राष्ट्रपति भण्डारीद्वारा कुमारीबाट प्रसाद ग्रहण

काठमाडौं ५ अशोज

राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अन्तिम दिन मंगलबार साँझ जीवितदेवी कुमारीबाट प्रसाद ग्रहण गरेकी छन्।   वसन्तपुरस्थित कुमारी घरमा पुगी जीवित देवी कुमारीको हातबाट उनले राष्ट्रप्रमुखको हैसियतले फूल, प्रसाद तथा टीका ग्रहण गरेकी हुन्। हरेक वर्ष इन्द्रजात्राको अन्तिम दिन मल्लकालदेखि नै राष्ट्रप्रमुखले जीवितदेवी कुमारीको दर्शन तथा प्रसाद ग्रहण गर्ने चलन रहिआएको छ।  गत भदौ २८ बाट औपचारिक रूपमा सुरु भएको इन्द्रजात्राको मंगलबार समापन क्रममा हनुमानढोकमा ठड्याइएको ३२ फिटको लिङ्गो राति ९:४५ बजेको साइतमा पूजा आजाका साथ ढालिएको छ।  ढालिएको लिङ्गो तानेर टेकु पचलीस्थित टेकु दोभानमा पुर्‍याइन्छ। त्यहाँ पुर्‍याएपछि न्ह्यस सायमी नाइके (मानन्धर नाइके) ले पूजा आयोजना गरी तानेर ल्याउनेलाई सक्खर र चिउरा खुवाउने चलन अहिलेसम्म पनि छ। भक्तपुरको चित्तपोलस्थित जङ्गलबाट ध्वजा फहराउन ल्याइएको रूख (लिङ्गो) लाई नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीयबासीको सहयोगमा उठाइएको थियो।  लिङ्गो उठाउँदा जस्तै ढलाउँदा पनि विशेष बाजागाजासहित गुर्जु पल्टनले तोप पड्काउने चलन छ।  काठमाडौँ उपत्यकामा मनाइने पर्वमध्ये इन्द्रजात्रा ठूलो पर्व हो। राष्ट्रप्रमुख, सरकारप्रमुख तथा अन्य विशिष्ट व्यक्तिबाट कुमारीको दर्शनपश्चात् गणेश, कुमारी र भैरवको रथयात्रा गरिन्छ। स्थानीय मजिपा लाखे, गणेश, भैरव र कुमारीको रथ यात्रामा घुमाइने चलन छ।  करिब एक सातासम्म चल्ने सो जात्रामा काठमाडौँका विभिन्न स्थानमा भिन्न तरिकाले लाखे नाचको प्रदर्शन गरिन्छ। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया