लकडाउनसंगै बढ्दो कोरोना त्रास: कहां चुक्यौ हामी, न्युनिकरण गर्न अब के गर्ने?

मनोज ज्ञवाली, बैकर

आपद विपद नै नपरेसम्म नआत्तिने र ठूलो छाती भएका हामी गोर्खालीहरु हिजो कोरोना संक्रमित स्वाट्टै बढेर २१७ पुगेपछि बल्ल तर्सेका छौं ।

शुरुवाती देशहरुमा र लकडाउनको पचासौं दिन काटिसक्दा पनि हामीले निम्न गल्ती गरिरह्यौं ।

१) शुरुवाती दिनहरुमै हामी होशियार भएर अन्तराष्ट्रीय उडान बन्द गरी नाकाहरुमा कडाई गर्नु पर्ने बेला उल्टै भिजिट नेपाल २०२० को प्रचार गरिरह्यौं ।

२) देशमा लकडाउन गर्यो तर भारतबाट जमातका जमात मानिसहरु र धार्मिक गुरु चेलाहरु नेपाल भित्रिने क्रम रोक्न सकेनौं ।

३) पासहरु वितरण भए र कतिपय पेशाकर्मीहरुको परिचय पत्र नै पास बन्यो । पास या पास जस्तै परिचय पत्र हुने पेशाकर्मी काम होस् नहोस् लखर लखर बाहिर निस्केर भिड बढाउन थाले । २ दिन अघि त काठमाडाैंमा कति ठाउँमा सवारी जामका तस्वीरहरु पत्र पत्रिका तथा समाजिक सञ्जालमा देखिए ।

४) बैकिङलाई अत्यावश्यक सेवा भन्दै शुरुमा अलि अलि खाेलियो भने पछि त कसले बढि शाखा खोलेर बढि कर्मचारी कार्यालय बोलाउनु होडबाजी नै चल्यो । ग्राहकको जरुरत भन्दा बैंकहरुको घर मै राखेर कर्मचारीलाई तलब दिनु भन्दा कि जबरजस्ती बिदा लिन लगाउने की बोलाउने मानसिकता हावी भयो । औषधी लिन जाँदासम्म पुलिसले लठ्ठी हान्ने बेलामा ग्राहकलाई बैंकीङ सेवा लिन जान छुट थिएन, तर खै कसको लागि हो हामीले बैंकिङ खोल्यौं ।

५) प्रभावित क्षेत्र मै पर्याप्त जाँच भएको छैन हामीहरु संक्रमित संख्या कम छ भनेर बढि ढुक्क भयौं र सोहि अनुसार लकडाउन बिस्तारै खुकुलो पारेर अघि बढ्ने निर्णयमा पुग्यौं ।

६) भारतबाट आउने नाकामा कडाई गर्यो तर खुला सिमाका हजारौं चोर बाटोबाट हजारौं मानिस नेपाल लुकिछिपी प्रवेश गरेको न रेकर्ड न जानकारी रह्यो ।

७) शहर तिर अलि सावधानी र कडाई भएपनि बाहिर तिर एकदम लापरवाही भएको छ चाहे सुरक्षा अपनाउने कुरामा होस् या मान्छेहरु अनावश्यक भेट्ने कुरामा होस् ।

८) लकडाउन जनसाधारणलाई भयो तर अलिकति मात्रै राजनैतिक या प्रशासनिक सम्बन्ध भएका राजनैतिक या धार्मिक नेता वा उनका आसेपासेहरु भारत भरी घुमेर पनि नेपाल पुरै घुम्न भ्याए ।

९) पत्रकार, प्रदर्शनकारी तथा बैंकरहरु कोरोनाप्रूफ छन् जस्तै उचित सावधानी बिना आ-आफ्नो काममा जुटे । यसको असर अझै देखिने बाँकी छ ।

१०) सरकारको ध्यान पूर्णतया कोरोना नियन्त्रण भन्दा अध्यादेश बनाउने र खारिज गर्ने, सरकार परिवर्तन गर्ने र बचाउने, डाक्टरको सरुवा गर्ने, कस्लाई कहाँको हस्ताक्षर संकलन गर्ने अनि अनावश्यक काममा बढि गयो । प्रभावित ठाउँमा टेस्ट किट जैन, कुनै लक्षण देखिएको सबै सासंदको पीसीआर विधि मै परिक्षण गरी किट सकियो । हामी नागरिकको चेतनाको त कुरा गर्नु परेन ।

यसरी एउटा मान्छे नि मरेको छैन । जावो रुघाखोकी त हो भनेर हामीले कोरोनाले हेप्यौ कति जनाले । संक्रमित बढ्दै छन् र कति संक्रमित त संक्रमण छ भन्ने थाहा नपाई अरुलाई सार्दै हिडिरहेका छन् । हामीलाई हाम्रो स्वास्थ्य सेवाको सीमा र भोली यसै गरी संक्रमित बढेमा बाटैमा ज्यान जान्छ थाहा छ तर पनी संवेदनशीलतामा कमी भयो । रोजनामा कमी भयो ।

यसलाइ न्युनिकरण गर्न अब निम्न काम गरौं ।

१) प्रभावित जिल्ला र स्थान बिशेषलाई पुरै सिल गरौं । बढी प्रभावित स्थानको सबै स्वास्थ्य स्थितीलाई चेक जाँचलाई कुनै बिलम्ब नगरी रातारात बढाऔं ।

२) भारतले नेपालीहरु फर्कीन खोजेमा लुखुर लुखुर छोड्ने अबस्था छ। उनीहरुलाई चोर बाटो छिरेर गांउ गांउमा संक्रमण फैलाउन दिनु भन्दा आधिकारिक डाटा राखि सिमा क्षेत्र कै होटल, स्कुल, पार्टी प्यालेसलाई क्वारेन्टाईन बनाऔं । क्वारेटाईनको शर्तहरु कडाई बनाउन र उल्लंघन गर्नेलाई जेलकै व्यवस्था गरौं ।

३)  अत्यावश्यक सेवाको नाममा धेरै संघ संस्था खोल्ने काम बन्द गरौं । जीविकोपार्जनका लागी चाहिने न्युनतम सेवा दिने संस्था, स्वास्थ उपचार गर्ने र हिडडुल गर्ने पर्ने वाहेकलाई आवतजावत बन्द गरौं । यस्तै, आवश्यक संस्थाका कर्मचारी पनि आवश्यक परेमा बोलाईने शर्तमा घर मै राखौं ।

४)  कम्प्युटरबाटै, फोनबाटै सम्पन्न हुन सक्ने र अनलाइन मिटिङबाटै सम्पन्न हुन सक्ने कामको लागी पनि लखर लखर गर्दै आउ भनेर अफीस मै बोलाउने प्रवृति बन्द गरौं ।

५) भारतमा बढ्दो संक्रमण हामीलाई सबैभन्दा बढी खतरा हो । बढी प्रभावित क्षेत्रका नाका र चोर बाटोहरुमा कडाई गरौं ।

६) अत्यावश्यक काम पारेर निस्किनै पर्ने अवस्था बाहेक बाहिर ननिस्किउ ।

७)  कोरोना राहतको नाममा जहाँ पर्याे त्यही जाने गरी कुनै कोष र संस्थाको पैसा वितरण गर्ने गरी राज्य र नियामकले निर्दैशन नदेओस् । जति हुनसक्छ रकम एउटा कोषमा राखौं, पहिला स्वास्थ्य र गासबासको लागी जोहो गरिने रकम अनुमानीत छुट्याई, प्रभावित व्यक्ति र प्रभावित क्षेत्रको सहि तथ्याङ्क संकलन गरी बचाउने कुरालाई प्राथमिकतामा राखी राहत नगद मै दिउँ।

८)  प्रभावित क्षेत्र या स्थानमा भेटघाट गरी प्रभाव नभएको ठाउँमा आउने नागरिकले स्थानीय निकायमा अनिवार्य सूचीकरण गराउनु पर्ने र स्वक्वारेन्टाईनमा बस्नु पर्ने । यतिमात्र सावधानी नअपनाएर कोरोना संक्रमणको कारक बन्ने नागरिकलाई अपराध कायम गरी सजाय घोषणा गरौं । यति नगरेसम्म हामी यस्तै त हो नी..।

९)  स्वास्थ मन्त्रालयले स्वास्थ्य सम्बन्धी उपकरणहरु, टेस्ट किन र अन्य व्यवस्थाको सही तथ्याङ्क राखि अनि सार्वजनिक पनि गरोस् ।

१०)  एकला अर्कोको जिम्मेवारी देखाउँदै पन्छिने र गाली गर्ने होईन । हरेक परिवार र हरेक नागरिक जिम्मेवार होऔं ।

कोरोनालाई नहेपौं । कोरोनाको संख्या यसरी नै बढ्यो भने घर मै मर्नुको विकल्प हुने छैन । भेन्टिलेटर होईन अस्पतालमा बेड पाईनेवाला छैन । अहिले बाच्नु र बचाउनु पहिलो प्राथमिकता हो । संवेदनशील, संयमित र दूरदर्शी होऔं ।

प्रकासित मिति २०७७–१–३१

फेसबुकबाट तपाईको प्रतिक्रिया