वाणिज्य बैंकहरूको नाफा ८ अर्ब बढ्यो

काठमाडौं–३२ श्रावण

गत आर्थिक वर्षमा मुलुकका वाणिज्य बैंकहरूले अघिल्लो वर्षभन्दा ८ अर्ब ४१ करोड रुपैयाँ बढी नाफा कमाएका छन् । कुल २८ वाणिज्य बैंकहरूको यो नाफा अघिल्लो आवको तुलनामा २९.७६ प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष सञ्चालनमा रहेका २९ वाणिज्य बैंकले २८ अर्ब २९ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेका थिए भने गत आवमा ३६ अर्ब ७० करोड ९२ लाख रुपैयाँ गरेका छन् ।

गत आर्थिक वर्षमा बैंकहरूको व्याज खर्च कम भएपछि नाफा बढेको हो । वित्तीय क्षेत्रमा अधिक तरलता भएपछि बैंकहरूले निक्षेपमा दिने व्याज निकै घटेको थियो ।

गत आवमा वित्तीय क्षेत्रमा देखिएको अधिक तरलता (लगानीयोग्य पुँजी)ले व्याजदरमा निकै उतारचढाव आएको थियो । लगानी क्षेत्रको अभावमा वित्तीय प्रणालीमा तरलता बढेको हो ।

पछिल्लो समयमा मात्र केन्द्रीय बैंकले वित्तीय प्रणालीबाट करिब ५० अर्ब रुपैयाँ बराबरको तरलता खिचेको छ । बैंकले तरलता बढेपछि निक्षेपमा दिने व्याजको तुलनामा कर्जामा लिने व्याज कम घटाएकाले पनि नाफा बढेको हो । बैंकहरूले न्यून व्याजदरमा निक्षेप लिए तर पुरानो र नयाँ कर्जाको व्याज भने खासै घटाएनन् ।

गत आर्थिक वर्षको पछिलो ६ महिना बैंकहरूका लागि राम्रो नरहे पनि पछिल्ला ५ महिनामा बैंकले धेरै कर्जा प्रवाह गरेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बताए । “बैंकहरूले व्याज खर्च कम गरेकाले आम्दनी बढेको हो,” उनले भने, “व्याज खर्च र कर्मचारी खर्चमा समेत बैंकहरूले कटौती गरेका छन् ।” नाकाबन्दीपछिको छ महिनामा बैंकहरूले धेरै राम्रो आम्दानी गरेको उनको भनाइ छ ।

नाकाबन्दी खुलेपछि रोकिएका विकास निमार्णका काम सुचारु भएकाले पनि बैंकहरूको कर्जा प्रवाहमा वृद्धि भएको उनले बताए । आजको कारोबार दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया