युद्धका नदीहरू (कविता)

–वैरागी जेठा
युद्धका नदीहरू
कोलाहल गुञ्ज्याइरहेछन्
आज
मेरो दृष्टी
एकाएक
पुष्पकमलमा ठोकिन्छ
त्यो युग सम्झिएर
आँखालाई तृप्त गर्छु
रानीपोखरीको
पुष्पकमल हेरेर
भनिरहेछु
सावधान !
पोखरीमा फूल्न छोडेर
कालपत्रेको
ओबानो भूँइमा नफुल्नू पथ्र्यो
तिमी
मरु पर्वतको उचाइ देखेर
डाहा हुनु स्वभाविक हो
जहाँबाट रगतका धारा बगिरहेछन्
समुद्रको लहरजस्तै
कमललाई वास्तै छैन
अङ्गरुको धुवाँले सेकाइएको
देश बनिरहँदा
तिमीहरू नलड भन्न सकेका छैनन्

धर्मसङ्कटमा छैन
मानिसहरू दुविधामा छैनन्
मेरो हृदय
कमल पोखरीमा
फुलिरहेको पुष्पकमलमा बज्रिन्छ
एकाएक
छ्याङ्ङ हुन्छ
सपनाहरू
मुक्तिका पर्खालहरूमा
आफू अलिकति नफुलेर
हिलाम्मे पोखरीमा
अशोक वृक्षझैँ माथि उठ्न सकिरहेको छैन
ऊ ,हामीसँगै
उच्चाइमा पुग्न सकेको छैन
युद्धका नदीहरू
आफ्नै बेगमा कुदिरहेछन्
परिवेश र अन्र्तदृष्टिलाई
बन्द झ्यालबाट
निकाल्न सकिरहेको छैन
अकर्मण्यताको युद्ध
ट्रेन्च खनेर बसिरहेछ
हाम्रो छातीमा
सन्तुलन गुड्न नसकेर
हातका पञ्जाझैँ मिल्न नसकेर
वर्तमान समय
कालो मसीझैँ पोखिएको छ
हाम्रो यात्रामा
भोको पेट लिएर
स्पाती यात्रामा निस्केका
राता मानिसहरू
रित्तो घैला हल्लाइरहेछन्
कठै
उनीहरू
पुष्पकमल फूलेको हेर्न
थवाङ्बाट जलजला हुँदै झरिरहेछन्
युद्धका नदीहरू
पोखरी टालटुल गर्न
कसैलाई फुर्सद छैन
अरुजस्तो पटक्कै होइन म
पुष्पकमल रुचाउँदैनन्
ध्यानपूर्वक हेरी रहन्छु
शहरमा उनका यात्राहरू
डुब्छु हम्फाल्छु
कमल पोखरीमा
युद्धका नदीहरू
विश्वास गर्दैनन्
डुब्छ मनहरू चुर्लुम्म
आवाज सुस्त हिँड्छ
कता कता

फेसबुकबाट तपाईको प्रतिक्रिया