राष्ट्रसंघमा बुद्धजयन्ती विशेष समारोह

काठमाडौँ ८ बैशाख

बुद्धजयन्तीको अवसरमा संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा एक विशेष समारोह आयोजना गरिएको छ ।   समारोहमा राष्ट्रसंघका महासचिव बानकी मुन, महासभाका कार्यबाहक अध्यक्षका साथै बङ्गलादेश, भुटान, क्याम्बोडिया, भारत, इण्डोनेसिया, जापान, लाओस, मलेसिया, म्यान्मा, नेपाल, पाकिस्तान, फिलिपिन्स, रुसी महासङ्घ, श्रीलङ्का, थाइल्याण्ड र भियतनामका प्रतिनिधिले मन्तव्य व्यक्त गर्नुभएको थियो । भेसाक दिवसका रुपमासमेत मनाइएको बुद्धजयन्ती समारोहमा संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि एवं राजदूत दुर्गाप्रसाद भट्टराईले अहिंसा र मध्यमार्गजस्ता बुद्धका उपदेशले दुई शताब्दीदेखि मानव समाजलाई मार्गदर्शन गराएको बताउनुभयो । अहिंसा, करुणा र सहनशीलताजस्ता बुद्धका उपदेशलाई सबैले सम्झनुपर्नेमा राजदूत भट्टराईले जोड दिनुभएको न्यूयोर्कस्थित स्थायी नियोगले जनाएको छ । उहाँले मानव दुःख र कष्टलाई अन्त्य गर्ने बौद्ध उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको पनि बताउनुभयो । त्यसअघि शनिबारनै बौद्धभिक्षुलाई भोजन दान गरिएको थियो । श्रीलङ्काली स्थायी नियोगले आयोजना गरेको भोजन दान कार्यक्रममा नेपाली स्थायी नियागका पदाधिकारीले त्यहाँ एकत्रित भएका बौद्धभिक्षुलाई नेपाली भोजन गराएका उक्त नियोगले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया