वन्यजन्तुसँग रात बिताउँदै मचानमा पर्यटक
काठमाडौँ ४ बैशाख
चितवन-चितवन राष्ट्रिय निकुञ्जभित्र निजी क्षेत्रका होटल बन्द भएपछि तिनै होटलको अनुभूति दिलाउने गरी यहाँका मध्यवर्ती सामुदायिक वनले पर्यटकलाई सेवा दिन थालेका छन् । फस्टाउँदो मध्यवर्ती वनभित्र अग्ला मचान निर्माण गरी तिनीहरुमा रात बिताउन सक्ने गरी कोठा बनाएर पर्यटकलाई सेवा दिन थालिएको हो । झन्डै पाँच वर्षअघि चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका सात वटा होटल बन्द भएपछि निकुञ्जभित्रै बास बसेर रमाउन चाहने पर्यटकलाई लक्षित गरी मचान निर्माण गरिएको हो ।निकुञ्ज घुम्न आउने पर्यटकलाई तिनै मध्यवर्ती वनभित्र हात्ती, जिप, डुङ्गा, पैदल यात्रा गराइन्छ । निजी हात्ती निकुञ्ज प्रवेश गर्न नपाउने भएपछि हात्ती चढ्ने अधिकांश पर्यटकले गैँडा, बाघ, भालु,लगायतका वन्यजन्तु तिनै सामुदायिक वनमा हेर्दै आएका छन् । पछिल्लो समय गैँडा र बाघको सङ्ख्या बढेसँगै यहाँका अधिकांश सामुदायिक वनमा सहजै बाघ गैँडा देख्न पाइन्छ ।
मृगकुञ्ज उपभोक्ता समितिअन्तर्गतको खोरसोर मध्यवर्ती सामुदायिक वनमा चार वटा र बाघमारामा एउटा रात बिताउन मिल्ने गरी मचान निर्माण गरिएको छ । सोही समितिअन्तर्गतको मिलिजुली र चित्रसेन मध्यवर्ती सामुदायिक वनमा मचान बन्दैछ भने टिकौली मध्यवर्ती सामुदायिक वनमा बन्ने तयारीमा छ । कुमरोज मध्यवर्ती सामुदायिक वनको सिम्रेनी र जनकपुरमा दुई वटा मचान सञ्चालनमा छन् ।त्यसैगरी अन्य मध्यवर्ती सामुदायिक वनमा पनि मचान बन्ने क्रममा रहेको मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासुदेव ढुङ्गानाले बताउनुभयो । वनमै पाइने काठैकाठ प्रयोग गरेर कतिपय मचान बनाइएको छ भने कतिपयले सिमेन्टसमेत प्रयोग गरेका छन् । साँझ र बिहानको समयमा मचानका छेउछाउमै दुर्लभ वन्यजन्तु गैँडा, बाघ, भालु, हरिण, जराया, मृग, गोही, मयुरलगायतका वन्यजन्तु देख्न सकिने ढुङ्गानाले बताउनुभयो । हरेक मचान सातदेखि १० जनाको हाराहारीमा रात बिताउन मिल्ने गरी बनाइएका छन् । सोलारबाट बत्ती र पङ्खाको व्यवस्था गरिएको छ ।
मृगकुञ्जअन्तर्गतका मध्यवर्ती सामुदायिक वनभित्र मचान निर्माणका लागि दातृ संस्थाले सहयोग गरेका छन् । ढुङ्गानाले विश्वभर ‘ट्रि हाउस’ प्रख्यात रहेको भन्दै चितवनमा मध्यवर्ती वनमा बनेका मचानले शौखिन पर्यटकलाई तान्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।व्यवस्थित मचान भर्खरै बनेका हुँदा परीक्षणकालका लागि एक रातको एक जनाको रु ५०० देखि दुई हजार ५०० सम्म शुल्क लिने गरिएको छ । खानाका लागि पर्यटकले तयारी खाना आफैँ लैजानु पर्ने हुन्छ । उनीहरुको सुरक्षा र सहयोगका लागि कर्मचारीको व्यवस्था गरिएको छ ।सुविधासम्पन्न एउटा मचान बनाउँदा कम्तीमा रु १५ लाख खर्च हुने गरेको उहाँले बताउनुभयो । वनभित्रका अधिकतम काठ प्रयोग गरिने हुँदा मचान निर्माणमा खर्च कम लाग्ने गरेको छ ।
कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हीरा गुरुङले वनभित्र निर्माण गरिएका मचानबाट पर्यटकले वन र वन्यजन्तुलाई नजिकबाट नियाल्न पाउने बताउनुभयो । स्वदेश र विदेशबाट आएर मचानमा बस्ने पर्यटकले आआफ्नो क्षेत्रका अन्य पर्यटकलाई मचान बस्न सुझाव दिने गरेको उहाँले बताउनुभयो ।
मचानको प्रचारप्रसार होटल व्यवसायी र ट्राभल एजेन्सीमार्फत विदेशमा पनि गराइदै आएको बाघमारा सामुदायिक वनका अध्यक्ष बिपी चौधरीले बताउनुभयो । यसले पर्यापर्यटन प्रवद्र्धन र वनको अनुगमन गर्न पनि सहज भएको उहाँले बताउनुभयो ।सौराहा क्षेत्रका मध्यवर्ती सामुदायिक वनले पर्यटकलाई निकुञ्ज घुमाएर र बसाएर वार्षिकरुपमा रु एक करोडदेखि रु एक करोड ५० लाखसम्म आम्दानी गर्दै आएको जनाएका छन् । जुन रकम सामुदायिक वनको प्रवद्र्धन, समुदायको जीवनस्तर उकास्न र विकास निर्माणमा खर्च हुँदै आएको छ ।चितवन राष्ट्रिय निकुञ्ज स्थापना अघिदेखि निकुञ्जभित्र रहेका होटल २०६९ साउन १ गतेबाट बन्द अवस्थामा छन् । ४३ वर्षअघि चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएको हो भने ५० वर्षअघि टाईगर टप्स होटल खुलेको थियो ।निकुञ्जभित्र टाईगर टप्स खुलेपछि अन्य होटल पनि खोलिएका थिए । टेम्पल टाईगर, मचान, गैँडा, चितवन जङ्गल लज, आइल्यान्ड जङ्गल रिसोर्ट र नारायणी सफारी गरी सात वटा होटल निकुञ्जभित्र रहेका थिए । रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया