) ‘चन्द्र’ (१९७१), ‘गोरखाली’ (१९७२), ‘चन्द्रिका’ (१९७४) र ‘नेपाली साहित्यक सम्मेलन पत्रिका’ (१९८०) जस्ता पत्रिका प्रकाशित गरिसकेकोले सु.ऋद्धि बहादुर मल्ललाई पनि एउटा साहित्यक पत्रिका प्रकाशन गरी साहित्य र तत्कालीन राणा शासन विरुद्ध जनक्रान्ति ल्याउने उद्देश्यले ‘शारदा’ पत्रिका प्रकाशन गरेको हो । विष्णुचरण श्रेष्ठका मिल्ने साथी सु. ऋद्धि बहादुर मल्ल भएको नाताले ‘शारदा’ पत्रिकाको पहिलो अङ्कदेखि नै सिद्धिचरण श्रेष्ठका कविता प्रकाशित भएको पाइन्छ । हुन त वि.सं. १९९७ सालको राजनीतिक काण्डले युगकवि सिद्धिचरण श्रेष्ठलाई सर्वस्वहरण र १८ वर्ष कैदको सजाय पाएपछि उनका काविताहरू ‘शारदा’मा प्रकाशित हुने सम्भव भएन र पछि ‘शारदा’ पत्रिकामा प्रकाशित लेख रचनाहरू पूर्वस्वीकृति लिएर मात्र प्रकाशित गर्नुपर्ने नियम लागू भए पश्चात् वि.सं. २००७ सालको परिवर्तन पछि सु.ऋद्धि बहादुर मल्ललाई ‘शारदा’ पत्रिका नियमित गर्न मन नलागेको कारणले गर्दा पछि बन्द भएको देखिन्छ ।
नेपालमा राणा शासन कालमा बन्द समाज थिए । त्यसबेला नेपालभाषामा लेखिएको कुनै पनि पर्चा र पुस्तकहरू प्रकाशित गर्न मनाही थियो । त्यसैले नेवार समाजमा यस्ता अन्याय र अत्याचारलाई परास्त गर्न भित्रभित्रै क्रान्तिको आगो सल्केको थियो । जसको ज्वलन्त उदाहरणको रूपमा वि.सं. १९८८ साल फागुनमा रचेको सिद्धिचरण श्रेष्ठको “पूmस्वां” कविताका श्लोकहरू विवाहको निमन्त्रणा कार्डमा समेत छापी नेवार समाजमा भोज बोलाउने प्रथा नै चलेको थियो । यसरी राणा शासकहरूलाई आँखामा धूलो छ्यापी प्रजातन्त्रका लागि नेवार समुदायबाट ठूलो योगदान गरेको देखिन्छ । उक्त विवाहको निमन्त्रणा कार्डमा छापिएको श्लोक यस प्रकार छ ः

आकाश मण्डल बिचे रविया सवारी
आनन्दपूर्ण गुलि उज्ज्वल ज्वीगु भारी
झाया छिनं जि सुतयागु मलीन जन्ती
माय्माल शोभित धका जिगु तुच्छ बिन्ति ।

तत्कालिन समयमा राणा शासकले अड्डा अदालतमा नेपालीभाषा बाहेक नेपालका अन्य भाषाहरू बोल्न निषेध गरिएको थियो । त्यसैले उपन्यासकार विष्णुचरण श्रेष्ठले आपूm माल अड्डाका हाकिम भएको नाताले अड्डामा मात्र होइन घरमा पनि आफ्नो मातृभाषा नबोली नेपालीभाषा नै बोल्दथे । वि.सं. २००३ सालमा नेपाल भाषाबाट पनि पुस्तक तथा पत्र–पत्रिका प्रकाशित गर्ने स्वतन्त्रता प्राप्त भयो । जस अनुसार नेपाली भाषा प्रकाशिनी समितिमा प्रकाशन गर्न लागेको पुस्तक पास गराई नेपाल भाषाका पुस्तकहरू पनि नेपालमा नै छापी प्रकाशित गर्न फुकुवा भए पश्चात् वि.सं. २००७ सालमा कविकेशरी चित्तधर हृदय आपैm प्रकाशक भई सिद्धिचरण श्रेष्ठको “सीस्वां” कविता संग्रह प्रकाशित गरिएको थियो ।

वि.सं. १९९७ साल कार्तिक २ गते बिहान टुँडिखेल घुमेर अन्दाजी ७ बजेतिर घर फर्किरहेको बेला पक्राउमा परेका युगकवि सिद्धिचरण श्रेष्ठलाई उहाँकै घरमा लगी करिब ७ घण्टासम्म खानतलासी लिई ४ बोरा कागजपत्र र अरु प्राचीन हस्तलिखित पुस्तक पुस्तिकाहरूसहित सिंहदरबार चलान गरेका थिए । उक्त बेला उपन्यासकार विष्णुचरण श्रेष्ठलाई राणा शासकहरूले नजरबन्दमा राखिएका थिए । किनकि राजनीतिक पर्चा कसरी छाप्नु पर्छ भन्ने विचार सर्वप्रथम उहाँले नै दिनु भएको थियो । त्यस्तै एक जना ऋषिमुनिले जुद्धशम्शेर अन्तिम राणा शासक हुने भविष्यवाणी गरेका लिखतलाई प्रतिलिपि बनाएर विश्वासिला व्यक्तिहरू धर्मभक्त, फत्तेमान सिंह, टंकप्रसाद, चन्द्रमान मास्के लगायत अन्य व्यक्तिहरूलाई पनि वितरण गरेका थिए । उक्त लिखतसमेत खानतलासी गर्दा सिंहदरबार लगेका थिए । यसरी पक्रेर सिंहदरबार लगेपछि युगकवि सिद्धिचरण श्रेष्ठले आपूm पक्राउ पर्नु भन्दा अगाडि गंगालाल, धर्मभक्त, दशरथचन्द, फत्तेबहादुर सिंह, जगतमान वैद्य, पूर्णनारायण प्रधान र जोगवीर सिंह कंसाकारसमेत ७ जनालाई पक्राउ गरिसकेको जानकारी सिद्धिचरण श्रेष्ठलाई ८ नम्बरको नाम दिएबाट थाहा हुन्छ । यसरी पक्राउ भएपछि महावीर स्कूलका संस्थापक चिनियालाल सिंहसँगै पशुलाई जस्तो व्यवहार गरी एउटै काल–कोठरीमा राखिएका थिए ।
खुट्टामा अन्दाजी ३ धार्नी जतिको नेल लगाएका राजबन्दी युगकवि सिद्धिचरण श्रेष्ठलाई पक्राउ गरेको एक महिना पछि घाँटीमा खटिरा आई ज्वरोले हिँड्डुल गर्न समेत नसक्ने अशक्त बिरामीलाई राजनीतिक पर्चा कसरी छाप्नु पर्छ भनी सिकाएको कारणबाट सिद्धिचरणका पिता विष्णुचरण श्रेष्ठलाई पनि पक्राउ गरी जेलमा राखेका थिए । पक्राऊ गरेको ८३ दिन पछि सिद्धिचरण श्रेष्ठलाई सर्वस्वसहित १८ वर्ष कैद सजायको पैmसला सुनाए पछि जेलमै रहेको अवस्थामा वि.सं. २००१ साल फागुन चौथीका दिन सगरमाथा अञ्चल सिराहा जिल्लामा उपन्यासकार विष्णुचरण श्रेष्ठको निधन भएको ४ दिनपछि मात्र खबर पाएका थिए । किनकि विष्णुचरण श्रेष्ठको काजकिरिया गर्नका लागि उनका आमा नीरकुमारी श्रेष्ठले छोरा सिद्धिचरण श्रेष्ठलाई जेलबाट छुटाई लान श्री ३ महाराजसमक्ष बिन्ति चढाएका थिए । तर छुट्ने सम्भव नभए पछि आफ्नै तरीकाले काजकिरिया गरेको र जेल जीवन बिताइरहेका सिद्धिचरण श्रेष्ठ जेलमै किरिया बसेका थिए । क्रमश :

 

फेसबुकबाट तपाईको प्रतिक्रिया