राष्ट्रपतिकै अगाडि दलहरूबीच चर्काचर्की

काठमाडौँ २० मंसिर

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई आइतवार आफ्नै निवासमा एकमुष्ठ स्वागत गर्दै संविधान सशोधनको विषयमा भइरहेको प्रगति जान्न चाहेकी थिइन् । उनले संविधान कार्यान्वयनका तगारा खुलाएर चुनावमा जानुपर्ने टिप्पणी गदै नेताहरुलाई त्यसबारे विचार राख्न आग्रह गरिन् । त्यसपछि नया शक्ति सयोजक बाबुराम भट्टराईले भने, ‘पहिले प्रमुख प्रतिपक्षी दलकै भनाई सुनौं न । त्यसपछि अरुको टिप्पणी राख्दा राम्रो होला ।’ यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

यसरी सुरु भएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी ओलीले प्रदेश नम्बर पाँचको सीमांकन हेरफेर प्रस्तावलाई राष्ट्रघाती र अपारदर्शी ढंगबाट आएको प्रस्ताव भन्दै अब फेरबदल नहुने बताए । ओलीले संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने अडान राख्दै त्यसो गरेमा सहमतिका अन्य विकल्पबारे सोच्न सकिने बताए । ‘म पहाड मधेस छुट्याएर प्रदेश बन्न दिन्नँ, त्यो राष्ट्रघाती सोच हो,’ ओलीलाई उद्धृत गर्दै सहभागी स्रोतले भन्यो, ‘संशोधन होइन, कार्यान्वयन अहिलेको आवश्यकता हो । सरकारले पुरक बजेट ल्याउने भनेको छ, त्यो औचित्यहीन र अनावश्यक हो । हामी त्यसलाई समर्थन गर्दैनौं ।’ ओलीले ४ महिनाको अवधिमा यो सरकारले संविधानको कार्यान्वयनमा के–के काम गरेको छ, भनी सामुन्ने रहेका प्रधानमन्त्री पुष्पकमल दाहालप्रति जिज्ञासा राखेका थिए ।

ओलीपछि राप्रपा अध्यक्ष कमल थापा बोले । उनले सडकमा रहेका आन्दोलनकारीलाई संसद फर्कन तत्कालीन प्रधानमन्त्री ओली आफैले विगतमा गरेको आह्वानको स्मरण गरेका थिए ।  ‘हाम्रो पार्टीको औपचारिक निर्णय आउन बाँकी छ, तर आन्दोलनरत पक्षहरुको माग सम्बोधन हुनुपर्छ । ‘पहिले हामी सरकारमासँगै रहेका बेला सडकमा तमासा होइन, सदनमा आएर छलफल गरौं’ भन्थ्यौं, अहिले (प्रस्ताव) फिर्ता लिन भन्ने ? अब फेरि सडकमा जाउ भन्ने ?’

थापापछि नेकपा माले अध्यक्ष सीपी मैनालीले सीमांकन हेरफेर गर्न नहुने बताए । उनले संशोधन प्रस्ताव षडयन्त्रपूर्ण ढंगले आएको भन्दै राष्ट्रिय हितविरुद्ध आफू नजाने तर्क गरे । उनले अघिल्लो दिन मधेशी मोर्चाका नेताहरु भारतीय दूतावासमा गएर यही विषयमा छलफल गरेकोमा आपत्ति समेत जनाएका थिए । ‘साथीहरु कतातिरको प्रस्ताव कहाँ गएर छलफल गर्नुहुन्छ ? मलाई त आश्चर्य लागेको छ’, उनले भनेका थिए ।

मैनालीपछि बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले नवलपरासीदेखि बर्दियासम्म सीमांकन गर्ने प्रस्ताव कांग्रेस र एमालेकै पुरानो प्रस्ताव भएको भन्दै प्रतिपक्षमा बसेपछि फरक कुरा नगर्न ओलीलाई आग्रह गरका थिए । ‘त्यसबेला सभापति सुशील जी (कोइराला) र ओलीजीले हस्ताक्षर गरेको सहमति नै अहिले हामीले अघि बढाएको हो । त्यो बेला प्रस्ताव राष्ट्रघाती थिएन, अहिले राष्ट्रघाती भयो ?’

देउवाले केही बेर बोलेपछि ओली छेवैमा रहेका एमाले उपाध्यक्ष वामदेव गौतम र सुवास नेम्वाङसग कानेखुसी गरेका थिए । ओलीको कानेखुसी नरोकिएपछि देउवा बम्किदै नेता ओलीको ध्यानाकर्षण गराएका थिए । देउवाले राजनीतिक समाधान खोज्ने बेला विषयान्तर नगर्न आग्रह गर्दै मधेसको मुद्दा समाधान नगरी संविधान संविधान कार्यान्वयन नहुने बताए । ‘मधेसीहरु हाम्रै दाजुभाइ हुन्, कसैका विरुद्ध दुर्भावना नफैलाउने काम नगरौं, राजनीति रोक्ने होइन, अगाडि बढ्ने कुरा गरौं,’ देउवाले भने, ‘यो संशोधन प्रस्ताव पास गरिएन भने चुनाव सोच्न पनि सकिन्न । हुनै नसक्ने चुनाव घोषणा गरेर के गर्ने ?’ उनले ओलीतिर हेर्दै चुनाव गर्न पनि संविधान संशोधन आवश्यक रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया