रियल म्याड्रिडको पेनाल्टी सुटआउटमा एट्लेटिकोमाथि रोमाञ्चक जित

स्पेन, फागुन २९ । युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा, रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरेको छ । रियल म्याड्रिडको यो जितले म्याड्रिडलाई च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यसपछि रियल मड्रिडले क्वाटरफाइनलमा आर्सनलसँग खेल्नेछ ।
एट्लेटिकोको होम ग्राउन्ड, मेट्रोपोलिटानो स्टेडियममा भएको उक्त खेलको पहिलो मिनेटमै कोनोर गालाघरले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए। पहिलो हाफमा एट्लेटिकोले उत्कृष्ट प्रदर्शन गर्दै रियललाई दबाबमा राख्यो, तर थप गोल गर्न सकेन।
दोस्रो हाफमा रियल म्याड्रिडले खेलमा फर्कने प्रयास गर्यो। ८७औं मिनेटमा भिनिसियस जुनियरले पेनाल्टीको मौका पाए पनि गोल गर्न असफल भए।
त्यसैगरी निर्धारित ९० मिनेट र थप गरिएको समयपछि समग्र स्कोर २–२ को बराबरीमा रहेकाले खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा, एट्लेटिकोका जुलियन अल्भारेजले दोहोरो स्पर्श गरेकाले उनको पेनाल्टी रद्द गरियो। त्यसपछि, मार्कोस लोरेंटेले पेनाल्टी मिस गरे। रियलका एन्टोनियो रुडिगरले निर्णायक पेनाल्टी गोल गर्दै रियललाई ४–२ को जित दिलाएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया