लेखकहरू उत्पीडितको पक्षमा किन उभिनुपर्छ ?

दिल निसानि मगर

अब त केही समय लेख्दिँन भन्छु, तर अबको लेख के आउँदैछ निसानी जी ? भन्ने प्रश्नहरूले हैरान हुने गर्छु म । मानौं शिकारी कुकुरले मृगलाई जंगलको अक्करे बाटोमा कुरेर बसेझैं पाठकहरूले मेरो लेखलाई कुरेर बसिरहेका छन् ।

तर, नाथे लेखसँग बिल्कुल उत्साहित छैन म । मैले यतिका वर्षदेखि नलेखेर बसेकै थिएँ । तर, आकाश खसेको त थिएन नि ।

नेपाली लेखनको मूल प्रवृत्ति टाँगामा डोरिएको घोडाजस्तो भएको छ । जसको आँखाको दुबैतिर पट्टी बाँधिएको हुन्छ । यस्तो संगीन मोडमा पनि मैले नलेखेर आँखा चिम्लिएँ भने त राष्ट्रद्रोह नै गरेजस्तो हुन्छ कि भन्ने लाग्छ मलाई । र, आफ्नै आँखाहरूलाई छामछाम-छुमछुम गर्दै फेरि लेख्छु ।

छापा पत्रिकामा आफन्त भएका सरहरुले अखबारमा नलेखेसम्म लेखक नै भइँदैन भनेर मेरो दुःखी मनोवल  गिराइदिन खोज्छन् । जिन्दगीमा सम्पत्तिका नाममा यही एउटा मनोवल त बाँकी  छ । यही पनि गिर्यो भने म कहाँ जाने ? आफ्नै प्रश्नसँग म भावुक हुन्छु ।

मलाई राम्रोसँग अवगत छ कि उनीहरूका आँखामा पट्टी बाँधिएको हुन्छ । त्यसैले सधैं उनीहरू अगाडि मात्रै देख्छन् । एकोहोरो किसिमको कुरा गर्छन् । तर, म त्यस्तो कहिल्यै गर्दिँन । जब दाँयावाँया हेर्छु- यो सिंगो ब्रह्माण्ड नै ‘अनलाइन’ ले थामेको छ जस्तो पो लाग्छ ।

कहिलेकाहीँ ठूला कार्यक्रमहरूमा निमन्त्रणा पाउँदा म खुब गम खान्छु-“के लोकबासीको नजरमा म पनि ठूलै लेखक भैसकें र ? उत्तर कसैले दिँदैन । तर, यो शहरमा नाम चलेका नामी मनुश्यहरूको आडैमा कफी पिउँदै अनेक भाँती बात मारिरहेको हुन्छु म ।

म भन्छु-“तिमीहरूको नाम चल्नुमा पनि खास कारण त छ । त्यो हो, तिमीहरूको देश छ, तिमीहरूको हातमा शासन सत्ता छ । मिडिया छ । र, मालिकदेखि मानव अधिकारवादीसम्म सबै तिमीहरूसँगै छ ।”

तर, म र महरूसँग के छ ?

म र महरूसँग आक्रोश छ । अराजकता छ । आगो छ । अभाव छ । असन्तुष्टि छ । अन्धकार भविष्य छ ।
तर, जे जति छन्, यी सबै तिमीहरूले दिएका जिन्सी उपहार हुन् । एकदिन यी पनि फुट्छन्, टुट्छन् ।

गत हप्ता पनि यस्तै एउटा निमन्त्रणा आयो । देशका थुप्रै लेखक साहित्कारसँग चितवनको सैराहामा जमघट हुने । तर, मलाई कार्यक्रमस्थल पुग्दासम्म विश्वास थिएन मलाई बोलाइएको होला भनेर ।

मैले अन्तिमसम्म आयोजकलाई सोधेको हुँ- मलाई बोलाएकै हो कि तपाईहरू झुक्किनुभएको हो ?

जे भए पनि आफ्नो लेखनको विरासत थाम्न वर्षौंदेखि मुखमा जे आउँछ, त्यही लेख्ने ‘म्यादी’ मनुष्यहरूसँग
म भूइँफुट्टा बबुरो आडैमा बस्न पाउनु पनि  चमत्कार नै थियो । फरक यत्ति न थियो, उनीहरू दबावमा बसेर लेख्छन्, म लेखेर दबाव दिन चाहन्छु । घमण्डको पनि रूद्रघण्टी हुँदैन भन्छन् । धेरै ल्याङ्ग–ल्याङ्ग गर्यो यसले चाहिँ नभन्नुहोला ।

त्यसैले आज उत्पीडितहरूको पक्षमा लेख्नका लागि उत्साहित भएको हुँ ।

नेपालमा जातीय उत्पीडन भएकाले राज्य गम्भीर नबनेसम्म मुलुकमा  स्थिर शान्ति नहुने एमाले नेता घनश्याम भुसालले दाबी गर्दैगर्दा हलभरि ताली बजेको थियो करिब दुई मिनेट । तर, यही ताली उनको पार्टी एमालेमा किन बज्दैन ? थाहा छैन । सायद घनश्याम भुसाल निरीह प्राणी हुन् । उनको आवाज कसैले सुन्दैन पार्टीभित्र । त्यसैले लाखौं पैसा खर्च गरेर हामीजस्तालाई कुरा सुनाउन खोजेका थिए । जसको कान ठूलो हुन्छ, उसैले त कुरा सुन्छ ।

मधेस आन्दोलन अब सीमानाका छाडेर सिंहदरबार गएको भन्दै यसलाई सकारात्मक रुपमा लिनुपर्नेमा वक्ताहरूले जोड दिएका बेला  आफू र मधेसीहरूले नेपाललाई धेरै माया गर्ने भएकाले आफ्नो पहिचानको रक्षा र अधिकारको आवाज उठाउदा बिखण्डनकारी नदेख्न तुलानारायण साहको आग्रह थियो । उनले मधेसको मुद्दालाई यति गम्भीर ढङ्गले प्रस्तुत गरे, सुन्नेहरूको धड्कन नै रोकियो ।

के नेपाल एक जातको फुलबारी हो ? वा सयौं जातिको फूलबारी ? यो पेचिलो सन्दर्भलाई मूलधार भनिएको लेखनबाट डाईभर्ट गरिएको छ

साथै चितवनमा श्यामलालले पेश गरेको “नेपाली कला साहित्यमा समचेतना” शीर्षकको कार्यपत्रमा समेत छलफल भयो ।

नेपाली लेखनको मुलधार कहाँ छ ?

जनजाति, मधेसीहरूको पहिचानको आन्दोलन सही र न्यायोचित भएकाले नेपाली लेखन उत्पीडित समुदायको पक्षमा हुनुपर्ने भए पनि सत्ताकै वरिपरि हुनुमानजीवीको कलम दाैंडिरहेको छ । उनीहरू आजीवन चाकडी गर्नवाहेक अरूथोक जान्दैनन् । एउटा नयाँ लुगा र पेटभरिको खाना नै उनीहरूको लागि राष्ट्रवाद हो । र, उनीहरूका लागि भोका र नाङ्गा मानिसहरू विखण्डनकारी हुन्छन् ।

यस्तोखालको संकुचित राष्ट्रवाद फासिज्म नभएर अरू के हो ? मधेस, पहाड र हिमालका उत्पीडनको ब्यथालाई उनीहरूले नै नबुझ्ने भाषामा लेखेर मजाक उडाउन पाइन्छ ? यो केन्द्रीकृत एकल राज्य सत्ताको नश्लीय संयन्त्र जातीय हो वा भोका नाङ्गा मानिसहरूले आफूहरूको प्रगतिको सपना देख्नु जातीय हो ?

के नेपाल एक जातको फुलबारी हो ? वा  सयौं जातिको फूलबारी ? यो पेचिलो सन्दर्भलाई मूलधार भनिएको लेखनबाट डाईभर्ट गरिएको छ ।

हुन त फटाहाहरूको अन्तिम अस्त्र राष्ट्रवाद हो भन्ने गरिन्छ। भ्रष्टाचार गरेर देशलाई कङ्गाल बनाउँदासम्म त उनीहरूको राष्ट्रवाट ज्याकेटको खल्तीमा नै हुन्छ ।

उही मुलाको सिन्की, उही मुलाको चाना, उही मुलाको राष्ट्रघात उही मुलाको राष्ट्रवाद भनेजस्तो भोको पेटको वेदना लेखेर, रित्ता भाँडाहरूको पीडा बोलेर, आफ्नो भाषा, धर्म र इतिहासको प्रसङ्ग निकालेर के लेखकहरू विखण्डनकारीको संगीन आरोप खेप्न डराउनुपर्छ ? भोटो पेट र नाङ्गा वस्तीहरू खतरा हुन् कि हनुमानहरूको कलम ?

उनीहरू जो, कुनै संगठनमा रहेर लेखिरहेका लेखकहरूले आफूलाई २४ क्यारेटको लेखक सावित गर्न आफ्नो पार्टीको भातृ संगठन भन्दा माथि उठ्न सकेको देखिँदैन । राज्यबाट पालिएकाहरूले राज्यको विरुद्धमा कहिल्यै लेख्न सक्दैनन् ।

राज्यको विरुद्धमा लेख्नु भनेको जहिले पनि आम जनताको समर्थनमा लेख्नु हो । धेरै त यहाँ जानेर बुझेर पनि चुप छन् । किनभने स्वार्थको जालो माथिमाथिसम्म फैलिएको छ । कोहीले भने भेउ पाएका छैनन् । कोही भ्रमको भुँवरीमा छन् । कोही बोल्न छुट पाएर पनि चुप नै छन् । मानौ चुप्पी नेपाली लेखनको मूलग्रन्थी हो ।

यसै सन्दर्भमा पनि सौराहामा लेखकहरूवीच बहस भएको थियो । आदिवासी, जनजातिहरूले र मधेसीहरूले गरेको अधिकारको आन्दोलनलाई हामीले पनि विखण्डनकारीकै रुपमा बुझेका छौ ? वा हामी पनि सोलोडोलोमा एलिट वर्ग हुने हो कि ? भन्ने बहसहरू देखा परे । पक्ष-विपक्षमा धारणाहरू प्रकट भए ।

‘मधेस- पहाड समयसँग संवाद दृष्टि’  शीर्षकमा चन्द्रकिशोरले प्रस्तुत गरेको विचारहरूको महत्त्वपूर्ण केही टिपोट यहाँ पेश गर्न चाहन्छु ।

कुछ न दिखता था अंधरे मे
मगर आँखे तो थी
ये कैसी रोशनी आयी कि
लोग अंधे हो गये

समकालीन लेखनको मूल प्रवृत्ति के हो त ? त्यसका वर्तमानका उकुस मुकुस कित्ताको अभिव्यक्त भई नै राखेको छ । मूलधारको लेखन भनिरहँदा त्यो कुन भाषाको लेखन हो ? नेपाली भाषामा भइरहेको लेखनले नेपालको राजनैतिक भूगोल भित्रका कैयौं भाषाभाषीका आकाङ्क्षाहरूलाई प्रतिनिधित्व गर्छ कि गर्दैन ?

मूलधारको लेखनको नाममा कसको स्वर मुखरित भइराखेको छ ? नेपालको लेखनमा भौगोलिक सन्तुलन छ कि छैन ? वा भनौं लेखनले  सिंगो नेपालको ढुकढुकीलाई छाम्न सकिरहेको छ कि छैन ? मूलधाराको लेखन के कुनै सुविचारित यत्न हो ?

कुनै समुदाय विशेषको स्वीकृति पाएको हुनाले मूलधारको लेखन भनिएको हो ? किनाराका स्वरहरूलाई साथ दिने नाउँमा अनुकम्पा साहित्य लेखन त भइराखेको छैन ? लेखनभित्र विविधताको स्वर देखाउन कहीँ कतै केही आलंकारिक प्रतिनिधित्वलाई आफ्नो शर्तमा प्रस्तुत र प्रोत्साहन गर्ने काम त भइराखेको छैन ?

यी प्रश्नहरू एउटा सीमान्त शहरबाट सम्वाद दृष्टिका क्रममा अचानक उब्जिएका होइनन् । निरन्तरको भोगाइ, आवधिक पढाइ र विगतका सुनाइहरुका आधारमा यस्ता प्रश्न उब्जिएका हुन् ।

विविधताको यथार्थ

नेपालबासीहरूको भौगोलिक बसोबासका आधारमा सम्बन्धलाई परिभाषित गर्ने हो भने त्यो पहाड र मधेसीवीचको सम्बन्ध हो । पहाड भनिराख्दा त्यस्ले हिमाली भेगलाई पनि बृहत अर्थमा  समेट्छ । यही भौगोलिक विविधता नेपालको यथार्थ हो । तराई होस् वा पहाड वा हिमाल विविधता बोकेको क्षेत्र हो । यो विविधता नै नेपालको पहिचान बन्न पुगेको छ । विभिन्न भूगोलका बासिन्दा माझको जनस्तरको सम्बन्ध राज्य निर्मित होइन ।

यो त स्वभाविक आकर्षक र अन्तरनिर्भरताको उपज हो । नेपालले अहिलेको राजनैतिक मानचित्र प्राप्त गर्नुअघि समेत विभिन्न भूगोलका बासिन्दावीच सरोकारहरूको शुत्र खोजाइ भइराखेको थियो । राज्यको पहुँच नभएको ठाउँमा पनि परम्परादेखि नै सामुदायिक संवाद र अन्तर संचारका लागि अनेक उपायक्रमहरूले छनोट हुँदै आएको हो । यो नै नेपाली सामाजको पुँजी हो । चेतना फैलिँदै जाँदा यस सम्बन्धलाई समानता, स्वतन्त्रता र सम्वृदिको साझा इकाइको आँखीझ्यालबाट चिहाउँदै र त्यसलाई समतल बनाउँदै लग्ने युगीन आवश्यकता देखापर्यो ।

सीमाञ्चलको साइनो

नेपाल र भारतवीचको सीमा प्राकृतिक होइन ।
यसलाई कुनै अग्लो पहाड, समून्द्र वा विशाल नदीले विभाजित गरेको छैन । यो राजनैतिक निर्णयले सीमांकित गरिएको अन्तरराष्ट्रिय सीमा हो । भूखण्डले जोडिएको एउटा सभ्यता र संस्कृति भएको साझा दैनिकीमा आवद्ध सीमा हो । यस अर्थमा सीमाको दुवैतिरको बसोबासलाई सीमाञ्चल भनेर परिभाषित गर्न सकिन्छ । निश्चितरूपमा भारत र नेपाल दुई सार्वभैम मुलुक हुन् । सन् १८१३ को सुगौली सन्धि पछि एउटा निश्चित सीमारेखा कोरिएको छ ।

दुई देशको राजधानी काठमाडौँ र दिल्लीवीचको सम्बन्धले यसको बहुआयामिकतालाई निर्धारित गरिरहेको हुन्छ । सीमाञ्चल सम्बन्धको माधुर्य भनेकै खुल्ला सीमाना हो । नेपाल र भारतवीचको सम्बन्धलाई अति विशिष्ट बनाउने पक्ष पनि यही खुला सीमाना हो । सीमाञ्चलको बिशेष सम्बन्धकै आधारमा मूलत: नेपाल र भारत सम्बन्धलाई रोटी र बेटीको सम्बन्ध भनेर ब्याख्या गरिन्छ । तर, दुईवटै राजधानीले सीमाञ्चलको सरोकारलाई अहिले पनि मितेरी निर्धारणका लागि निर्णायक तत्त्व मान्ने गरेका छैनन् ।

तसर्थ लेखनमा स्वयत्तता हुनुपर्दछ । कसैलाई विचारधारा बोकेर लेख्ने छुट छ । कसैले आफूलाई प्रतिवद्ध लेखक ठान्न सक्छ । स्वायत्तताको अर्थ स्वच्छन्दता, निरंकुशता, निरंकुशता, सन्दर्भ निरपेक्षता र सामुदायिक सापेक्षता हुन् भने सबै स्वायत्त हुन् । तर, यसको आशय अभिव्यक्तिको स्वतन्त्रता हो भने यो सवाल साम्प्रदायिक संकीर्णता, अतीतजीवी मूढताको विरुद्धमा लागु हुनुपर्दछ । आ-आफ्नो आस्थाको किलोमा बाँधिएको नेपाली लेखनको मूल प्रवृत्तिले नेपाली राज्यजस्तै पहाडलाई नै मीयो मानी परिक्रमा गर्ने गरिएको पाइन्छ ।

लेखकहरूले के गर्न सक्छन् ?

लेखक भनेको पहाडी र मधेसी हुँदैन । हो, लेखकको पृष्ठभूमि फरक हुन सक्छ । लेखनले सन्तुलन, समन्वय, समझदारी र साझेदारी ल्याउने यत्न गर्न सकेको छ कि छैन ? मधेसलाई चिनाउने नाममा परिहासका पात्रहरू खडा गर्ने वा पहाडी समुदायको विस्थापनप्रति सहानुभूति राख्ने पात्र प्रस्तुत गर्नुले समग्र मधेसी वा उत्पीडीत समुदायलाई चिनाउँदैन ।

नेपाली बाहेकका भाषाहरूमा पनि लेखिएका छन् ।
लेखिँदैछन् । त्यसलाई अन्तर समुदायमा फिँजाउन आवश्यक पर्छ । नेपाली लेखनलाई नेपालीबाहेकका भाषामा अनुवाद गर्नुपर्दछ । लेखकहरूवीच संवाद हुनुपर्दछ । लेखक स्वयं नेपालको परिवेश तथा पृष्ठभूमिसँग परिचित हुनुपर्दछ । पछिल्ला वर्षहरूमा मधेसमा पनि पहाडको विषयलाई लिएर चाखलाग्दा लेखन भएका छन् । त्यसैगरी मधेसका बारेमा पनि मधुरो तर सही स्वर सुनिन थालेको छ ।

पहिचान भनेको फरकपन हो । तर, यो पृथक्कीकरणको यात्रा होइन । फरक पहिचानहरू माझ पनि साझापनका शुत्रहरू हुन्छन् । त्यसलाई खोजिनुपर्छ । त्यसलाई उजिल्याउनु पर्छ । अहिले त्यसको अभाव खड्किएको छ । चाहे पञ्चायत होस् वा दल संरक्षित लोकतन्त्र, सबैले पहाडलाई नै नेपाल ठान्ने प्रयत्न गरे । र, संभवत त्यही दृष्टि नेपाली लेखन अन्तरधारा भयो । त्यसमा ठाडो हस्तक्षेप आवश्यक छ ।

कसरी यो सम्भव छ ?

हो, सम्भव देखिन्छ । पाठ्यपुस्तकहरूमा नेपालको भूगोल र त्यस्ले बोकेको विविधता र भाषाको विविधता बारे सामाग्रीहरूलाई समावेश गरिनुपर्दछ । त्यो काम राज्यको हो । र, लेखकले पनि त्यस्ता अनेकौँ प्रयत्नहरूलाई आफ्ना लेखन मार्फत स्वर दिन सक्छन् । असहमति र अस्मिता खोजीलाई स्वर दिन सक्छन् ।

मधेसको हकमा उसको अभारतीयकरणका लागि गरिएको संघर्षलाई राष्ट्रिय चिनारी दिन सक्छन् । सीमाञ्चल सम्बन्ध र राष्ट्रियताको चनाखोपनवीचको भिन्नतालाई ब्याख्या गरिदिन सक्छन् । सामाजिक सद्भावका सूत्रहरू केलाइदिन सक्छन् ।
लोकतन्त्रको स्वरलाई अझ बढी तन्काउँदै जाने र आफूलाई जहिले पनि प्रतिपक्षमा राख्नु लेखकहरूको युग धर्म होइन र ?

काठमाडौँ र मधेसको साइनो

नेपालको वर्तमान भूगोल प्राप्त गरेयता यसको राजधानी काठमाडौँ रहे जसरी नै शासन व्यवस्थाहरू फेरिए पनि राज्यको बनोट एकात्मक नै रह्यो । एकात्मक सत्ताको एकीकृत शक्ति सञ्चय र प्रयोग काठमाडौँमै घनिभूत भयो । राज्यमा पहुँच भएका, प्रभाव जमाएका र राज्यसँग जोडिएर पहिचान स्थापित गरेकाहरूको उपस्थित पनि त्यहीँ थेग्रियो । बसाइ सरेर आउनेहरूको बहुसंख्या बर्चश्व भएर पनि काठमाडौँ सिंगो नेपाली राज्यको निरन्तरताको थलो हुन पुग्यो ।

त्यसैले नेपाल राज्यसँगको माग दाबी, संघर्ष तथा संवादको कुरा उठ्दा काठमाडौँ शब्द उच्चरण हुन पुग्दछ । यसरी नेपाली विमर्शमा काठमाडौँ नेपाली राज्य, त्यस्को केन्द्रिकृत स्वरूप, असमावेशी चरित्र, नाभी केन्द्रित वितरण प्रणाली र सत्ता पालित वर्गलाई चिनाउने एउटा वृहत पहिचान-प्रतिनिधि हुन पुग्छ ।

काठमाडौँ अर्थात् राज्यसँगको सम्बन्ध निर्धारणले नेपाली भूगोलका अन्य समुदायहरूवीचको सम्बन्धलाई पनि रेखांकित गर्दछ । काठमाडौँ र मधेसलाई जोड्ने प्रमुख माध्यम धर्म, आर्थिक अवसर, रोजगारी, राजनीति संगठन, मानवीय सम्बन्ध, राज्यले आत्मसाथ गरेको प्रक्रिया र श्रोतमाथिको वितरण नै हो । यी सबै माध्यमहरूले आ-आफ्नै तह र स्थानमा महत्त्वपूर्ण भूमिका रहे पनि राज्यले मधेसलाई हेर्ने र बुझ्ने पक्ष नै प्राथमिक हुन् ।

नेपाली राजनीति भूगोलको शुन्यशीतता नहुँदासम्म दक्षिणी नेपालको बासिन्दाको काठमाडौँसँगको सम्बन्ध लुकाचोरी झै रह्यो । मधेस काठमाडौँका लागि बिर्ता, मौजा, शिकार खेल्ने ठाउँ वा प्राकृतिक संसाधनको दोहनकै रुपमा उपयोग भइरह्यो ।

काठमाडौँसँगको सम्बन्धलाई बहुआयमिकतामा बुझ्नका लागि मधेससँग जोडिएको पक्षलाई केलाउनुपर्दछ । पहिलो- काठमाडौँ आफैंमा अहिलेको नेपालको राजनैतिक भूगोलको नाभी केन्द्र हो । उसँग मधेसको आकर्षण विलगावको स्थिति छ । दोश्रो काठमाडौँसँगको सम्बन्धका आधारमा नेपालभित्रका सामुदायिक सम्बन्धको स्तर र रूप ।

आज मधेस वा पहाडको स्थिति एकअर्काको बुझाइका बारेमा दन्त्यकथाको दृष्टिविहीनहरूको हात्तीजस्तै भएको छ । कान अठ्याउनेले हात्तीलाई नांग्लोजस्तो बुझेको छ

तेश्रो, काठमाडौँ सहरसँग मधेसको अन्तरघुलन र अन्तरनिर्भरता । चौथो, काठमाडौँ मार्फत मधेसले नेपालको बाँकी हिस्सासँगको सम्बन्ध र सेवाको चाहना । पाँचौं काठमाडौँ मार्फत भूराजनैतिक सन्तुलनको खोजी । यी सबै पक्ष एकअर्कासँग जोडिएका छन् ।

पहिचान र साझा सरोकार

आज मधेस वा पहाडको स्थिति एकअर्काको बुझाइका बारेमा दन्त्यकथाको दृष्टिविहीनहरूको हात्तीजस्तै भएको छ । कान अठ्याउनेले हात्तीलाई नांग्लोजस्तो बुझेको छ । पुच्छर समाउनेले दाम्लो सम्झेको होला । खुट्टा अठ्याउनेले ठूलो खाँबो समातें भन्ने भान परेको होला । मधेसको समस्याको चुनौतिलाई पहाडले बुझेको छैन ।

त्यसैगरी मधेस बुझ्न पनि पहाड बुझ्नुपर्छ भन्ने बुझाई फराकिलो छैन । एक अर्काको भूगोलका बारेमा नबुझेसम्म कति दुरी, कति टाढा, कति खाल्डो, कति समतल भन्ने बारेमा अनेकौं अफवाह, आशंका र अनुमान फैलिएको छ ।

पहाडलाई मधेस बुझाउन जरुरी छ । त्यस्तै मधेसलाई पनि पहाड बुझाउन जरुरी छ । किन त ? मधेसले आफ्नो सरोकारका बारेमा आफैंले बलियोसँग कुरा गर्नुपर्छ । त्यसैगरी पहाडले पनि । मधेस, पहाड वा हिमाल भोलिको राज्य संरचनामा कस्तो अस्तित्वमा बस्ने, त्यसबारे गहिरो बुझाइ र त्यसको प्रकटीकरण त्यहीको बासिन्दाले गर्नु पनि मनासिव हो ।

तर, यति मात्राले परिवर्तनको पाङ्ग्रा गुड्नचाहिँ सक्दैन । परिवर्तनलाई स्थायी बनाउने, अनि एक अर्कासँगको सहकार्य, चासो र समन्वयका आधारमा लैजान सिङ्गो भूगोलको सरोकारलाई अरू भूगोलका बासिन्दाले पनि  बुझ्न जरुरी देखिन्छ । र, कुनै भूगोल विशेषको बुझाइलाई अन्तर भूगोल विशेषसँग जोड्न जरुरी छ ।

राष्ट्रियता, राष्ट्रको पहिचान, राष्ट्रिय सुरक्षा, राज्यको बनोट, राष्ट्रिय इतिहास, एउटा सुरक्षित वर्तमानमा र आकर्षित भविष्य जस्ता शब्दावलीहरू जो अहिलेको बदलावसँग जोडिए आएको छ । त्यसलाई परिभाषित गर्दा त्यहाँ नेपालको प्रत्येक क्षेत्रका बासिन्दाहरूका आकांक्षा र अभिलाषाहरूको अभिरेखाङ्कन भएको छ कि छैन ? भन्ने सवाल अहिले प्राथामिक हुन गएको छ । यी सवालहरूको जवाफ संविधानले दिन सकोस् भन्ने अपेक्षा थियो, जो अहिले पनि ज्युँदै छ । संविधान भनेको एउटा पद्दति मात्र होइन ।

नेपालको सन्दर्भमा भावनात्मक एकीकरणको गम्भीर  तथा इतिहासिक कार्यभारलाई पूरा गर्ने अनि त्यसलाई व्यवहारिकरुपमा चरितार्थ गर्ने शुत्र पनि थियो । एउटा परिकल्पित पद्दति त आयो, तर जोड्ने शुत्र भने आएन । संविधान घोषणापछि मधेसको कडा असन्तुस्टि झन विस्फोट हुनु यसैको सूचक हो । संविधानले जोड्नुपर्ने ठाउँमा मधेसी जनताको मुटुमा प्वाल पारेको छ ।

अन्तमा पङ्तिकारको भन्नु छ

समस्याहरूलाई केलाउने आ-आफ्नै वर्गीय चस्माहरू छन् । वर्गीय समाजमा विचारहरूको भिन्नता अनौठो, आश्चर्यको बिषय होइन । तर, लेखकहरू आन्दोलनकारीकै पक्षमा हुनुपर्दछ, जुन नेपालको सन्दर्भमा उपस्थित छ-पहिचानको मुद्दामा ।

राज्यसँग त सेना छ, पुलिस छ, एलिट वर्ग छन्, पार्टीका पत्रकार छन् l तर, जनतासँग को छन् ? जनतासँग कोही नभए पनि जनताको आन्दोलन कहिल्यै हारेको छैन l नपत्याए हेर्नुहोस् इतिहास । राजतन्त्र चुनाव गरेर फ्याँकेको होइन । न प्रजातन्त्र चुनाव गरेर आएको हो ।

साहित्य, कला र लेखन भन्नुहोस् वा गीत संगीत । यी सबै सौन्दर्यशास्त्रको अन्तिम चाहना मानिसहरूको प्रगति नै हो । प्रगतिवादी धार भनेको पनि यही हो ।अहिलेको नेपाली लेखनधार यथास्थितिमा जकडिएको छ ।

हरेक कुराले सान्दर्भिकता गुमाउँदा भौतिकवादी दृष्टिकोणसँग सामना गर्नुपर्दछ । केवल भावनामा डुबुल्की मारेर संकटको डुङ्गा तर्न कदापि सकिँदैन ।
राष्ट्रका नाममा आधुनिक नेपालको निर्माण भएपछि अढाइ शताब्दी त्यसै बितेका छन् । जनता जाँगरिला छन् । तर, देश अल्छीहरूको चौतारी भएको छ ।

र त मेरो देश एउटै जातिको फूलबारी हो । by onlinekhabar.

फेसबुकबाट तपाईको प्रतिक्रिया