राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक र प्रतिनिधिसभाद्वारा सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८१ सर्वसम्मत पारित

काठमाडौँ, २८ माघ २०८१ । प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत पारित भएको छ । सभाको आजको बैठकमा उक्त विधेयक सर्वसम्मत पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका हुन् । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभामुख घिमिरेको अनुमतिमा उक्त विधेयक पारित गर्न प्रस्ताव पेस गरेका थिए । उनले यस विधेयक कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको सदनलाई जानकारी दिएका थिए ।


सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा अर्थ समितिको प्रतिवेदन १ र २ मा उल्लेखित संशोधनहरू सर्वसम्मत स्वीकृत भएको हो । सभामुख घिमिरेले अर्थ समितिको प्रतिवदेनमा क्रम सङ्ख्या १ र २ मा उल्लेखित संशोधन विधेयकको अङ्ग बनेको घोषणा गर्दै विधेयकको २ देखि ४५ सम्म सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८१ को अङ्ग बनेको जानकारी गराए । प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार दिउँसो १ बज बस्ने छ ।

यस्तै राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकबाट सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयक २०८० लाई पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले मिडिया क्षेत्रको नियमन गर्ने अधिकार मिडिया काउन्सिललाई दिने गरी कानुन निर्माण गरिएको बताए ।

बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको विधायनसम्बन्धी विधेयक २०८० सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गरेका थिए । राष्ट्रिय सभाको अर्को बैठक फागुन ४ गते आइतबार बोलाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया