लघु जलविद्युत् आयोजना पुनर्निमाण संगै लमजुङका वस्ती झिलिमिली

लमजुङ १५ कार्तिक

भूकम्पका कारण  क्षति पुगेका लघु जलविद्युत् आयोजना पुनर्निमाण हुन थालेपछि  लमजुङका वस्ती झिलिमिली हुन थालेका छन्। विभिन्न लघु जलविद्युत आयोजना मर्मत हुन थाेपछि १५ महिनादेखि १५ महिना अन्धकारमा कटाएका लमजुङका स्थानीयबासि यतिबेला निकै खुशी छन्।   भूकम्पबाट अति  प्रभावित गाविसका नागरिकलाई लक्षित गरी युएसएडले आयोजनाको मर्मतमा सहयोग गरेपछि पूर्वी लमजुङका गाउँ तिहारमा झिलिमिली छन्।  भूकम्पका कारण अत्यधिक क्षति बनेको पूर्वी लमजुङको कोल्की, इलमपोखरी र पाचोकका लघुजलविद्युत् आयोजनाको पुनःनिर्माण सुरु गरिएको हो।  पूर्वी लमजुङको कोल्कीस्थित क्रि र चिल्ली खोला लघु जलविद्युत् आयोजना यतिबेला मर्मत भइरहेका छन् ।

युएसएडको आर्थिक सहयोगमा साझेदारी विकास परियोजनाबाट १० लाख रुपैयाँ र स्थानीयको रु ५० हजार सहयोगमा  भत्किएका लघुजलविद्युत् आयोजनाको पुनःनिर्माण गरिएको हो।  राष्ट्रिय प्रसारण लाइन नपुगेको कोल्कीमा लघुजलविद्युत् आयोजनाबाटै स्थानीयले विद्युतको  उपयोग गर्दै आएका थिए । कोल्की–५, क्रिखोला र कोल्की–४ को चिल्लीखोला लघुजलविद्युत् आयोजनाबाट कोल्कीका १४८ घरपरिवार लाभान्वित हुँदै आएका थिए।  त्यसैगरी इलमपोखरीका पाँच वटा लघुजलविद्युत् आयोजनामा पनि मर्मतको काम भइरहेको छ। त्यहाँका पाँच आयोजनामध्ये केहीमा मर्मत सकाएर बिजुली बाल्न थालिएको छ भने केही आयोजनामा मर्मतको कार्य भइरहेको छ। इलमपोखरी–६, मा रहेको छहरे खोला लघुजलविद्युत् आयोजनामा फलामे पोल गाडिएको छ। भत्किएको पावरहाउस पुनःनिर्माणपश्चात गाउँका ८५ घरधुरीले भूकम्प गएको १५ महिना पछि बिजुली बत्ती बाल्न थालेका छन्।

गाउँमा बत्ती बल्न थालेपछि स्थानीय उत्साहित छन् ।  इलमपोखरी–४ सानोकाभ्रेमा रहेको दोस्रो पैंसे खोला लघुजलविद्युत् आयोजनामा पावर हाउस मर्मतको काम भइरहेको आयोजनाका अध्यक्ष गोपीराम गुरुङले जानकारी दिए। सो आयोजनाबाट ११५ घरधुरी लाभान्वित हुँदै आएका छन् । यसैगरी इलमपोखरी–३, ठूलोकाभ्रेमा रहेको पहिलो पैंसे खोला लघुजलविद्युत् आयोजानमा मर्मत भइरहेको छ। पानीको मुहानमा धाँजा फाट्नुका साथै पहिरो गएर भत्किएपछि विद्युत् अवरुद्ध भए पनि मर्मतसँगै सूचारु भएको छ । इलमपोखरी–२, फुलङ्गीरीमा रहेको लाँखरखोला लघुजलविद्युत् आयोजनामा भत्किएको पावरहाउसको मर्मत भइरहेको छ। यो आयोजनाबाट गाउँका ९४ जना घरधुरी लाभान्वित हुँदै आएका छन् ।  झन्डै १५ महिनासम्म अँध्यारोमा बसेका स्थानीय दीपावली उज्यालोमा मनाउन पाएकोमा भने निकै खुसी छन्। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया