रुकुम–पोखरा बस सेवा शुरु

रुकुम, १६ पुस

रुकुम पश्चिमबाट कास्की पोखरासम्म सिधा बस सेवा आजबाट सञ्चालनमा आएको छ ।

पहिलो पटक रुकुम–कास्की पोखरासम्म डिलक्स बस सेवा सञ्चालनमा आएको हो ।

पर्यटकीय क्षेत्र पोखरासँग रुकुम पश्चिमलाई जोडेर यहाँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यातायात सेवा सञ्चालन गरेको सानोभेरी यातायात सेवा समितिका महासचिव वीरबहादुर मल्लले जानकारी दिनुभयो । यस अघि रुकुमबाट पोखरासम्म सिधा यातायात सेवा सञ्चालन नहुँदा यात्रुलाई बीचमा गाडी बदल्नुपर्ने बाध्यता थियो ।

आजबाट रुकुम पश्चिमदेखि पोखरासम्म प्रत्येक दिन रात्रि बस सेवा सञ्चालन हुने मल्लले बताउनुभयो । झण्डै ४७० किलोमिटर दूरी रहेको रुकुम–पोखराका लागि प्रतिव्यक्ति रु एक हजार ३५० भाडादर कायम गरिएको छ ।

रुकुमको सानीभेरी यातायात सेवा समिति र पोखराको पृथ्वीराजमार्ग बस सञ्चालक समितिबीच रुकुम–पोखरा यातायात सेवा सञ्चालन गर्न सम्झौता भएको हो । (रासस)

फेसबुकबाट तपाईको प्रतिक्रिया