रहला त अहिलेकै सत्ता गठबन्धन, गठबन्धनका पक्षमा को–को ?
काठमाडौं–२१ असार
सत्ता साझेदार माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार गठनको पहल लिने निर्णय गरेलगत्तै प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र निकट नेताहरूसँगको परामर्श थालेका छन् । उनले आइतबार साँझ महासचिव ईश्वर पोखरेल र नेता शंकर पोखरेलसँग तथा सोमबार साँझ उपप्रधानमन्त्री भीम रावल, कानुनमन्त्री अग्नि खरेललगायतसँग छलफल गरे । अहिलेकै गठबन्धनलाई निरन्तरता दिनेबारे प्रधानमन्त्री ओलीले नेताहरूसँग सुझाब मागेका छन् ।
एमाले वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपाल, उपाध्यक्ष गौतमलगायत नेताहरू राष्ट्रिय सहमति नबनेको अवस्थामा वर्तमान सत्ता गठबन्धनलाई नै कायम राखेर अगाडि बढ्नुपर्ने पक्षमा छन् । माओवादीसाग भएको भद्र सहमति कार्यान्वयन गरेर चुनावसम्म गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा उनीहरू छन् । स्रोतका अनुसार खनाल बजेट पारित भएपछि माओवादीसागको भद्र सहमतिबारे बोल्ने तयारीमा छन् ।
‘बजेट पारित भएपछि मात्रै के सहमति भएको थियो भन्ने कुरा बोल्ने उहाँको योजना छ,’ खनालनिकट स्रोतले भन्यो । नेता नेपाल अहिले देशबाहिर छन् । संविधान कार्यान्वयन गर्न कांग्रेस र मधेसवादी दलसहितको राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने नेपालले बताउँदै आएका छन् । उपाध्यक्ष गौतम राष्ट्रिय सहमति नबन्दा अहिलेकै गठबन्धन कायम राख्न भद्र सहमति कार्यान्वयन गरेर अघि बढ्नु उपयुक्त हुने पक्षमा छन् । ‘राष्ट्रिय सहमति सबैले भन्नुभएको छ । त्यो भएन भने त बहुमतीयमै जानुपर्छ । राम्रो के हुन्छ भन्दा पहिला जे सहमति भएको थियो त्यही गर्दा उपयुक्त हुन्छ,’ उनले भने ।
भित्री रूपमा नयाँ सत्ता गठबन्धन निर्माणको वातावरण बनाउन कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मालगायत नेताहरू सक्रिय छन् । दोस्रो पुस्ताका ती नेताले अहिले विश्वास दिलाउन कांग्रेसका दोस्रो पुस्ताका नेता तथा मधेसी नेतासँग भेटघाट बाक्लो बनाएका छन् । सत्तारूढ दलभित्रै असन्तुष्ट नेताहरूसँग पनि उनीहरूले भेटघाट गरेका छन् । त्यस्ता भेटघाटमा सहभागी एक नेताले भने, ‘आइतबार पनि सत्तामा रहेका र बाहिरका मधेसी दलका नेताहरूसँग दुई–तीन राउन्ड हामीले छलफल गरेका छौा ।’ केन्द्रका नेताहरूले फोरम लोकतान्त्रिकका नेता जितेन्द्रदेवसँग पनि छलफल गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया