राष्ट्र बैंकले चार अर्ब ८१ करोडको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौं ९ मंसिर

नेपाल राष्ट्र बैंकले मंसिर ९ गते आज सोमबार चार अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। सरकारका लागि चाहिने आन्तरिक ऋण परिचालनका लागि नेपाल राष्ट्र बैंकले सो रकम बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो।

सोमबार जारी हुने  ट्रेजरी बिल यसअघि जारी गरिसकेको र समयावधि समाप्त भएकाले नवीकरण गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

बोलकबोल मार्फत बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमा सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन बिडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ।

मंसिर १० गते मंगलबार जारी हुने ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन्। बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।

बैंकले ९१ दिने अवधिको दुई अर्ब २३ करोड ३२ लाख बराबरको ट्रेजरी बिल  बिक्री गर्न लागेको हो। उक्त बिल आगामी फागुन १३ गते परिपक्व हुनेछ। यस्तै १८२ दिने अवधिका लागि दुई अर्ब ४७ करोड रुपैयाँ बराबरको बिल बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी जेठ १३ गते परिपक्व हुनेछ ।

यस्तै ३६४ दिने अवधिका लागि ११ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो। उक्त बिल आगामी मङ्सिर ९ गते परिपक्व हुनेछ।

राष्ट्र बैंकले यसअघि मङ्सिर २ गते पनि ३ अर्ब ८५ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो। जसमा ९१ दिन अवधिको २ अर्बको ट्रेजरी बिलमा २.९६४६ डिस्काउन्ट दर कायम भएको थियो भने १८२ दिन अवधिको एक अर्ब ८५ करोड ५० लाखको ट्रेजरी बिलमा ३.८३६० डिस्काउन्टदर कायम भएको थियो।

९१ दिन अवधिको ट्रेजरी बिलमा ४.९५ गुणा र ३६४ दिन अवधिको ट्रेजरी बिलमा ५.०८ गुणा बढी रकमको आवेदन परेको थियो।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र रिपो, सोझै खरिद, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तरबैंक कारोबारमा समेत प्रयोग गर्न सकिन्छ। ब्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिन्छ।

ट्रेजरी बिललाई प्रमिशरी नोटसरह खरिदकर्ता र बिक्रीकर्ता मिली एक–आपसमा दरपीठ गरी खरिद–बिक्री गर्न सकिन्छ । तर त्यस्तो कारोबारको जानकारी राष्ट्र ऋण व्यवस्थापन विभागलाई दिनुपर्दछ । ट्रेजरी बिलमा गरिएको लगानीबाट आर्जित आम्दानीमा आयकर लाग्ने व्यवस्था छ।

ट्रेजरी बिलको बोलकबोल आह्वान गर्दा आह्वान रकमको कम्तिमा १५ प्रतिशत रकम अप्रतिस्पर्धीको लागि छुट्याइएको हुन्छ । ट्रेजरी बिलको बोलकबोल गर्दा लगानीकर्ताले बोल रकमको २.५० प्रतिशत रकम अर्नेष्ट मनी वापत व्यवस्था गर्नुपर्दछ । नेपाल राष्ट्र बैंकमा खाता नहुने बोलवालाले अर्नेष्ट मनी वापतको रकम राष्ट्रऋण व्यवस्थापन विभागमा तोकिएको समयभित्र ट्रेजरी बिल आवेदन खातामा जम्मा गरी भौचर यस विभागमा पेश गर्नुपर्दछ र बोलकबोलमा सफल भए पश्चात बुझाउनु पर्ने बाँकी रकम पनि सोही खातामा जम्मा गरी तोकिएको समयभित्र राष्ट्र ऋण व्यवस्थापन विभागमा भौचर पेश गर्नुपर्दछ ।

नेपाल राष्ट्र बैंकमा खाता हुने बोलकर्ताले अर्नेष्ट मनी वापतको रकम आफ्नो यस बैंकमा रहेको खातामा मौज्दात कायम गर्नुपर्दछ । बोलकबोलमा असफल यस बैंकमा खाता नहुने बोलवालाको अर्नेष्ट मनी वापत जम्मा भएको रकम नगद वा ट्रान्सफर मार्फत फिर्ता गरिन्छ। RSS

फेसबुकबाट तपाईको प्रतिक्रिया