वल्र्ड भिजनले बाँडेको पैसामा अनियमितता
काठमाडौँ १६ असार
भूकम्पपछि दोलखामा च्याउसरी आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई कारबाही गर्ने निकाय कमजोर हुँदा वल्र्ड भिजन नामक विदेशी संस्थाले बाँडेको रकम दुरुपयोग भएको पाइएको छ ।
अति विपन्न एवम् लक्ष्यित वर्गलाई भन्दै वल्र्ड भिजनले दोलखामा वितरण गरेको अनुदान रकममा मनोमानी भएको खुलासा भएको हो । वल्र्ड भिजनले सामाजिक संरक्षण कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, टुहुरा बालबालिका तथा संरक्षणमा पहुँच कम भएका विपन्न भूकम्पपीडित घरपरिवारलाई वितरण गरेको रकममा अनियमितता भएको देखिएको हो ।
जिविस दोलखाले गरेको स्थलगत अनुगमनका क्रममा विपन्न र लक्ष्यित वर्गका लागि निकासा गरिएको रकम बाठाटाठा र सम्पन्न व्यक्तिले लिने गरेको तथ्य फेला परेपछि अनियमितताको खुलासा भएको हो । अनुगमनका क्रममा जिविसका कार्यक्रम अधिकृत कृष्ण कार्की नेतृत्वको टोली जिरी नगरपालिका पुग्दा यस्तो तथ्य फेला परेको हो ।
अनुगमन टोलीका अनुसार विपन्न र लक्ष्यित वर्गका भूकम्पपीडित घरपरिवारलाई प्रतिधुरी मासिक रु सात हजार ५०० का दरले दिइँदै आएको रकम केही पहुँचवालाको हातमा समेत पुगेको छ भने जिरी नपाका कतिपय लक्ष्यित वर्गले यो सुविधा पाउन सकेका छैनन् । जिरी नपा–५ मा गठित वडा नागरिक मञ्चका २५ जना सदस्यले समेत लक्ष्यित वर्ग र विपन्नको नाममा मासिक रु सात हजार ५०० का दरले अनुदान लिने गरेको पाइएको अधिकृत कार्कीले जानकारी दिए ।
जिरीमा एउटै घरपरिवारका श्रीमान्श्री-मती, दाजुभाइ र बाबुछोरा तथा सम्पन्न परिवारका व्यक्तिले समेत रकम लिने गरेको पाइएको छ । वल्र्ड भिजन संस्थाले लक्ष्यित वर्गमा सूचीकृत ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, टुहुरा बालबालिका तथा संरक्षणमा पहुँच नभएका र मासिक आम्दानी न्यून भएका विपन्न परिवारलाई मात्रै सामाजिक संरक्षण कार्यक्रममा समेटेर अनुदान दिने व्यवस्था गरेको छ ।
यो कार्यक्रम दोलखाको जिरी नगरपालिका, स्यामा, हाँवा र गैरीमुदी गाविसमा सञ्चालनमा छ । तीन गाविस र जिरी नपाकासहित बढीमा दुई हजार ५०० लक्ष्यित वर्गका नाममा मासिक रु एक करोड ८७ लाख ५० हजार बराबरको रकम निकासा हुने गरेको छ । अनुदान रकम लगातार छ महिनासम्म दिने कार्यक्रम छ ।
यसअन्तर्गत जिरी नपाका र केही गाविसमा पहिलो किस्ताबापत सो रकम निकासा भइसकेको छ तर जिरी नपालगायतका अन्य गाविसमा समेत वास्तविक लक्ष्यित वर्ग छुटेको र पहुँचवालाको हातमा समेत अनुदान रकम पुगेको गुनासो आएको छ ।
अनुदानको रकममा अनियमितता भएको गुनासो आएपछि वल्र्ड भिजनले रकम भुक्तानी प्रक्रिया केही समयका लागि स्थगन गरेको जनाएको छ । गुनासो र समस्या आएका क्षेत्रमा छानबिनपछि मात्रै रकम वितरण गरिने वल्र्ड भिजन दोलखा कार्यालयका एक कर्मचारीले जानकारी दिएका छन् । वल्र्ड भिजनले वडा नागरिक मञ्चको सिफारिसका आधारमा लक्ष्यित वर्गको पहिचान गरी स्थानीय सहकारी तथा बैंकमार्फत रकम भुक्तानी गर्दै आएको थियो ।
स्थानीय राजनीतिक दल र स्थानीय निकायका कर्मचारीले भने सहकार्यबिना रकम वितरण गरिएका कारण समस्या भएको प्रतिक्रिया दिएका छन् । रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया