राष्ट्रसंघीय महासभामा नेपाल उपाध्यक्ष

काठमाडौं–१ असार

संयुक्त राष्ट्रसंघको ७१औँ महासभाका लागि नेपाल उपाध्यक्षमा चुनिएको छ । नेपालसहित एसिया प्यासिफिक क्षेत्रबाट चार मुलुक उपाध्यक्ष चुनिएका छन् । नेपाल पहिलोपल्ट निर्वाचित भएको हो । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले उपाध्यक्ष पदमा निर्वाचित हुनु नेपालीको गौरवको विषय रहेको भन्दै ट्विट गरेका छन्  ।

महासभाको अध्यक्षमा संयुक्त राष्ट्रसंघका लागि फिजीका स्थायी प्रतिनिधि पिटर थोम्सन ९४ मत ल्याएर निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि उम्मेदवारी दिएका साइप्रसका कूटनीतिज्ञले जम्मा ९० मत पाए । महासभा आगामी १३ सेप्टेम्बरमा सुरु हुनेछ ।

एसिया प्यासिफिक समूहबाट नेपाल उपाध्यक्षमा निर्विरोध निर्वाचित भएको हो । योसँगै नेपाल महासभाको साधारण समितिको सदस्य स्वत: हुनेछ । तीनवटा सत्रका लागि नेपाल सदस्य हुनेछ । महासभामा २१ मुलुकका उपाध्यक्ष चुनिएका छन् । अफ्रिकी समूहबाट कंगो, आइभोरीकोस्ट, नाइजेरिया, मौरिटानिया, जाम्बिया, एसिया प्रशान्त क्षेत्रबाट नेपाल, बंगलादेश, सोलोमोन टापु र तुर्कमेनिस्तान, पूर्वीयुरोपबाट अर्मेनिया, ल्याटिन अमेरिका तथा क्यारेबियनबाट बहमास, बेलिज तथा एलसाल्भाडोर, पश्चिम युरोपबाट बेल्जियम र जर्मनी उपाध्यक्षमा निर्वाचित भएका छन् ।

शान्ति सैनिकलाई सात अर्ब ८६ करोड डलर

संयुक्त राष्ट्रसंघ महासभाको ७०औँ सत्रअन्तर्गतको पाँचौँ समिति (प्रशासनिक तथा बजेटसम्बन्धी) ले शान्ति स्थापक सेनाका लागि सात अर्ब ८६ करोड अमेरिकी डलर बजेट सिफारिस गरेको छ । १ जुलाई २०१६ देखि लागू हुने गरी राष्ट्रसंघका सबै १५ वटा मिसनका लागि यो बजेट सिफारिस गरेको हो । राष्ट्रसंघीय नियोग न्युयोर्कका लागि नेपाली स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई नेतृत्वको समितिले राष्ट्रसंघ महासभालाई यो बजेट सिफारिस गरेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया