वर्तमानमा देखिएको अर्थतन्त्रको डरलाग्दो तस्विर
नन्दलाल खरेल
नोवल कोरोना भाइरस (कोभिड–१९) ले विश्व अर्थतन्त्रमा डामाडोल पारेको अवस्थामा नेपाल पनि अछुतो रहन सकेन । मुलुकले निरन्तर चैत्र ११ गते बाट लकडाउन को सामाना गरिरहेको छ । कोरोना भाइरसले मानवीय क्षती, जनस्वास्थ्यमा असर मात्र होइन अर्थतन्त्रको वहुआयामिक क्षेत्रमा समेत प्रभाव परेको छ । एउटा सामान्य मानिस आफ्नो जीवनयापन चलाउन आर्थिक क्रियाकलाप गर्दछ भने राज्य आर्थिक क्रियाकलाप राज्य सञ्चालन गर्न गर्दछ । दुवै पक्षबाट सञ्चालीत आर्थिक क्रियाकलापहरुको समग्रता अर्थतन्त्र हो । अर्थतन्त्रको मापन आर्थिक परिसूचकहरु हुन । आर्थिक परिसूचकहरु सवल वनेर जाँदा देशको अर्थतन्त्र मजबुत हुन्छ भने आर्थिक परिसूचकहरु नकारात्मक दिशामा जाँदा देशको अर्थतन्त्र डामाडोल अर्थात अस्तव्यस्त हुने गर्दछ ।
कोरोना भाइरसको नियन्त्रण गर्न लकडाउनको सामाना गर्नुपर्दा पर्यटन, रोजगार, आयात, निर्यात, वित्तिय क्षेत्र, यातायात, औद्योगिक उत्पादन, कृषिजन्य पदार्थको उत्पादन लगायत विभिन्न क्षेत्रमा असर परेको छ । कोरोना भाइरसको कारण वैदेशिक रोजगारीमा रहेका लाखौ युवाहरुले रोजगारी गुमाउने आकलन गरिएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (एनएफइए)ले लकडाउनमा गरेको अध्ययन अनुसार वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका २० देखी २५ प्रतिशत अर्थात ५ देखि ६ लाख जना नेपाली युवाहरुले राजगारी गुमाउने बताएको छ । ती युवाहरुलाई सरकारले कसरी कुन कुन क्षेत्रमा रोजगारी दिलाउने भन्ने कुनै ठोस नीति बनाउन सकेको छैन । सरकार आफै सत्ता संघर्ष, नेपाली भूमी माथि भारतीय अतिक्रमणमा जुध्नु गर्ने कारणले र महामारीबाट मानवीय क्षेती कसरी कम गर्न सकिन्छ भन्ने यावत विषयमा केन्द्रित हुनु पर्दा त्यो रोजगारीको विषय ओझलमा परेको छ । सरकारको अक्रमण्यताको कारणले यस्तो हुन गएको हो ।
कोरोना भाइसरको कारण विश्वका झण्डै १.३ अर्ब जनसख्या वहुआमिक गरिविको रेखामुनी पुगेको छ । नेपाल जस्तो अल्पविकसित देश पनि यसबाट पछुतो रहन सक्दैन । वहुआयामिक गरिविका सूचक स्वास्थ्य, शिक्षा र जीवनस्तमै यी तिनवटै विषयवस्तु तथा यस अन्तर्गत १० वटा अन्तर सूचकांकमा कोरोना महामारीले नकारात्मक असर पार्दैछ । यसबाट हाम्रो देश नेपाललाई प्रत्यक्ष असर पर्ने देखिन्छ । हाल सहरबाट गाउँ पर्केका लाखौ मजदुर केहि क्षण आफ्नो घरमा जाँदा खुसी वढेपनि दीर्धकालिनी रुपमा यीनै आधारभूत कुराले पुनः पिरोल्न थाल्नेछन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण २६ वैशाख सम्म देशभर गरिएको लकडाउन, उत्पादन, सेवा क्षेत्र र विप्रेषणमा आप्रवाहमा हस आई आर्थिक वृद्धि घट्ने प्रक्षेपण गरिएको छ । नेपालको कुल ग्राहस्थ उत्पादन चालु आर्थिक वर्षमा ५.३ प्रतिशतमा खुम्चने अनुमान छ । उच्च कृषि उत्पादन, पर्यटन आगमन, विप्रेषण आप्रवाहमा भएको वढोत्तरी तथा निजी क्षेत्रबाट भएको लगानी वृद्धिले अघिल्लो वर्ष ७.१ प्रतिशतको हाराहारीमा थियो । सरकारले यसपाली ८ दशमलब ५ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान गरेको थियो । यद्यपि लकडाउन हुनु पूर्व पहिल आर्थिक वर्षको त्रैमासिकमा पहिलो त्रैमासिकमा सरकारले घोषणा गरेको आर्थिक वृद्धिदरको आधा मात्रै पुगेको केन्द्रिय तथ्याङ्ग विभागले जनाएको थियो ।
कोभिड १९ को कारण आर्थिक समाचारहरु चिन्ताजनक वन्दै गएका छन् । अर्थमन्त्रालयले देशको अर्थतन्त्रका सूचकहरु कस्तो अवस्था छन् भनेर प्रत्येक महिना अर्थ बुटेलिन प्रकाशित गर्ने गरेकोमा सो बुटेलिन दुई महिनादेखि सार्वजनिक गरेको छैन । कोरोनाले अर्थतन्त्रमा १ खर्ब ६८ अर्ब बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको राष्ट्र बैंकले जनाएको छ । अर्थमन्त्रालयले तयार पारेको नोवल कोरोना भाइरसको संक्रमणबाट नेपाली अर्थतन्त्रमा पर्न सक्ने प्रभाव एवं तत्काल चाल्नुपर्ने कदम सम्बन्धी प्रतिवेदनमा सम्भावित उत्पादन क्षतीको अनुमान नेपाली अर्थतन्त्रको कुल ६७ अर्ब १० करोड रुपैयाँ वराबरको क्षती हुनेछ । विश्वव्यापी प्रभावले आपूर्तिमा श्रृंखलामा परेको असर र लकडाउनका कारण हुने संभावित क्षतिको आकलनमा अर्थमन्त्रालयको अनुमानमा सेवा क्षेत्र २७ अर्ब, उद्योग क्षेत्रमा १९ अर्ब कृषि क्षेत्रमा २ अर्ब रुपैयाँ गुम्ने देखिन्छ । सेवा क्षेत्रमध्ये होटल एवम् रेष्टुरेन्ट व्यवसाय सबैभन्दा वढी प्रभावित छन् । र, ती क्षेत्रले मात्रै ६ अर्ब रुपैयाँको क्षति भोग्नेछन् ।
कोरोना भाइरसको कारण पर्यटन व्यवसाय धराशायी बनेको छ, धराशायी मात्रै भएको छैन, तत्काल उठ्नै कठिन हुने देखिएको छ । पर्यटन व्यवसायको मुख्य साधन नै हवाई उडान हो । विश्वका अधिकांश देशमा अहिले हवाई उडान प्रतिवन्ध जस्तै छ । विश्वका झण्डै ८० प्रतिशत हवाई उडान स्थगित छ । निजी वायुसेवा कम्पनीहरुको छाता संगठन वायु सेवा संचालक संघका कार्यकारी निर्देशक कमल वमोका अनुसार २०७६ वैशाख महिनामा मात्रै निजी क्षेत्रका वायुसेवा कम्पनीहरुले मात्र १ अर्ब ९४ करोड रुपैयाँ कारोबार गरे । तर यो वैशाखमा केहि मेडिकल र खाद्य सामाग्री चार्टर उडान गर्ने वाहेक प्रायः सबै वायुसेवा कम्पनी वन्द छन् । तीनमा प्रत्यक्ष सलग्न ६४ सय कर्मचारी लकडाउनका कारण घरमै वस्न बाध्य भएका छन् ।
कोरोना भाइरसका कारण सबैभन्दा ठूलो असर विप्रेषण (रेमिट्यान्स) मा परेको छ । नेपाली रोजगारीमा जाने अधिकांश मुलुकमा कोरोना संत्रासले आकान्त परेपछि ५० प्रतिशत घटेको छ । राष्ट्र बैंकको हालै जारी गरेको प्रतिवेदन अनुसार फागुन सम्म नेपालमा मासिक ७५ अर्ब रुपैयाँ हाराहारीले रेमिट्यान्स भित्रिएको छ । बैशाख, जेठमा यो अझै घट्ने आकलन गरिएको छ । फागुन सम्ममा देशमा ५ खर्ब ९२ अर्ब ४२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । चैत्रमा साढे ३४ अर्बले वढेर ६ खर्ब २६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । अधिल्लो चैत्रको तुलनामा भने ४ प्रतिशतले मात्र घटेको देखिन्छ ।
रेमिट्यान्स मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार स्तम्भ हो । मुलुकको झण्डै एक तिहाई अर्थतन्त्र रेमिट्यान्सले धानेको थियो । नेपालबाट ११० मुलुकमा कामको खोजीमा विदेश गएका छन् । कोरोना भाइरसको संक्रमणले वैदेशिक रोजगारीमा मात्र होइन आन्तरिक रोजगारीमा समेत ठूलो असर पर्ने देखिन्छ । सन् २००८ को विश्व व्यापी वित्तिय संकट पछि नेपाल रेमिट्यान्स आप्रवाह एक्कासी घटेको थियो । त्यसले मुलुकको भुक्तानी प्रणालीमा ठूलो असन्तुलन मात्र भएको थिएन । लामो समय सम्म वजारमा महंगीको माग कायम थियो ।
मुलुक लगडाउनका कारण ठप्प छ । यसले आर्थिक गतिविधि ठप्प प्रायःछ । अत्यावश्यक वाहेक कुनै पनि वस्तुको आयात भएको छैन । भन्सार राजस्वको ठूलो हिस्सा रहेकोमा अहिले भन्सार राजस्व प्रभावित वनेको छ । महालेखा नियन्त्रको कार्यलयलाई आधार मान्ने हो भने जेठ ४ गते सम्म ५४.७६ प्रतिशत राजस्व उठेको छ । यो भनेको ६ खर्ब ८ अर्ब ९३ करोड रुपैयाँ हो । आर्थिक वर्ष सकिन २ महिना मात्र बाँकी छ । सरकारले ११ खर्ब १२ अर्ब ३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । त्यतिमात्र होइन कोरोना महामारीको उत्पन्न परिस्थितिको विकासे आयोजनालाई झन गंभीर असर परेको छ । चालु आर्थिक वर्षको १० महिना सकिंदा २८ प्रतिशत मात्रै विकास खर्च भयो । कोरोना महामारीको प्रत्यक्ष असर देखिएको पहिलो दुई महिनामा (चैत्र र बैशाख) मा सरकारले कुल १ खर्ब ५० अर्ब ३९ करोड रुपैयाँ खर्च गरेको छ । यसमध्ये १ खर्ब २१ अर्ब ३४ करोड रुपैयाँ चालू (साधारण) खर्च ११ अर्ब ४१ करोड रुपैयाँ वित्तिय व्यवस्थापन तर्फको खर्च हो । आर्थिक पछिल्लो दुई महिनामा सरकारको विकास खर्च नराम्रो संग प्रभावित भएको देखिन्छ । सामान्यतय सरकारले चैत्रदेखि विकास खर्च सबैभन्दा बढी गर्ने प्रवृति छ । तर चैत्र र वैशाख महिना सरकारले जम्मा १७ अर्ब ८० करोड रुपैयाँ मात्र पुजीगत खर्च गर्न सकेको छ । अहिले सम्मको तथ्यांक हेर्दा अबको बाँकी महिनामा विकास खर्च ४० प्रतिशत पनि नकट्ने देखिएको छ । यो विकास खर्च अहिले सम्मकै सम्भवतः न्यून हुने छ ।
यो महामारीको कारणले आयात निर्यातमा पनि गम्भीर असर परेको छ । नेपालले झण्डै एक खर्बको हाराहारीमा वस्तु निर्यात गरी विदेशी मुद्रा आर्जन गरेको थियो भने अहिले त्यसमा उल्लेख्य रुपमा कमजोर हुन पुगेको छ । आयात निर्यात रेकर्ड राख्ने भन्सार विभागका अनुसार आयात ७.५ प्रतिशतले घटेको छ भने निर्यात पनि खुम्चेको छ । निर्यातमा १२.८८ प्रतिशत वृद्धि छ । देश अहिले ९ खर्ब ३ अर्ब ७१ करोड रुपैयाँ वैदेशिक व्यापार घाटामा छ यो चैत्र मसान्त सम्मको तथ्याङ्ग हो । गत वर्षको यसै अवधिको तुलनामा ८.८८ प्रतिशतले व्यापार घाटा वढेको हो ।
कोभिड–१९ का कारण पुँजीबजार (धितोपत्र) मा पनि गम्भीर असर परेको छ । त्यसो त पुँजीबजारमा खतिवडा अर्थमन्त्री भएयता नै क्रमश ओरालो लागेको थियो । चैत्र १० गते यता वन्द रहेको सेयर बजार वैशाख अन्तिम दुई दिन खुला रह्रयो । कारोबारको दुवै दिन सर्किट व्रेक लाग्यो । नेपाल स्टक एक्सचेन्जलाई आधार मान्ने हो भने २४.५८ अंकले घटेको सेयर बजार १२०१.५७ विन्दुमा रोकिएको छ । कोरोनाकै कारण सेयर बजार वन्द हुन पुगेको छ । अब यो कहिले खुल्ने हो यसै भन्न नसकिने अवस्था छ ।
मुलुकले लामो समय देखि लकडाउनको सामना गरिरहँदा उद्योग कलकारखाना प्रायः बन्द रहेका छन् भने लाखौ श्रमिकहरु रोजगार विहीन बनेका छन् । जसको कारण रोजगारदातालाई बैकको कर्जा तिर्न र श्रमिकलाई पारिश्रमिक दिन हम्मे परेको छ । यो महामारीले कुल ग्राहस्थ उत्पादनमा समेत असर पर्ने देखिन्छ । गत वर्ष ६.७५ प्रतिशत कुल ग्राहस्थ उत्पादनको वृद्धिदर रहेकोमा यस वर्ष कोरोनाको कारण भएको लकडाउनले ठप्प पारेको गतिविधिका कारण २.२७ प्रतिशतमा झर्ने सरकारी आँकलन छ ।
कोरोनाको कारण महँगी नियन्त्रण भन्दा बाहिर गएको छ । लकडाउनका कारण आम्दानीको स्रोत गुमाएर क्रय शक्ति कमजोर भएकोलाई महँगीले थप आहत दिएको छ । केन्द्रिय वैकको तथ्यांक अनुसार चैत्रमा महँगी ६.७५ प्रतिशत पुगेको छ । फागुनमा महँगी ६.७० प्रतिशत पुगेको छ । फागुनमा महँगी ६.७० प्रतिशत थियो । गत वर्ष ४.४४ प्रतिशत मात्र थियो ।
अन्त्यमा, एउटा सिक्काको दुईपाटा भने झै सरकारले कोरोना भाइरसबाट आफ्ना नागरिकलाई मानविय क्षती र जनस्वास्थ्यमा परेको असरमा ध्यानदिन जरुरी छ भने अर्को तिर सँग सँगै अर्थतन्त्रलाई डामाडोल हुनबाट बचाउनु पर्दछ । कठोर लकडाउन मात्र समस्याको समाधान होइन, लकडाउनको मोडालिटीमा केहि परिवर्तन गरि अर्थतन्त्रलाई बचाउनु पर्दछ । मानवीय जीवनलाई बचाउन आर्थिक कृयाकलाप अपरिहार्य छ । आर्थिक क्रियाकलाप सवल हुन सक्यो भने मात्र मुलुक असफलता हुनबाट जोगिन्छ । यसतर्फ सरकारले गम्भीरतापूर्वक विवेक पु¥याएर सोच्ने वेला आएको छ । आगामी वजेटमा माथि उल्लेखीत समस्याहरुलाई समाधान गर्न न्यायोचित ढंगले वजेट यी विनियोजन गरी कार्यन्वयन गर्न अपरिहार्य छ ।
प्रकासित मिति २०७७–२–२२
फेसबुकबाट तपाईको प्रतिक्रिया