विदेशमा यस्तो विपत्

काठमाडौं–१९ जेष्ठ

“२२ घन्टा काम गर्नुपथ्र्यो । समयमा खान र सुत्न पाइँदैनथ्यो । अबदेखि बरु खान नपाई मरुँला तर कहिले पनि कामको लागि विदेश जान्नँ,” घरेलु कामदारको रूपमा कुवेतमा दुई वर्ष बसेकी रमा शर्माको दुखेसो हो यो ।

“गिटी कुटेर भए पनि आफ्नै देशमा जीवन धान्छु । वैदेशिक रोजगारीमा जाने क्रममा मैले शारीरिक तथा मानसिक यातना सहनुप¥यो,” सरकारले कुवेतबाट उद्धार गरेर ल्याएकी शर्माले थपिन् । अचेत अवस्थामा उनलाई त्यहाँबाट उद्धार गरिएको थियो ।

विदेश जाँदा भाषा र सीप अनिवार्य हुनेरहेछ भन्ने पाठ उनले सिकेकी छिन् । “हामीलाई कार्यस्थलमा मौखिक र शारीरिक दुव्र्यवहारबाट जोगाउने हो भने सरकारले सित्तैमा भाषा र सीपको तालिम दिनुपर्छ,” सरकारलाई उनको सुझाव छ ।

सिकिस्त बिरामी पर्दा पनि घर मालिकले बिदा नदिएपछि उनलाई सरकरी पहलमा उद्धार गरिएको थियो । वैदेशिक रोजगारीमा गएका शर्माजस्ता थुप्रै नेपाली विदेशी भूमिमा पीडा भोगिरहेका छन् । अवैधानिक तरिकाले घरेलु कामदारका रूपमा विदेश जाने करिब ९० प्रतिशत बिचल्लीमा पर्ने गरेका छन् । घरायसी काममा गएका नेपाली महिला र सम्झौता नबुझी गएका पुरुष विदेशमा बढी समस्यामा पर्छन् । आजको कारोबार दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया