राजमती कविता र युगकवि सिद्धिचरण श्रेष्ठ


स्वयम्भू शाक्य

राजमती नेवारी समाजमा घटेका सत्य घटनामा आधारित कालजयी गीत हो । यो गीतका रचनाकार हालसम्म थाहा नभएता पनि यसमा असफल प्रेमको चित्रण गरिएको पाइन्छ । काठमाडौंको ईतुंबहाल स्थित ताहाननीमा जन्मेका राजमती मध्यम वर्गीय परिवारमा हुर्केकी थिइन् । हुनत ऐतिहासिक प्रसङ्गलाई कोट्याउने हो भने राजमतीको रचना उन्नाईसौं शताब्दिमा नेपालभाषाबाट रचेको देखिन्छ । वि.सं. १९०७ साल जेठमा नेपालका प्रधानमन्त्री जङ्गबहादुर राणा बेलायत भ्रमणमा जाँदा गार्ड अफ अनर दिनका लागि नेपालको राष्ट्रिय गान के हो भनी खोजिनिति हुँदा त्यहाँ कुनै पनि राष्ट्रिय गान नभएकोले प्रधानमन्त्री जङ्गबहादुर राणाले एउटा अति लोकप्रिय गीत पेश गर्नका लागि आदेश भएकोले सोही आदेश बमोजिम नेवारी समाजमा अति नै लोकप्रिय तथा जनमानसमा आधारित गीत “राजमती कुमति जिके वःसा पिरती” को धुन पेश भए पश्चात् सोही गीत बेलायती सेनाले नेपालको राष्ट्रिय गीतको रूपमा बजाई प्रधानमन्त्री जङ्गबहादुर राणालाई गार्ड अफ अनर दिएका थिए । त्यसैले नेपालको पहिलो राष्ट्रिय गीतको रूपमा राजमतीलाई लिन सकिन्छ ।

नेपाली आधुनिक गीतका प्रणेता तथा आदिगायक काठमाडौं असन कमलाक्षी बस्ने सेतुराम श्रेष्ठ (वि.सं. १९४०–१९९८) ले ई.सं. १९०८ मा भारतको कोलकत्तामा ग्रामोफोन कम्पनी अफ इण्डियामा “राजमती कुमती” भन्ने गीतको स्वराङ्कन गरेका थिए । उनले १२ वटा नेपालभाषाका गीतहरू गाएकोमा सबैभन्दा जनप्रिय लोकगीत राजमती हो । नेपाल भाषाका लोकप्रिय गायक भृगुराम श्रेष्ठले दोस्रो रेकर्ड गरेपछि प्रसिद्ध गायक स्व. प्रेमध्वज प्रधानले ई.सं. १९६२ मा भारतको कोलकत्तामा गई ग्रामोफोनमा राजमती गीत स्वराङ्कन गर्नु भएका थियो । पछि धेरै गायक–गायीकाहरूले गीत र धून रेकर्डिग गरेका थिए । ई.सं. १९९५ मा नेपालभाषाको चलचित्र राजमती बनेपछि सार्क फिल्म फेस्टिबलमा बेस्ट प्रफर्मेन्स जुरी अवार्ड समेत प्राप्त भई झ्mन जनमानसमा यसको प्रचार–प्रसार भएको पाइन्छ ।

नेवारी समुदायमा अत्यन्तै ओजश्री तथा ऐश्वर्यमयको रूपमा रहेको प्रस्तुत गीतमा राजमती उर्वशी जस्तो भएर पनि भाग्यहीन महिलाको रूपमा चरितार्थ गर्न खोजेको देखिन्छ । तसर्थ युगकवि सिद्धिचरण श्रेष्ठलाई पनि राजमतीको गहिरो प्रभाव परेकोले होला कविवरले आज प्रेम, माया र स्नेहको कुरा मात्र होइन राजमतीको बिछोडको कथा सुनाउँदै छन् ।

राजमती सौन्दर्यताको प्रतिक हो । शीतल, स्वच्छ अनि सरल र शान्त स्वभावकी सदाबहार उजेली हो । त्यसैले होला आज उनको सुन्दर र सौरम्यको गाथा युगौं–युगदेखि गाइरहेका छन् । अप्सरा जस्तै त्यो हिसी परेको मनमोहक मुहार देखेर अहिलेसम्म उनकै मुहार यो छातीमा टाँसिरहेका छन् । संगितमय् त्यो मीठो अनि सुरिलो स्वर गुञ्जिएर होला आजसम्म राजमतीको गीत गाउँदैछन् । मोहनी लगाए जस्तो हर्ष अनि आनन्दले मन रमाउने यो दिलभित्र संगितको जादूले होला युगौं–युगदेखि बगिरहेको पानी जस्तो कहिल्यै पनि नथाक्ने राजमतीको जीवन्त कथा बनिरहेका छन् ।

हो, प्रेममा पागल भएर होला सपनामा पनि उसलाई नै खोजिरहन्छ । बिपनाको त के कुरा मनका कुराहरू आफ्नै पितालाई पनि सुनाई रहन्छ । दिलले खोजेको, दिलले चाहेको, दिलले मागेको, अनि दिलले बुझेको कुरा कति मीठो हुँदोरहेछ भन्ने कुरा यो चोलामा राजमतीको सौभाग्यसँग आफ्नो मनका कुरा जोड्न चाहन्छ । पाउँनु र नपाउँनु अर्कै कुरा हो तर यो दिलले किन हो कुन्नी उसलाई मात्र खोजिरहन्छ । माया भएर होला किन हो कुन्नी उसैको मुहार मात्र याद आउँछ । मोहनी लागे जस्तो मेरो आँखाले किन उसलाई मात्र हेर्न खोज्छ ? बग्दा बग्दै कति काल प्रवाह भए पनि किन हो कुन्नी मलाई उसैको गाथा जीवन्त लाग्छ । त्यसैले यो माया र पिरतीको कुरा बुझ्नु पर्छ । मनमा रहेको अदृश्य मायालाई उसको आँखाले पनि देख्नु पर्छ । होइन भने माया र पिरती कहाँ हुन सकिन्छ र ? यौटाले लाएको माया अर्कोले कसरी थाहा पाउन सकिन्छ र ? मनको आँखाले नदेखेसम्म, मनको व्यथा नबुझेसम्म यो दुई दिनको चोलामा सिन्दुर कहाँ लगाउन सकिन्छ र ? झरनाको मीठो पानी जस्तो कलकल बगेर जाने नदी जस्तो कस्तो कस्तो यो आत्माले आज तिमीलाई नै पाउनका लागि भौतारि रहन्छ । कसैको आशामा क्रमशः तेल सकेर यो जीवन कतै सुकेर जाने पो हो कि भन्ने डर छ । कसैको प्यारमा पीरै पीरले बिहे गर्न नपाए सन्यासी भएर काशीतिर जाने डर छ । त्यसैले यो गुम्सिएको व्यथालाई कहाँ गएर फुकाउँन सकिन्छ । अतीत भएर क्षितिजमा लुकिसकेको कुरा पनि आजसम्म मान्छेलाई किन प्रिय लाग्छ ?

गाई राजमती अनेक युगले पाईसके सुन्दर
ऐलेसम्म छ किन्तु एक त्यहि नै गुञ्जिरहेको स्वर ।
मैजू राजमती प्रमोद दिलकी सङ्गितकी मोहिनी
बग्छ्यौ काल प्रवाहसाथ कसरी जीवन्त गाना बनी ।

यो धरती भन्दा धेरै टाढा गगनमा नौलाखे तारा पिलपिली बलेर आज मात्र होइन युगौं–युगदेखि हामीलाई हेरिरहेका छन् । अन्धकारको त्यो औँसीको रात नै किन नहोस् गगनको त्यो कौसीमा बसेर किन हो कुन्नी मलाई सधैं किन बोलाइ रहन्छन् ? सुन्दर एवं श्रेष्ठतालाई नियालेर हेर्दा किन हो कुन्नी बादल भन्दा माथि सर्सर पवनसँगै किन बग्न थाल्छन् । मेरो करेसो घरसम्म पुग्नका लागि किन हो कुन्नी बाटो बनाई किन सजिलो पारिदिन्छन् ? मेरो इच्छा र आकांक्षाहरूलाई किन हो कुन्नी तिमीले डाकेर पनि घरभित्र किन पस्न दिएनौं ? मेरो जीवन भित्र आएर पनि किन हो कुन्नी नबोली किन तिमी त्यसै जान्छौं ? त्यसैले टाढा भएर मात्र के हुन्छ र जब मन नजिक हुन्छ भने मेरो बाटो हेर्नेलाई किन हो कुन्नी माया त त्यस्तै लाग्नु पर्ने हो । गगनमा रात पर्दा त्यो पिलपिली चम्किने ताराले किन होला मलाई सधैं बोलाउने होला ? वरण्डामा बसेर सधैं हेर्नेले मलाई किन आज नबोलाएको होला ? म त के हुँ र , हावामा सर्सर उडेर कहाँ जान सक्छु र । त्यो पल्लो डाँडा हो मेरो घर त्यहिसम्म जानका लागि किन बाटो बनाएर सजिलो पारेको होला ?

टाढा माथि आकाशकी पिलपिली तारा बनी चिम्चिमी
राती उच्च अटालिकाबीच बसी डाम्छ्यौ मलाई तिमी ।
मेरा छन् जति उच्चताहरू सबै उक्साउँदै सर्सर
दिन्छ््यौ मार्ग बनाइ पुग्न सजिली मेरो करेसो घर ।।

जिन्दगी सुख र दुःखको मिलन हो । चाहे जति सुकै काँढा भए पनि नओइलाउन्जेलसम्म गुलाबको पूmलमा सौन्दर्यको खानी छ । सिर्जनाको मुहान छ । जिउँनेहरूको बाटो छ । जिन्दगीको साहस छ । प्रेम, माया र स्नेहको संगम छ । आँखै आँखाहरूको केन्द्र छ । मनभरि अटाउन सक्ने सौरभ छ । आफ्नो पीडा लुकाएर हाँस्ने सौभाग्य छ । त्यसैले प्रकृतिले सजाएकी राजमती जस्तो माधुर्य अनि सौन्दर्यताले सिन्धु सिन्धुमा लालित्य र कोमलताले भरिएको छ । मगमग तिम्रो मीठो वासनाले आजसम्म यो धरतीमा तिम्रै प्यासीहरू भूलिरहेका छन् । अहिलेसम्म नौलो भएर होला बेहुली जस्तो हेरु हेरु लाग्ने यो कस्तो रूप होला ? सुन्दरी भई उर्वशी जस्तो मानौं काल आए पनि टक्क रोक्ने होला ? यो कस्तो रूप ? यो कस्तो मोहिनी ? काल आएर थिचे पनि खण्ड खण्ड भएर जाने ? त्यो समयचक्र जस्तो उदय कालदेखि प्रातः भएर सन्ध्याकालमा डुब्न खोज्ने ?

भनिन्छ, उदात्त दिलले कोरेको गीत जीवन्त हुँदो रहेछ । कसैसँग लिनु छैन । कसैलाई दिनु छैन । स्वच्छन्दतामा यो आत्माले खोजेको कुरा लेख्न खोज्दा युगौं–युगसम्म कहिल्यै नमेटिने गरी बाँच्दो रहेछ । यथार्थमा कविले सोचेर हेर्दा मान्छेले मान्छेलाई चिन्दो रहेछ । ढुङ्गामा खोपेको अक्षर जस्तो मुटुमा सदाका लागि छाप पर्ने रहेछ । जनमानसमा भिजेर मुटुको कुना कुनासम्म झरनाको पानी जस्तो झर्दो रहेछ । त्यसैले मान्छेको मन न हो । मनले मागेपछि युगकवि सिद्धिचरण श्रेष्ठले राजमतीलाई सम्झेर आफ्नो दिलको कुरा यसरी पोख्दैछन् ।

हे अम्लान गुलाब कान्तिपुरकी सौन्दर्यको सिर्जना
ऐलेसम्म छुँदैछ मग्मग यहाँ तिम्रो मीठो वासना ।
नौली छ्यौ अझसम्म काल गहिरो आर्ई थिचे तापनि
कोरेको कविको उदात्त दिलले मेटिन्न कैल्यै पनि ।।

साँचै भन्ने हो भने सच्चा पारखीको हेराईले मात्र यौवनले भरिएका ती बैँसहरू बाँच्ने रहेछ । आँखामा टाँसिएर मन मस्तिष्कसम्म पुग्ने गरिन्छ । गुनिलो अनि पोषिलो भएर, मायाका कुराहरू सधैं सधैंका लागि मनभित्र बिझाँउन थाल्छन् । कसैको यादमा, कसैको आशामा, कसैको मायामा, कसैको लोभमा बैँसालुहरू फसेर सच्चा पारखीहरूको मन सदा सदाका लागि दुखाउने गर्दछन् । त्यसैले माया छ भने निर्मल बनेर हेर । त्यसभित्र के छ ? सच्चा पारखीले मात्र थाहा पाउन सकिन्छ । एउटा कविले अर्को कविलाई स्यावास् दिएको कुरा मायाको भाषामा मात्र बुझ्न सकिन्छ । अगाध प्रेममा डुब्ने हो भने राजमतीका कुरा थाहा पाउन सकिन्छ । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले प्रेममा पागल भएर राजमती पाउनका लागि गाएको त्यो गीत जनमानसमा बाँच्नका लागि यौटा सहारा बन्न सक्छ । मायै मायामा राजमतीसँग जीवनसाथी बनाउन नपाएर होला मनभित्र थुप्रै आगो बालेर बसेको हुन्छ । अपितु समयले जीवनलाई कता कता पु¥याउने हो । हामीलाई के थाहा ? तर यौटा राजमतीको मायाले होला युगौं–युगसम्म कहिल्यै पनि नमेटिने पाइलाका डोबहरू देखिरहनेछ ।

    ती बैँसालुहरू सबै अमर छन् सच्चा मिले पारखी

भन्ने राजमती कहाँ अमरता स्यावास प्रेमी कवि ।

अनौठो छ यो जीवन किन हो कुन्नी आपूmले चाहेको कुरा जति प्रयास गर्दा पनि नपाउँदो रहेछ । जुन कुरा मलाई चाहिँदै चाहिँदैन त्यो किन सधैं प्राप्त हुन्छ ? थाहा छैन, यो अनौठो संसारमा कुरा बुझ्न गाह्रो छ । जति बुझेपनि सतहै सतहमा मात्र भएर भित्र कहिले पुग्ने हो थाहा छैन । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले आज राजमती कविताको माध्यमबाट युगमा देखेका अनि युगले भोगेका चीर स्मरणका पानाहरू एक एक गरी पल्टाउँदै छन् ।

प्रकासित मिति २०७८–३–१५

फेसबुकबाट तपाईको प्रतिक्रिया