योगी आदित्यनाथ उत्तर प्रदेशका मुख्यमन्त्री

काठमाडौं ७ चैत ।

विश्वभरिका नाथ सम्प्रदायको आराध्यस्थल मानिने भारत गोरखपुरको गोरखनाथ मन्दिरका महन्त योगी आदित्यनाथ उत्तरप्रदेशका मुख्यमन्त्री बनेका छन् । उनले आज दिउँसो २ः१५ बजे शपथग्रहण गर्दैछन् । यसअघि मुख्यमन्त्रीका लागि उत्तरप्रदेशका पार्टी अध्यक्ष केशवप्रसाद मौर्य, लखनऊका मेयर डा.दिनेश शर्मा, बुन्देलखण्डका नेता स्वतन्त्रदेव सिंह, केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र केन्द्रीय दूर सञ्चार मन्त्री मनोज सिन्हाको नाम चर्चामा रहेको थियो ।
वर्तमान समीकरणमा केशवप्रसाद मौर्य र डा.दिनेश शर्मा उपमुख्यमन्त्री बनेका छन् ।
यसरी दुई जना उपमुख्यमन्त्री उत्तरप्रदेशको इतिहासमै पहिलो पटक बन्न थालेको बताइन्छ । उनी उत्तरप्रदेशमा भाजपाका तर्फबाट पाँचौं मुख्यमन्त्री हुन् । मुख्यमन्त्री चुनिएपछि प्रारम्भिक प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘‘प्रधानमन्त्री नरेन्द्र मोदीको ‘सबको साथ–सबको विकास’ नाराअनुसार यूपीमा सुशासन स्थापना हुनेछ । यूपी अब विकासको बाटोमा अगाडि बढ्छ ।’’
को हुन् आदित्यनाथ ?
उत्तराखण्डको गढवालका स्थायी बासिन्दा आदित्यनाथको जन्म ५ जून, १९७२ मा भएको हो ।
उनी गोरखपुरबाट सांसद छन् । १९९८ मा २६ वर्षको छँदा भाजपाका तर्फबाट पहिलो पटक सबैभन्दा कान्छा सांसद बनेका आदित्यनाथको उमेर अहिले ४५ वर्ष छ ।
उनी लगातार पाँच पटकसम्म लोकसभामा चुनिँदै आएका छन् । उनको मूल नाम अजय सिंह विष्ट हो । कतै कतै उनको नाम अजय सिंह नेगी पनि उल्लेख भएको देखिन्छ ।
नाथ सम्प्रदायमा दीक्षित भैसकेपछि उनको नाम आदित्यनाथ भएको हो । हेमवती नन्दन बहुगुणा विश्वविद्यालय गढवालबाट बीएस्सी उत्तीर्ण गरेका उनी गोरखनाथ मन्दिरका पूर्व महन्त अवैद्यनाथका उत्तराधिकारी हुन् । अवैद्यनाथ भारतीय जनता पार्टीबाट सन् १९९१ र १९९६ मा लोकसभा सदस्य भएका थिए ।
योगी आदित्यनाथ सन् २००२ मा स्थापित हिन्दु युवा वाहिनीका संस्थापक समेत हुन् । यो सङ्गठन हिन्दु युवाहरूको सामाजिक, सांस्कृतिक र राष्ट्रवादी समूह हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया