रुसी राष्ट्रपति पुटिन ‘धेरै बुद्धिमान्’ विश्व नेता : ट्रम्प

वासिङ्टन (अमेरिका) १७ पौष 

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘धेरै बुद्धिमान्’ नेताको संज्ञा दिएका छन् ।

अमेरिकी कूटनीतिज्ञलाई ट्रम्प प्रशासनको नीति हेरेर मात्रै देशबाट निकाल्ने पुटिनको प्रतिक्रियापछि ट्रम्पले उनी ‘धेरै बुद्धिमान्’ नेता भएको भन्दै प्रशंसा गरेका हुन् ।

अमेरिकाले निर्वाचनको समयमा साइबर हमलालगायत हस्तक्षेप गरेको बदलास्वरुप ३५ जना रसियाली कूटनीतिज्ञलाई स्वदेश फिर्ता पठाउने निर्णय गरेको थियो ।

रसियाली विदेश मन्त्रालयले पनि अन्तर्राष्ट्रिय कूटनीतिक परम्पराअनुसार ३५ जना अमेरिकी कूटनीतिज्ञलाई कारबाहीका लागि सिफारिस गरी राष्ट्रपति पुटिनकहाँ पठाएको थियो ।

पुटिनले अमेरिकामा नेतृत्व परिवर्तन भई रिपब्लिकन नेता तथा अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पको रसियालाई हेर्ने नीति बुझेर यस विषयलाई अघि बढाउने प्रतिक्रिया शुक्रबार दिएका थिए ।

रसियाली राष्ट्रपतिद्वारा ढिलाई गर्ने निर्णय “महान् कदम हो, मैले सधैँ उहाँलाई एक बुद्धिमान् विश्व नेताका रुपमा चिन्ने गरेको छु”, ट्रम्पले ट्वीट गर्दै भनेका छन् ।

ट्रम्पको यो भनाइले रिपब्लिकन पार्टीका केही सदस्यसहित डेमोक्रेटिक पार्टीलाई क्रोधित तुल्याएको अमेरिकीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पको रसियाली राष्ट्रपतिलाई बुद्धिमान् भनी गरेको ट्वीट सन्देशलाई वासिङ्टनस्थित रसियाली राजदूतावासले पुनः ट्वीट गरी प्रचार गरेको थियो । एएफपी

फेसबुकबाट तपाईको प्रतिक्रिया