रसियामाथि लगाइएको नाकाबन्दी थप गर्नुपर्नेमा मर्केल र अलान्द सहमत

काठमाडौँ २९ मंसिर

जर्मन चान्सलर एन्जेला मर्केल तथा फ्रान्सका राष्ट्रपति फ्राँस्वा अलान्दले आफूहरु युक्रेनी द्वन्द्वका विषयमा रसियामाथि लगाइँदै आएको आर्थिक नाकाबन्दी थप गर्नुपर्ने पक्षमा रहेको मङ्गलबार बताएका छन्।

युरोपेली युनियनका सदस्य राष्ट्रका उच्च नेताहरुको ब्रसेल्समा हुने भेटमा युक्रेन रसिया द्वन्द्वका कारण रसियामाथि लगाइएको नाकाबन्दीबारे छलफल हुनुपूर्व युरोपेली दुई शक्ति राष्ट्रका प्रमुखले सो धारणा व्यक्त गरेका हुन्।

युक्रेनको शान्ति प्रक्रियामा देखिएका गम्भीर कमजोरीका कारण युक्रेनी युद्धबिराम उल्लङ्घनका घटना लगातार आएका कारण रसियाविरुद्ध नाकाबन्दीको समय थप गर्नु आवश्यक हुने देखिएको छ, मर्केलले अलान्दसँगको संयुक्त पत्रकार सम्मेलनमा भनिन्।

सोही अवसरमा फ्रान्सका राष्ट्रपति अलान्दले मिन्स्क शान्ति सम्झौता कार्यान्वयनमा अपर्याप्त प्रगति देखिएको भन्दै मर्केलको रसियामाथि नाकाबन्दी थप गर्नुपर्ने धारणाप्रति सहमति भएको व्यक्त गरे।

‘युद्ध अन्त्य गर्ने विषयमा पर्याप्त प्रयास नभएको र यस विषयमा प्रगति नदेखिएको साथै उस्तै अवरोधहरु देखिएका कारण मैले जर्मन चान्सलर मर्केलको धारणाप्रति सहमति जनाउँछु र रसियाविरुद्ध नाकाबन्दी थप गर्ने पक्षमा म रहेको जानकारी गराउन चाहन्छु,’ फ्रान्सका राष्ट्रपति अलान्दले भने।

युक्रेनको पूर्वी क्षेत्रमा द्वन्द्वरत युक्रेनी सरकार वा रसिया समर्थक युक्रेनी विद्रोही दुवैतर्फबाट सम्झौतालाई पूर्णतया कार्यान्वयनमा नलगे अझै पनि उक्त क्षेत्रमा सानातिना युद्धका घटना हुने गरेका छन् ।

सन् २०१४ देखि सुरु भएको उक्त द्वन्द्वका कारण करिब १० हजार मानिसको मृत्यु भएको र यसलाई अन्त्य गर्न मिन्स्क सम्झौता भएको थियो ।

एक जना युरोपियन युनियनका अधिकारीले ब्रसेल्समा जर्मन चान्सलर मर्केल र फ्रान्सका राष्ट्रपति अलान्दले रसियामाथिको नाकाबन्दी थप सिफारिस गर्ने बताएका थिए ।

नाकाबन्दी थप गर्ने विषयमा सन् २०१७ को जनवरीमा युरोपेली सदस्य राष्ट्रबीच औपचारिक सहमति गरिने भए पनि यस विषयमा सबै मुलुकबीच सहमति देखिएको छ । रासस÷एएफपी

फेसबुकबाट तपाईको प्रतिक्रिया