वित्तीय चेतना अभिवृद्धिका लागि बालबालिकाको खाता खोलौं: राष्ट्रबैंक

काठमाडौं, फागुन २०, २०८१ । नेपाल राष्ट्र बैंकले सानै उमेरदेखि बालबालिकाको नाममा बैंक खाता खोल्न सकिने बताएको छ । वित्तीय सचेतनाका लागि मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले अब बैंक खाता खोल्नका लागि उमेरको हदबन्दी नरहेको स्पष्ट पारेको छ ।

बालबालिकालाई बचतको महत्व बुझाउन र बैंक खातासँग परिचित गराउन सानै उमेरदेखि खाता खोलिदिनु पर्ने जनाएको छ । बालबालिकाको वित्तीय चेतना अभिवृद्धि गर्नकै लागि भए पनि जुनसुकै बैंक वा वित्तीय संस्थामा खाता खोली बचत गर्ने बानी बसालौ भन्दै सूचना जारी गरेको छ ।

प्रत्येक अभिभावकले आफ्ना बालबालिकाको भविष्यका लागि वित्तीय योजना तयार स्वयम् बालबालिकाको नाममा बैंक खाता खोल्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

‘बालबालिकाको जन्मदर्ता प्रमाणपत्र वा नाबालक परिचयपत्रको आधारमा जुनसुकै बैंक वा वित्तीय संस्थामा खाता खोल्न सकिन्छ’, बैंकको सूचनामा उल्लेख छ । बालबालिका कानुनी रुपमा बालिग नभएसम्म भने खाता सञ्चालनको अख्तियारी नाबालकको अभिभावक वा संरक्षकमा निहित रहन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया