युरोपेली च्याम्पियनसिपमा स्पेनलाई निकै अप्ठ्यारो

काठमाडौँ २३ जेष्ठ 

युरोपेली च्याम्पियनसिप नयाँ संस्करणसँगै नयाँ युगमा प्रवेश गर्दैछ र स्पेन यसमा चाहन्छ, आफ्नो पुरानो आधिपत्य कायम होस् । सन् २००८ देखि २०१२ बीच अपराजित जस्तै रहेको स्पेनले त्यसबीच लगातार दुईपल्ट युरोपेली उपाधि जितेको थियो । बीचमा विश्वकप पनि । तर दुई वर्ष अगाडिको विश्वकपमा भने स्पेनको प्रदर्शन लज्जास्पद थियो, लिग चरणबाटै टिम बाहिरिएको थियो ।

सन् २०१४ को यो खराब प्रदर्शनबीच प्रश्न छ, के पेरिसमा जुलाई १० मा हुने फाइनलमा स्पेनले ह्याट्रिक गर्नेछ त ? तय छ, स्पेनका लागि यो सजिलो हुने छैन । यसपल्ट फ्रान्समा सहभागी हुने टिमको संख्या पनि बढेको छ, आठ टिमले । अब प्रतियोगितामा २८ टिम छन् । सन् २०१२ देखि स्पेनले कुनै ठूलो प्रतियोगिता जितेको पनि छैन, तर स्पेनी क्लबले युरोपमा पछिल्लो सिजन एकछत्र राज जस्तै गरेको छ ।

युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिड र बार्सिलोनाले लगातार जितिरहेका छन् । सेभियाले त युरोपामा उपाधिको ह्याट्रिक गरिसकेको छ । भिन्सेन्ट डेल बस्कको स्पेनलाई यस युरोमा कसैले चुनौती पेस गर्छ भने त्यो हुनेछ, जर्मनी र आयोजक फ्रान्स । फान्सेली टिम युवा छ । प्रतिभाशाली छ । तर मैदान बाहिरका विवादले फ्रान्सलाई खुबै सताएको पनि छ । अलि स्पेनलाई खासै चुनौती दिने नयाँ टिम पनि उदाएका छन् ।

जस्तो बेल्जियम । अहिले बेल्जियम नयाँ स्वर्णिम पुस्ताका खेलाडीको समयबाट गुज्रिरहेको छ । टिममा केभिन डे ब्रुन र इडेन हेजार्ड जस्ता खेलाडी छन् । अहिले बेल्जियम विश्व फिफा वरीयताको दोस्रो नम्बरमा रहेको टिम हो । के बेल्जियमले आफ्नो त्यो छवि र प्रतिष्ठा कायम राख्न सक्नेछ त ? सधैं जस्तै इंग्ल्यान्डको चर्चा पनि हुनेछ, र टिममा नयाँ र युवा आक्रामक छन् । जस्तो, ह्यारी किन र मार्कस रसफोर्ड जस्ता ।

‘यसपल्ट सबै टिमका लागि निकै गाह्रो छ । साह्रै गाह्रो । यसपल्ट केही यस्ता नयाँ टिम आएका छन्, जसले उपाधिका लागि बलियो दाबेदारी प्रस्तुत गर्न सक्छन्,’ ६५ वर्षीय स्पेनी प्रशिक्षक डेल बक्स मान्छन् । उनी सम्भवत: अन्तिम ठूलो प्रतियोगितामा यो भूमिका निभाउँदै छन् । उनी थप्छन्, ‘स्पेनी फुटबलले पछिल्ला केही सिजनको खराबी सम्झेर बस्नु ठीक छैन । अबको लक्ष्य नयाँ पुस्ता र भविष्य हो ।’

स्पेनको समूह ‘डी’ मा क्रोएसिया, चेक गणतन्त्र र टर्की छन् । सम्भवत: स्पेनको भाग्य विश्वकपमा जस्तो हुने छैन, पहिलो चरणबाटै बाहिरिने । समूहको तेस्रो स्थानमा रहेर पनि बलियो प्रदर्शन गर्ने हो भने नकआउट चरणको प्रवेश सम्भावना कायम रहन्छ । समस्या त जर्मनीलाई पनि छ । कप्तान रहेका फिलिप लहामले संन्यास लिइसकेका छन् । युरो छनोट र केही पछिल्ला फ्रेन्ड्लीमा पनि टिमको प्रदर्शन राम्रो छैन । इकान्तिपुरमा खबर छ ।

प्रतियोगितामा इटाली जस्तो पारम्परिक शक्ति पनि छ । तर पछिल्लो युरोपेली फुटबल कति फेरिएको छ भने इटालीका प्रशिक्षक एन्टोनिया कोन्टे मान्छन्, यो टिम अन्डर डग जस्तै हो । उनी भन्छन्, ‘हाम्रो फुटबल परम्परा र इतिहास गजब छ । तर यसले उत्तिकै दबाब पनि त सिर्जना गर्छ ।’ प्रतियोगिता ३१ दिन चल्नेछ । कुल ५१ खेल हुनेछन् । यो युरोपेली च्याम्पियनसिपको नयाँ युगको सुरुआत हुनेछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया