रङ्गशालामा बाबुरामको ‘एकल शो’

काठमाडौं–१ असार

करिब २५ हजार मानिसलाई दशरथ रङ्गशालामा भेला गरेर डा. बाबुराम भट्टराईले गत आइतबार (जेठ ३० गते) आफ्नो नेतृत्वमा ‘नेपाल’ नामक पार्टीको घोषणा गरे । विभिन्न मुलुकका राजदूतहरूलाई समेत आमन्त्रण गरिएको सो भेलामा मध्यमाञ्चल विकास क्षेत्रअन्तर्गतका जिल्लाहरूबाट ठूलो सङ्ख्यामा मानिस सहभागी भएका थिए ।

अत्यन्त भड्किलो र खर्चिलो सो समारोह आयोजना गरिएकै दिन राजधानीबाट प्रकाशित हुने सबै दैनिकमा दुई–दुई पृष्ठको विज्ञापन प्रकाशित गरिएको थियो भने केही टेलिभिजनहरूबाट भेलाको प्रत्यक्ष प्रसारण पनि भएको थियो । विज्ञापन र प्रचार–प्रसारमा मात्र बाबुराम भट्टराईले करोडौँ रुपैयाँ खर्च गरेको देखिएको छ ।

त्यस्तै, सहभागीहरूलाई जिल्लाजिल्लाबाट ल्याउन लाखौँ यातायात खर्च र कतिपय आगन्तुकलाई रु. ५००।– दरले भत्ताको समेत व्यवस्था गरेको हेर्दा नयाँ शक्तिले पार्टीको घोषणा समारोहकै नाममा झन्डै १२ करोडभन्दा बढी रुपैयाँ खर्च गरेको अनुमान आर्थिक विश्लेषकहरूले गरेका छन् ।

भट्टराईको ‘एकल शो’जस्तो देखिने उक्त कार्यक्रममा उनको नारा ‘अबको निकास आर्थिक विकास’ र कार्यक्रम सञ्चालिका करिश्मा मानन्धर बाबुरामपछिको आकर्षण बनेका थिए । समारोहमा हिसिलाकै ‘ताउर–माउर’ हेर्नुपर्ने हो कि भनी चिन्तित सहभागीहरू मञ्चमा करिश्माको रूप र उनको पहिरन देखेर मोहित भएका थिए ।

यद्यपि उद्घोषिकाको रूपमा उनको प्रस्तुति निकै फितलो र लज्जास्पद थियो । काङ्ग्रेस नेता प्रदीप गिरीलाई समाजवादी चिन्तक डा. प्रदीप भट्टराई भनेर बोलाएपछि मञ्चमा पुगेका गिरीले ‘को वक्ता बोलाउँदै छु भन्नेबारे उद्घोषिकाले नाम बोलाउनुपूर्व नै राम्ररी बुझ्न’ सुझाव दिएका थिए । गलत उच्चारण, अस्वाभाविक हाँसो र चिच्याहटका कारण करिश्माको सौन्दर्यलाई गिज्याएको महसुस कार्यक्रमका सहभागीले गरेका थिए । आजको घटना र विचार साप्ताहिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया