राप्रपाले तिर्यो महानगरपालिकालाई जरिबाना

काठमाडौं, फागुन २६ । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतार्थ काठमाडौंको विभिन्न सडक तथा अन्तर्राष्ट्रिय विमानास्थल आसपास भएको भीडले महानगरपालिका फोहोर भएको भन्दै फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. एक लाख जरिवाना गरेको थियो ।
त्यसै अनुरुप राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँ महानगरपालिकाले गराएको जरिबानास्वरुपको १ लाख रुपैयाँ तिरेको छ । यसअघि राप्रपाले उक्त रकम नतिर्ने सार्वजनिक भएपछि सो पार्टीको आलोचना समेत भएको थियो । राप्रपाका नेता ज्ञानेन्द्र शाहीलगायतले महानगरपालिकालाई जरिबाना बापतको रकम हस्तान्तरण गराएका छन् ।
यसअघि राप्रपाले पूर्वाग्रही ढंगले आफूहरूलाई जरिबाना गरेको भन्दै जरिवाना नतिर्ने भनेको थियो । तर, पार्टीभित्र आन्तरिक छलफलपछि राप्रपाले रकम तिर्ने निर्णय लिएको एक नेताले बताए ।
पार्टीको आन्तरिक छलफलपछि सोमबार रकम भुक्तानी गरिएको राप्रपाको भनाइ छ । काठमाडौँ महानगरपालिकाले राप्रपाले तिरेका जरिबाना रकमको रसिद समेत जारी गरेको छ। जरिवाना रकम तिरेपछि शाहीले आफ्नो फेसबुक वालमा लेखेका छन्, “हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौँ । राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाइ बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौ । रु १ लाख हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौँ।”
फेसबुकबाट तपाईको प्रतिक्रिया