लामो दुरीको यातायात अविलम्ब सञ्चालन गर !
कोभिड १९ अर्थात कोरोना भाइरसको विश्वव्यापी महामारी सुरुभएपछि नेपालमा पनि त्यसको आर्थिक, सामाजिक, साँस्कृतिक क्षेत्रमा अत्याधिक प्रभाव परेको छ । कोरोना भाइरसको केश नेपालमा पनि देखिएपछि सरकारले गत साल २०७६ को चैत्र ११ गतेदेखि पुरै देश लकडाउन गर्यो । त्यो क्रमलाई सरकारले लम्ब्याउँदै यो वा त्यो रुपमा हालसम्म जारी राखेको छ । यसबीच ६ महिना वित्न लाग्दैछ । अत्याधिक जनआक्रोश र जनताको छट्पटाहट, अभाव, गरिवी र हातमुख जोर्न नै जनतालाई समस्या पर्र्न थालेपछि हाल देशब्यापी रुपमा लकडाउन वा निषेधाज्ञा क्रमश खुकुलो बनाउँदै लगिएको छ । तर अन्य क्षेत्रहरु खुकुलो बनाएपनि सरकारले लामो दुरीको सवारी साधन हालसम्म सञ्चालन गर्न दिएको छैन । नेपाल सरकार मन्त्रीपरिषदको पछिल्लो निर्णय अनुसार लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाउने अन्तिम मिति भदौ ३१ गतेसम्म हो । सरकारको सोही निर्णय अनुसार पनि अशोज १ गतेबाट यातायात ब्यवसायीहरुले यातायात सञ्चालन गर्न पाउनु पर्नेछ । यद्यपी सरकार अझैपनि लामोदुरीको सवारी साधन चलाउन दिने कुरामा मौन छ । यातायातमन्त्री व्यवसायीहरुसँग छलफलमा भने छन् ।
यातायात व्यवसायीहरु यसबीच धेरै ठुलो आर्थिक तनाव, मानसिक तनाव र रोजगार विहिनताको सिकार भएका छन् । यस क्षेत्रमा रोजगार प्राप्त गरेकाहरु विगत ६ महिनादेखि मारमा छन् । उनीहरु आम्दानी विहिन छन् । सरकारले एकातिर उनीहरुलाई अलिकति पनि राहत नदिने र अर्कोतिर लगातार बन्द गर मात्रै भनिरहनु घोर अमानवीयता र अन्याय हुन्छ । त्यसमाथी यातायात क्षेत्रमा काम गर्ने मजदुर भनेका अन्य क्षेत्रको तुलनामा गरिव नै हुन्छन् । त्यो वर्गलाई अन्याय गर्नु कदाचित उचित हुदैन ।
करिव ६ महिनादेखि थन्किएका गाडीहरु व्यवसायीले मर्मत नगरी सञ्चालन गर्न सक्दैनन् । ग्यारेजमा थन्काउँदा सवारी साधनका धेरै जस्ता पाट्सहरु सडिसकेका पनि हुन सक्छन् । यातायात व्यवसायीहरुले केही अघि आफुहरु ग्यारेजमा थन्किएका गाडीहरु मर्मत गर्नसम्म नसक्ने अवस्थामा रहेको बताएका हुन् । दशैंमा केही होला कि भनेर अहिले यातायात व्यवसायीहरुले मर्मत गर्न सरकारसँग राहत पनि मागेका छैनन् । गाडी चलाउन देउ मात्रै भनिरहेका छन् । उनीहरु आफै गाडी मर्मत गरेर चलाउन राजी छन् । यस्तोमा अशोज १ गतेदेखि नै लामोदुरीका यातायात चलाउन देउ सरकार । उनीहरुका पनि बैक लोन होलान् । परिवार होलान् । लालाबाला होलान् । खाने मुख र भुँडी होलान् । अन्य क्षेत्रलाई जसरी विस्तारै खुल्ला गरिँदै छ । त्यसैगरी लामो दुरीका यातायातलाई पनि जोर विजोर लगाएर क्रमश खोल । विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य मापदण्ड कडा रुपमा अवलम्बन गराउने, सरकारका अन्य मापदण्ड पुरा गर्ने शर्त सहित लामोदुरीका यातायातका साधन अब खोलिनु पर्छ ।
यसरी गाडी खोलिँदा धेरै ठाउँहरुमा एक अर्का ठाउँमा जानबाट रोकिएका, पिडामा रहेका, अप्ठेरामा परेकाहरुलाई झन् ठुलो राहत मिल्छ । जनताको खुशीलाई सरकारले सर्वोपरी ठान्नु आवश्यक छ । लकडाउन वा निषेधाज्ञाले महामारी हल हुने होइन । जनतामा उचित स्वास्थ्य सचेतनामा भएमा त्यसले रोग नियन्त्रण हुने हो । त्यसको लागि सरकारले कोरोना बारेको जनचेतना फैलाउन जरुरी छ । स्वास्थ्य मन्त्रालयले कम्तिमा एक दिन सबै खालका सावरी चालक, सहचालक, व्यवसयीलाई कोरोनाबाट जोगिने उपाय, मापदण्डबारे राम्रोसँग प्रकाश पारेर वा तालिम दिएर अघि बढ्न सके झनै राम्रो हुने थियो । के गरेर हुन्छ अब चाँही अबिलम्ब लामोदरीको यातायात सञ्चालन गर ।
सम्पादक, रिसब गौतम
फेसबुकबाट तपाईको प्रतिक्रिया