राप्रपा नेपाल गालीगलाैज छाडेर सहमतिमा आए एकीकरण गर्न तयार : राणा

पर्सा १५ भदौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर राणाले गालीगलौज छाडी सहमतिको बाटोमा राप्रपा नेपाल आए अहिले पनि पार्टी एकीकरण गर्न राप्रपा तयार रहेको बताएका छन् ।

राप्रपा पर्साले मङ्गलबार वीरगन्जमा अयोजना गरेको ‘नारायणी अञ्चलस्तरीय कार्यकर्ता उत्प्रेरणा तथा चेतना’ कार्यक्रममा अध्यक्ष राणाले राप्रपा नेपालका नेता तथा कार्यकर्ताले गर्दै आएको गालीगलौजलाई बन्द गरी अन्तरिम विधानमा रहेका असन्तुष्टिमाथि छलफल गरी अगाडि बढे पार्टी एकता सम्भव रहेको प्रस्ट पारे ।

राप्रपाबाट छुटिृएका सम्पूर्ण हाँगालाई जोडी रुख बनाउनुपर्छ भन्ने मान्यता बोकी हिँडेकाले वार्ता, संवाद र एकताका लागि आफूहरुले सधैँ ढोका खुल्ला राखेको बताउँदै अध्यक्ष राणाले समानताका आधारमा पार्टी एकीकरण भए एकता दिगो हुने धारणा व्यक्त गरे ।

चैतमा हुने संसदीय तथा स्थानीय निकायको निर्वाचनका लागि पार्टीका कार्यकर्तालाई तयार रहन निर्देशन गर्दै अध्यक्ष राणाले स्थानीय निकायको निर्वाचनले पार्टीको हैसियतलाई मात्र नभई नेता तथा कार्यकर्ताको हैसियत समेतलाई बढाउने भएकाले जीउज्यानले निर्वाचनको तयारीमा लाग्न आग्रह गरे । उनले चैत अगावै देशभरिबाट दुई लाख सक्रिय सदस्य बनाउन पार्टीले अठोट लिएकाले त्यसलाई पूरा गर्न मेचीदेखी महाकालीसम्मका कार्यकर्तालाई आग्रह गरे । रासस

 

फेसबुकबाट तपाईको प्रतिक्रिया