लयमा फर्कंदै बैंकिङ व्यवसाय

काठमाडौं१२ फागुन २०७७ ।

वाणिज्य बैंकहरूले आफ्नो व्यवसाय प्रत्येक साता बढाउँदै लगेका छन् । चालू आर्थिक वर्ष(आव) को शुरुआतदेखि कोरोना महामारीले व्यवसाय विस्तारमा चुनौती देखिए पनि अहिले बैंकहरू पुरानै लयमा फर्किन थालेको बैंकरहरू बताउँछन् ।

नेपाल बैंकर्स संघ ९एनबीए०को तथ्यांकअनुसार २७ वाणिज्य बैंकहरूको व्यवसाय अर्थात् कर्जा प्रवाह गत माघ पहिलो साता ८ अर्ब रुपैयाँले संकुचन हुँदा कुल कर्जा प्रवाह ३२ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको थियो । तर, फागुन पहिलो सातासम्म आइपुग्दा भने समग्रमा वाणिज्य बैंकको व्यवसायमा सुधार भएर रू। १८ अर्ब रुपैयाँको थप कर्जा प्रवाह भएको छ । थप कर्जा प्रवाह भएसँगै फागुन पहिलो सातासम्म कुल रू। ३३ खर्ब ३५ अर्ब कर्जा प्रवाहमा रहेको छ ।

माघको पहिलो साता संकुचन आएपछिका प्रत्येक साता भने कर्जा प्रवाह वृद्धि हुँदै गयो । तर, माघ दोस्रो साता भने ११ अर्बले वृद्धि हुदा कुल कर्जा प्रवाह रू। ३२ खर्ब ६८ अर्ब र तेस्रो साता २१ अर्बले वृद्धि भई कुल कर्जा प्रवाह ३२ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको थियो । माघको चौथो साता अर्थात् माघ २३ गतेसम्म सातामै रू।२० अर्बले लगानी बढ्दा कुल कर्जा प्रवाह रू। ३२ खर्ब ८८ अर्ब पुगेको छ । यसैगरी माघको अन्तिम साता २९ अर्ब रुपैयाँले कर्जा प्रवाह थपिदा कुल कर्जा ३३ खर्ब १७ अर्ब रुपैयाँ पुगेको थियो ।

सबैखाले व्यवसाय सुचारु रूपले चल्न थालेकाले पनि कर्जाको माग बढेको बैंकरहरू बताउँछन् । सिटिजन्स बैंक इन्टरनेशनलका नायब प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा मुलुकमा खुलापन बढेसँगै कामहरू बढेकाले माग पनि बढेको र आयातमा समेत सुधार हुँदा यसका लागि कर्जा आवश्यक परेको बताउँछन् ।

‘बजारमा चहलपहल बढेसँगै आयातको माग पनि धेरै बढ्न थालेको छ । आयातका लागि धेरै कर्जा जान थाल्यो । यसले गर्दा बैंकको व्यवसाय पुरानै लयमा फर्कन थालेको छ,’ उनले भने ।

अहिले भ्याक्सिन आएसँगै कोरोना त्रास घट्दै गएकाले पनि व्यवसायहरू पुरानै रौनकमा आउन थालेको नबिल बैंकका नायब महाप्रबन्धक मनोज ज्ञवालीको भनाइ छ । बैंकको कर्जा प्रवाह पहिलाको लयमा भन्दा पनि अझै द्रुत गतिमा बढ्नुपर्ने उनको तर्क छ । ‘कोरोना कालमा ठप्प रहेका केही होटेलहरू पनि सञ्चालनमा आएका छन् । बाह्य पर्यटक पनि पहिलाको जस्तो नआए पनि अहिले आन्तरिक पर्यटकले होटेल तथा रेस्टुराँ खचाखच हुन थालेका छन्,’ उनले अभियानसँग भने, ‘अर्थतन्त्र पूर्णरूपमा चलायमान भइसक्यो । अर्थतन्त्र वृद्धि हुन थाले बैंक त स्वतः वृद्धि भइहाल्छ ।’आर्थिक अभियान दैनिकबाट

 

फेसबुकबाट तपाईको प्रतिक्रिया