राष्ट्रिय सरकारका लागि देउवा बाधक: नेपाल

गौर २७ श्रावण
नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेसका सभापति शेरबहादुर देउवाका कारण राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेको अारोप लगाएका छन्।
रौतहट क्षेत्र नम्बर १ मा संसदीय विकास कोषको रकमबाट निर्माण भएका विभिन्न योजनाको अनुगमनपश्चात् प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा नेपालले कांग्रेस सभापति देउवाले राष्ट्रिय सहमतिको सरकार बन्न नसक्ने अभिव्यक्ति दिएकाे र त्यसमा अाफ्नो पार्टीको समर्थन नरहने बताएकाले सम्भव नभएको अारोप लगाएका हुन्।
उनले विगतको सरकारमा पनि काँग्रेस सहभागी हुनुपथ्र्यो र वर्तमान सरकारमा पनि एमाले सहभागी हुनुपथ्र्यो तर राष्ट्रिय सहमतिको सरकार बनाउने छलफल भइरहेको बेला एक्कासि नेकपा (माओवादी केन्द्र)ले हतारहतार अविश्वासको प्रस्ताव ल्याएर ठूलो गल्ती गरेको बताए।
जबसम्म देउवाले आफ्नो अभिव्यक्ति फिर्ता लिँदैनन् तबसम्म कुनै पनि हालतमा एमाले सरकारमा नजाने उनले बताए। सङ्क्रमणकालमा सबै सहभागी भई संविधानमा देखिएको त्रुटी हटाउनुपर्नेमा समेत उनले जोड दिए।
पूर्व प्रधानमन्त्री नेपालले अहिले धमाधम गाउँपालिका÷नगरपालिका र महानगरपालिका बन्ने होडबाजी नै चलेको छ, यो नितान्त गलत भएको र यसबाट जनताले सुविधा पाउनुको सट्टा समस्यामा पर्ने भएको बताउँदै यसलाई तत्काल रोकी संविधान संशोधन गर्नुपर्नेमा जोड दिए।
अहिले स्थानीय निर्वाचन अत्यन्त जरुरी रहेको बताउँदै नेता नेपालले यसका लागि स्थानीय, इलाका एवम् सङ्घ वा अधिकार सम्पन्न बनाउन पनि संविधान संशोधन गर्नुपर्ने र यसका लागि सबै मिली अघिबढ्नु पर्नेमा जोड दिए। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया