राम्रो सम्बन्ध नै खुसीको राज (भिडियो सहित )
काठमाडौँ ११ असार
मानिसलाई के चिजले खुसी र स्वस्थ राख्छ? भविष्यमा खुसी हुनलाई अहिलेको हाम्रो समय र शक्ति कसरी खर्च गर्ने?
यही प्रश्नलाई केन्द्रमा राखेर अमेरिकाको हार्वर्ड विश्वविद्यालयले सन् १९३८मा एउटा अनुसन्धान थालेको थियो। यो अनुसन्धान आजसम्म पनि जारी छ। अनुसन्धान निर्देशक रोबर्ट वाल्डिङ्गरले ७५ वर्षको अनुसन्धानका आधारमा निकालिएका केही रोचक निष्कर्ष सुनाएका छन्। चर्चित युट्युब कार्यक्रम ‘टेड टक्स’मा उनले यी निष्कर्षहरू सुनाएका हुन्।
उनका अनुसार यो अनुसन्धान हार्वर्डले सन् १९३८मा थालेको थियो। त्यतिबेला उनीहरूले दुई समूह गरेर ७२४ किशोरको जीवनका सुखदुख रेकर्ड गर्न थालेका थिए। ती ७२४ मध्ये अहिले ६० जना जिवित छन् र ती सबै अनुसन्धानमा सहभागी भइरहेका छन्। उनीहरू ९० वर्षमाथि पुगिसकेका छन्। अहिले ७२४ सहभागीका दुई हजार छोराछोरी र नातिनातिनीमाथि पनि हार्वर्डको अनुसन्धान सुरु भइसकेको वाल्डिङ्गर बताउँछन्।
टेड टक्समा बोल्दै उनी भन्छन्, ‘मानव जीवन र उसका रोजाइले जीवनमा पारेको प्रभावको समग्र चित्र तयार गर्नु असम्भव जस्तै काम हो।’
मानव जीवनबारे हाम्रो ज्ञान बुढापाकाको अनुभवमा आधारित भएको उनको भनाई छ। तर, यस्तो ज्ञान वस्तुगत र पूर्ण नहुने उनी बताउँछन्। बुढापाकाले जति धेरै कुरा सुनाएपनि त्यो भन्दा धेरै कुरा बिर्सिने गर्छन्, जसले गर्दा उनीहरूको निष्कर्ष सहि नहुन सक्ने वाल्डिङ्गरको तर्क छ।
यो अनुसन्धान कति महत्वपूर्ण छ भन्ने बुझाउन उनी केही प्रश्न गर्छन्,’हामीले एउटा सिंगो जीवनका प्रत्येक क्षण हेर्न सक्यौं भने के होला? हामीले किशोरावस्थादेखि बुढेसकालसम्म कसैको जीवन हेरेर उनीहरूलाई केले स्वस्थ र खुशी बनायो भन्ने जान्न पाए के होला?’
र, गर्वसाथ भन्छन्, ‘हामीले त्यो गर्यौं। वयस्क जीवनबारे सबैभन्दा लामो अध्ययन हामीले गर्यौं।’
यो अत्यन्तै दुर्लभ अध्ययन हो। प्राय: यस्ता अध्ययनहरू एक दशकभन्दा अगाडि बढ्न नसक्ने उनी बताउँछन्। लामो अवधिका यस्ता अनुसन्धानमा धेरै सहभागी अनुसन्धानबाट बाहिरिने गर्छन्। कहिले फण्डिङ बन्द भएर अनुसन्धान रोकिन्छ। कहिलेचाहिँ अनुसन्धानकर्ताकै मन मर्छ वा साँच्चिकै अनुसन्धाताको मृत्यु हुन्छ र अर्को व्यक्ति आएर अनुसन्धान अगाडि बढाइदिँदैन। तर हार्वडको यो अनुसन्धानले यस्तो केही व्यहोर्नुपरेन। ‘थुप्रै पुस्ताका अनुसन्धाताको भाग्य र दृढताको कारण भनौं, यो अनुसन्धान चलिरह्यो,’ वालडिङ्गर भन्छन्।
वाल्डिङ्गर यो अनुसन्धान कार्यक्रमका चौथो निर्देशक हुन्। उनले आफ्ना तीनजना अग्रजले अगाडि बढाएको अनुसन्धानलाई निरन्तरता दिए। उनी भन्छन्, ‘यो अनुसन्धानका संस्थापकहरूले त्यसको ७५ वर्षपछि म यो ठाउँमा उभिएर तपाईंहरूलाई यो अध्ययन अझै जारी छ भनौंला भन्ने कल्पना नै गरेका थिएनन्।’
सुरुसुरुमा सहभागीहरू सम्पत्ति र प्रसिद्धीमा जोड दिन्थे। अनुसान्धानका सहभागीमध्ये ८० प्रतिशतले आफ्नो जीवनको लक्ष्य प्रशस्त धन कमाउनु बताएका थिए भने ५० प्रतिशतले नाम कमाउनु।
अनुसन्धाताले सन् १९३८मा दुई समूहका किशोरहरूको जीवन पछ्याउन थालेका थिए। पहिलो समुह विश्वविद्यालयको दोस्रो वर्षमा थियो। दोस्रो विश्वयुद्धता चलिरहँदा उनीहरू पढाई सकियो। उनीहरूमध्ये अधिकांश युद्धप्रभावितको सेवामा खटिए। दोस्रो समूहचाहिँ बोस्टोन शहरको सबैभन्दा गरिब परिवारबाट आएका किशोरहरूको थियो। उनीहरूलाई विश्वविद्यालयले सहुलियतमा शिक्षा दिएको थियो।
यी किशोरहरू पछि मजदुर, वकिल, डकर्मी वा डाक्टर भए। एकजना त अमेरिकाको राष्ट्रपति नै बनेको वाल्डिङ्गर बताउँछन्। केहि व्यक्ति अल्कोहलिस्ट भए भने कसैमा एक प्रकारको मानसिक बिरामी पनि देखियो। समाजको अत्यन्तै तल्लो तहबाट यात्रा थालेको उनीहरूमध्ये कतिपय अत्यन्त माथिल्लो तहमा पुगे। कतिपयको यात्रा उचित दिशामा थियो।
अनुसन्धानताहरूले सभागीको लिभिङ रुममै गएर अन्तर्वार्ता गरेको उनी बताउँछन्। डाक्टरबाट उनीहरूको मेडिकल रिपोर्ट लिएर अध्यन गरे। रगत परीक्षण गर्नुका साथै मष्तिस्क समेत स्क्यान गराए। सहभागीको छोराछोरीसँग कुराकानी गरे। रोचक त के छ भने ती सहभागीले श्रीमतीसँग गम्भिर विषयमा कुराकानी गर्दाको भिडियो समेत रेकर्ड गरेर अनुसन्धाताले हेरेका थिए।
त्यसोभए यति मेहेनत गरिएको यो अनुसन्धानको निष्कर्ष के हो त?
अनुसन्धानले सिकाएको पाठबारे वालिङ्गर भन्छन्, ‘जीवनमा खुसी हुन सम्पत्ति कमाएर हुँदैन, नाम कमाएर पनि हुँदैन, काममा धेरै घोटिँदा मात्रै पनि हुँदैन। ७५ वर्षको पाको अध्ययनको सन्देश स्पष्ट छ- राम्रो सम्बन्धले हामीलाई खुशी र स्वस्थ राख्छ।’
अर्थात् सम्बन्ध नै खुसी हुनु वा दुखी हुनुको कारण हो।
यो अनुसन्धानबाट मानिसका सम्बन्धबारे तीनवटा अत्यन्तै महत्वपूर्ण पाठ सिकेको उनी बताउँछन्।
पहिलो, मानिसको स्वास्थ्य र खुसीका लागि समाजसँगको सम्बन्ध असाध्यै राम्रो कुरा हो भने एक्लोपन त्यति नै खराब। अध्ययनमा सहभागीमध्ये जो समाज, परिवार र साथीभाइसँग राम्रोसँग जोडिएका छन्; उनीहरू नै शारीरिक रुपमा स्वस्थ्य छन्। समाज, परिवार र साथीभाइसँग कम जोडिएका मानिस भन्दा उनीहरू नै दीर्घजीवी छन्। उनीहरू नै बढी खुसी छन्। तर, एक्लोपनबाट गुज्रिन चाहने र अरुबाट अलग हुन चाहनेहरू कम खुसी रहेको देखिन्छ। उनीहरूको स्वास्थ्य मध्यजीवनमै बिग्रिन्छ, दिमागले चाँडै कम काम गर्छ। एक्लोपनबाट गुज्रिएकाहरू अरु मानिसभन्दा कमै बाँच्छन्।
दोस्रो, साथीहरू कतिजना छन् भन्ने ठूलो कुरा हुँदै होइन। तपाईं सम्बन्धप्रति प्रतिबद्ध हुनुहुन्छ कि छैन भन्ने पनि ठूलो कुरा भएन। तपाईंको सम्बन्ध कस्तो किसिमको छ भन्ने चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा भएको अनुसन्धानले देखाएको छ। असहज सम्बन्ध मानव स्वास्थ्यका लागि साँच्चिकै खराब छ। जस्तो मनै नमिलेको विवाह हाम्रो स्वास्थ्यका लागि नराम्रो हुनसक्छ, डिभोर्सभन्दा पनि नराम्रो। न्यानो र मित्रवत् सम्बन्धले भने स्वास्थ्य उत्तिकै राम्रो बनाउने उनी बताउँछन्।
अनुसन्धानकै क्रममा सहभागीहरू ८० वर्षको भएपछि अधवैंशे उमेरमा उनीहरू कत्तिको खुसी र स्वस्थ थिए भनेर हेरिएको थियो। ५० वर्षको हुँदा उनीहरूमा कोलेस्ट्रोल जसरी बढ्ने अपेक्षा गरिएको थियो, ८०मा आइपुग्दा त्यस्तो पाइएन। यसले उनीहरू आफ्नो सम्बन्धमा कति सन्तुष्ट थिए भन्ने कुराको परिणाम देखाउने वाल्डिङ्गरको दाबी छ। ५० को उमेरमा आफ्नो सम्बन्धमा सन्तुष्ट भएकाहरू नै ८०को उमेरमा पनि सबैभन्दा स्वस्थ र खुसी भए। निकट सम्बन्धले नै मानिसलाई चाँडै बुढो हुनबाट बचाउने अध्ययनले देखाएको छ।
राम्रो सम्बन्धले शारीरिक पीडा पनि कम महशुस हुने देखाएको छ। सबैभन्दा खुसी भनिएका सहभागीले शारीरिक पीडा हुँदा उनीहरूको मुड खुशी हुने रहेको बताएका छन्। तर जसको सम्बन्ध सौहार्द थिएन, उनीहरूले मानसिक पीडाका कारण शारीरिक पीडा पनि थपिए झैं महशुस गरे।
तेस्रो, राम्रो सम्बन्धले शरीर मात्र होइन, मष्तिस्क पनि स्वस्थ्य राख्न सहयोग पुर्याउँछ। ८०को उमेरमा पनि आफ्नो जीवनसाथीसँग सन्निकट सम्बन्धमा रहेकाहरू बढी सुरक्षित छन्। आफूलाई साथ दिने कोही छ भनेर सोच्नेहरूको स्मृति पनि धेरै राम्रो पाइयो। यस्तो सम्बन्ध सधैं सुमधुर हुनुपर्छ भन्ने पनि छैन। ८० नाघेका कतिपय दम्पत्ती पहिले दिनरात झगडा गर्थे तर एकअर्कको आवश्यकता बढ्दै गएसँगै निकटता पनि बढ्दै गयो।
वालडिङ्गर भन्छन्, ‘पहाडको जति नै उमेर बाँच्दा पनि राम्रो स्वास्थ्य र खुसी जीवन चाहनेका लागि असल र निकट सम्बन्ध आवश्यक छ।’
जीवनमा राम्रो सम्बन्ध बनाउन एकदमै गाह्रो छ। हामी जीवन तत्कालै खुसी भइहाल्न चाहन्छौं। सम्बन्धले त्यतिचाँडै खुसी दिँदैन। राम्रो सम्बन्ध बनाउने प्रयास पछिको खुशीका लागि लगानी हो। वाल्डिङ्गर भन्छन्, ‘सम्बन्ध द्वन्द्वात्मक हुन्छ, जटिल हुन्छ, सेक्सी वा ग्ल्यामरस हुँदैन। यस्तो सम्बन्ध नै जीवन भर रहन्छ, कहिल्यै टुंगिदैन।’
अनुसन्धानमा सहभागीमध्ये अवकाशपछि सबैभन्दा खुसी जीवन बिताउनेले काम गर्दाका साथीको ठाउँमा अवकासपछि नयाँ साथीहरू बनाएको देखियो। अनुसन्धान थाल्दा १९ वर्षे जवानीमा रहेका उनीहरूले सम्पत्ती र प्रसिद्धीलाई नै खुसीको स्रोत मानेका थिए। ७५ वर्षपछि यो अध्ययनले देखाएको छ- परिवार, साथीभाइ र समाजसँगको राम्रो सम्बन्ध भएका मानिसले नै सबैभन्दा खुसी जीवन बिताए/ बिताइरहेका छन्।
सम्बन्धमा आउने समस्याहरू समाधान गर्न सकिने उनी बताउँछन्।
‘सम्बन्ध सहज बनाउन धेरै गाह्रो छैन। दुवै मिलेर केही नयाँ गर्ने हो भने सम्बन्धमा सजिलै नयाँपन ल्याउन सकिन्छ,’ उनी भन्छन्, ‘सम्बन्धअनुसार सँगै अलिबेर पैदल हिड्नु, सँगै रात बिताउनु, वर्षौं बोलचाल नभएको परिवारको सदस्यलाई भेट्न जानु केही उपाय हुन्।’
सम्बन्ध सहज बनाउन हिच्किचाउनु नहुने उनको सुझाव छ। उनी भन्छन्, ‘किनभने लामोसमय रहने सामान्य पारिवारिक झगडाकै कारण मनमा तुष पालेर बस्ने मानिसमा ठूलो असर पारिरहेको हुन्छ।’
पारिवारिक सम्बन्धमा धमिलोपन आउन नदिएमा धेरै हदसम्म खुसी जीवन बाँच्न सकिने यो अध्ययनले देखाएको छ।
by setopati.com
फेसबुकबाट तपाईको प्रतिक्रिया