राप्रपा महाधिवेशनका लागि ५४ स्थानबाट पदयात्रा सुरु

काठमाडौँ ६ फागुन

-राष्ट्रिय प्रजातन्त्र पार्टीका विभिन्न जनवर्गीय सङ्गठनले आज बिहान काठमाडौँ उपत्यकाका विभिन्न ५४ स्थानबाट पदयात्रा सुरु गरेका छन्। पार्टीको आज हुन लागेको महाधिवेशनका लागि बालाजु, नयाँ बसपार्क, गौशाला, सातदोबाटो, बल्खु, कलङ्की, चक्रपथलगायत स्थानबाट र्‍याली निकालेका हुन्। विभिन्न जाति तथा समुदायका वेशभूषा तथा सांस्कृतिक बाजागाजा, झाँकीसहित पदयात्रा गरी निकालिएको सो जुलुस केहीबेरमा समारोहस्थलमा आइपुग्नेछ । प्रवक्ता राजाराम श्रेष्ठले उद्घाटन कार्यक्रमको विभिन्न रेडियो तथा टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।

उक्त समारोहको समाचार सङ्कलनका लागि त्यहाँ आउने विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिलाई सूचना सङ्कलनका लागि सञ्चार कक्षको समेत व्यवस्था गरिएको छ । महाधिवेशनको उद्घाटनसत्र स्थानीय भृकुटीमण्डपस्थित सडकमा तथा भृकुटीमण्डपको बगैँचामा बन्दसत्रका कार्यक्रम तय गरिएको छ । यही फागुन ९ गतेसम्म जारी रहने उक्त महाधिवेशनका लागि करिब एक करोड ५० लाख रुपैयाँको खर्च विनियोजन गरिएको छ । महानगरीय ट्राफिक प्रहरी परिसरले त्यस क्षेत्रमा चल्ने निजी तथा भाडाका सवारीसाधनलाई आज सिंहदरबार क्षेत्रबाट मार्ग परिवर्तन गराएको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया