विज्ञान प्रबिधि प्रदर्शनी
काठमाडौँ, २ फागुन
साउथवेस्टन स्टेट कलेज वसुन्धराद्वारा आयोजित नवौँ संस्करणको ‘साउथवेस्टन विज्ञान प्रदर्शनी तथा करियर इन म्यानेजमेन्ट’आजदेखि शुरु भयो । दुईदिने सो प्रदर्शनीमा प्रतिभाशाली छात्रछात्राले सिर्जना गरेका हेलिकोप्टर, हाइडोलिक क्रेन, भोटिङ मेसिन, इकोसिस्टम, रोबोटिक, एन्टी रेपिङ मेसिन प्रमुख आकर्षकका केन्द्र रहेका छन् ।
राजधानीका विभिन्न विद्यालय तथा कलेजमा अध्ययन गर्ने झण्डै ५० हजार विद्यार्थीले सो प्रदर्शनी अवलोकन गर्ने लक्ष्य आयोजकले राखेका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले प्रदर्शनीको शुभारम्भ गर्दै विज्ञान तथा प्रविधिको विकास र विस्तार गरी मुलुकलाई समृद्ध बनाउन सरकारले यस क्षेत्रमा लगानी वढाउनुपर्ने बताउनुभयो । विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने प्रकारका शिक्षा प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कलेज सञ्चालक समितिका अध्यक्ष बासुदेव विष्टले विज्ञान तथा प्रविधिको विकासमा कलेजले प्राथमिकता दिँदै आएको बताउँदै यसमा सरकारले यथेष्ट सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कलेजका कार्यक्रम निर्देशक टीकाराम (गणेश) महराले गुणस्तरीय, मूल्यमान्यता तथा आवश्यकताअनुरुपका शिक्षा उपलब्ध गराउनु कलेजको उद्देश्य भएको उल्लेख गर्दै यसैका लागि प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।
टोखा नगरपालिकानका–७ का वडाध्यक्ष नरोत्तम रानाले विद्यार्थीलाई विश्वव्यापी प्रतिस्पर्धा गर्नसक्ने बनाउनु नै आफूहरुको लक्ष्य भएको चर्चा गर्दैै नर्सरीदेखि विद्यावारिधिसम्मको पठनपाठन उपलब्ध गराएर साउथवेस्टन स्टेट कलेजले उदाहरणीय काम गरेको छ, भन्नुभयो ।
कलेजका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख एवं विज्ञान प्रदर्शनी संयोजक सरिता शाक्य प्रधानले कलेजको स्थापनाकालदेखि नै विज्ञान प्रदर्शनी गर्दै आएको जानकारी दिनुभयो । नेसनल युनाइटेट स्कूलका संस्थापक जेबी हमालले प्रदर्शनीमा सहभागी हुने अवसर दिएर आफ्ना विद्यार्थीको बौद्धिक विकासमा कलेजले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । (रासस)
फेसबुकबाट तपाईको प्रतिक्रिया