रारामा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्दो

जुम्ला १२ कार्तिक ।

सडक पहुँच भएसँगै नेपालको सबैभन्दा ठूलो ताल रारा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको थलो बन्दै गएको छ । रारा सबैको नजरमा पर्न त केही समय लाग्ला नै, तर यो वर्षको दसँैपछिको दुई साताभित्र रारा हेर्ने पर्यटकको सङ्ख्या करिब दुई हजार ६ सयको हाराहारीमा पुगेको छ । पर्यटन व्यवसायी गोपाल बमले भने, – “असार, साउन र भदौसम्म पर्यटकको त्यति चहलपहल देखिएन, तर चैत, वैशाख, जेठ र असोजमा दैनिक २०–२५ आउने गरे पनि दसँैको दुई दिनपछि प्रतिदिन डेढ सयदेखि दुई सयको भीड लाग्न थाल्यो ।” अहिले यहाँका व्यवसायीलाई व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको छ ।

उनका अनुसार यो समयमा धेरै आन्तरिक पर्यटकले रारा अवलोकन गरेका छन् । त्यसमा पनि धेरैजसो काठमाडौँ, भक्तपुर, ललितपुर, पोखरा, चितवन, भैरहवा, बुटवल, सुर्खेत र केही पूर्वी जिल्लाका पर्यटक रहेका छन् । बाह्य पर्यटक भने अमेरिका र युरोपेली मुलुकहरुबाट बढी मात्रामा आउने गरेका छन् । त्यहाँ पुग्ने पर्यटकलाई रारा राष्ट्रिय निकुञ्जद्वारा सञ्चालित हेरिटेज गेस्ट हाउस, पूर्णादेवी बमको डाँफे गेस्ट हाउस र तालबाट १५ मिनेट तल माझघट्टका होटलमा व्यवस्थापन गरिँदै आएको उनले बताए । रारा हेर्न आउने कर्मचारीको पनि बाक्लै रहेको बमको अनुभव छ ।

सरकारको वार्षिक नियमित कार्यक्रम सञ्चालन गर्नेका लागि रारा ‘पशुपतिको यात्रा सिद्राको व्यापार’जस्तै भयो । यो पटक सर्वोच्च अदालतका न्यायाधीश, शान्ति तथा पुनःनिर्माण मन्त्रालयका सचिव, पशुपक्षी विकास मन्त्रालयका सचिव, मध्यपश्चिम सुर्खेतका क्षेत्रीय प्रशासकको रारा अवलोकन भ्रमण पनि भयो ।

उनीहरुले पर्याप्त होटेलसहित होमस्टे र बोटिङ लगायतका थप सेवा प्रवाह गर्नसकिए सिङ्गो कर्णाली क्षेत्रको पर्यटन विकास हुने सुझाव दिए । सर्वोच्चको टोलीले रारा पुग्ने मार्गमा पर्ने कालीकोट, मुगु र जुम्लामा ‘न्यायमा नागरिक पहुँचको अवस्था’ विषयको कार्यक्रम, शान्ति मन्त्रालयको पुनःनिर्माण र शान्तिको अवस्थाको अनुगमन, पशुपक्षी विकास मन्त्रालयको दैलेख, कालीकोट र मुगुमा पशुपक्षी विकासअन्तर्गत सञ्चालित क्रियाकलापको अनुगमन तथा निरीक्षण र क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतको कर्णाली क्षेत्रको सुशासन, सेवा प्रवाह र विकासबारे कालीकोट, मुगु र जुम्लाको अध्ययन, अनुगमन तथा निरीक्षण गर्ने कार्यक्रम थियो ।

मुगुका प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले यस वर्ष रारा ताल हेर्न आउने पर्यटक ह्वात्तै बढेको बताए । आउने सबै पर्यटकको बसाइ शान्त र सुरक्षित रहेको प्रजिअ शर्माले बताए । आफू आठ हजार नौ सय ८६ मिटर उचाइ रहेको ६ नं प्रदेशको सबैभन्दा नजिक र सजिलो चीनसँग जोडिएको नाका नाक्चेलाग्नामा पुगेको जानकारी दिए । यो नाका चाँडै खोल्न सकिए यहाँको समग्र विकास र ६ नं प्रदेशको समृद्धिको ढोका खुल्ने उनको भनाइ थियो । पर्यटकले कर्णाली राजमार्गलाई पहिलो प्राथमिकता दिएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रजिअ रुद्रप्रसाद पण्डितले बताए ।

हवाईजहाजबाट महँगो र सबैको पहुँच नभएका कारण स्थलमार्ग प्राथमिकता परेको जनाउँदै प्रजिअ पण्डितले रारा पुग्नेले एकै पटक सुर्खेत, दैलेख, अछाम, कालीकोट, जुम्ला र मुगु जिल्ला अध्ययन गर्ने मौका पाएको बताए ।

जुम्ला स्नोल्याडका होटल व्यवसायी ललितजङ्ग महतले रारा हेर्न आउने पर्यटक जुम्लाबास गरेरै जाने गरेको बताए । आगन्तुक पर्यटक बढीभन्दा बढी भित्र्याउन रारा वरिपरिका मुर्मा, झ्यारी, पिना, पुम गाउँ होमस्टेका लागि उपयुक्त रहकेको पर्यटन व्यवसायी बताउँछन् । तथापि गरिबीका कारण त्यहाँका नागरिकले त्यो प्रकारको संरचना निर्माण गर्न नसक्ने भएकाले त्यसमा सरकारले होमस्टे निर्माणमा अनुदान दिनुपर्ने र सञ्चालनको अवधारणाबारे बुझाउनुपर्ने उनीहरुले सुझाएका छन् । रारा पुग्न बर्दिया चिसापानीको गावर भ्यालीमा पाँचवटा होमस्टे निर्माण गरिएका छन् भने सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुसम्म पुग्ने पर्यटकीय पदमार्ग बनाउन थालिएको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया