रजनिको सुख

– मुकुन्द अर्याल

आफ्नो जन्मथलो छाडेर

सपनाको देशमा निस्किदा

लागेको थियो रजनीलाई

अब कहिल्यै चियाउने  छैन दुखले

कहिल्यै गिज्याउने छैन अभावले

केवल सुख र आनन्दामात्र घुम्नेछन् वरिपरि

जिबन काडा होइन फूल हुनेछ

तर तस्बिरजस्तो सजिलो रहेन छ  तक्दिर बनाउन

सुन्दर सुखद जिबनशैलीको लोभमा

आफ्नो थातथलो छोड्नु र

जीवनको मोड मोड्नु भनेको

खुसीको बस्तीबाट

दुखको सहरमा बसाई सर्नु रहेछ

कागजको डुंगाबाट

जीवनको गहिरो खोला तर्नु रहेछ

अरुको देशमा नौलो परिवेशमा

भिन्न चेतनाको संसर्गमा रोपिएको

अज्ञात सन्तान कोखमा लिएर

आजीवन गर्भवती रहनुजस्तै रहेछ

फरक भन्नु मात्र भूमि र परिवेश रहेछ

फरक भन्नु मात्र मृगतृष्णा रहेछ

जहाँ गएपनि उस्तै उस्तै हुदा रहेछन्

दुख ,अभाब र अवसादका कुरा

जहाँ रहेपनि ,उस्तै उस्तै हुदा रहेछन्

पीडा ,गरिबी र फसादका कुरा

हाल (कोटेश्वर काठमाडौँ )

फेसबुकबाट तपाईको प्रतिक्रिया