राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रादेशिक कार्यालयको उद्घाटन

काठमाडौ ४ फागुन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको बताएका छन् । गण्डकी प्रादेशिक कार्यालय भवनको शनिबार पोखरामा उद्घाटन गर्दै उनले वर्तमान सरकार गठन हुँदा अर्थतन्त्रमा देखिएको समस्याहरू हाल क्रमशः सुधार भएका बताएका हुन् ।
देशको अर्थतन्त्रमा सुधार भएको आर्थिक सूचकले पनि देखाइरहेको बताउँदै अर्थमन्त्री पौडेलले वर्तमान सरकार इच्छाशक्ति भएको र समस्याको समाधान गर्न सक्षम रहेको दाबी गरे । देशको बिग्रँदो आर्थिक अवस्थालगायत विद्यमान समस्या समाधान गर्नेगरी दुई प्रमुख दल सम्मिलित वर्तमान सरकार बनेको उनको दाबी थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सरकारले निर्माण गरेको उल्लेख गर्दै उनले यसको सञ्चालन गराउनेतर्फ पनि सरकार लागिरहेको बताए । पोखरा र भैरहवा विमानस्थल सञ्चालनका सम्बन्धमा प्रधानमन्त्री स्वयंले पटकपटक बैठक तथा छलफल गरिहेको उल्लेख गर्दै उनले यसको सञ्चालनमा सरकार गम्भीर रहेको बताए । सरकारी बैंकले सर्वसाधारणलाई आकर्षित गर्नुपर्नेमा उनले जोड थियो ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले कर्जा प्रक्रियामा सरलीकरण तथा न्यून ब्याजदर निजी क्षेत्रको चाहना भएको बताए । सरकारी बैंक भएको नाताले अन्य बैंकको तुलनामा राष्ट्रिय वाणिज्य बैंकसँग सुलभ कर्जा दिने दायित्व रहेको बताउँदै उनले आउँदा दिनमा बैंक अझ उद्योगी÷व्यवसायी मैत्री बनोस् पोखरा उद्योग वाणिज्य संघ बैंकिङ साक्षरता डिजिटल लिटरेसीमा सहकार्य गरोस् भन्ने चाहना व्यक्त गरे । उनले बैंकले पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्दै आइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलामा निरन्तर सहकार्य गर्दै आइरहेको स्मरण गर्दै धन्यवाद पनि ज्ञापन गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया