विदेशी पुनर्बीमा कम्पनीले व्यवसायबाट हात झिक्न थाले

काठमाडौं १४ बैशाख २०७९।

नेपालमा अत्यधिक बीमा दाबी पर्न थालेपछि विदेशी पुनर्बीमा कम्पनीले यहाँको व्यवसायबाट हात झिक्न थालेका छन् । नेपालमा पर्ने बीमा दाबीको अनुपात बढ्दै जाँदा नेपालसँगको व्यवसायमा विदेशी पुनर्बीमा कम्पनीहरूले घाटा बेहोरिरहेका छन् । फलस्वरूप उनीहरू नेपालबाट बाहिरिन थालेका हुन् ।

पछिल्लो समय उच्चस्तरका अर्थात् ‘ए’ रेटेड विदेशी कम्पनीहरूले नेपाली बीमा कम्पनीको पुनर्बीमा लिन छाडिसकेका छन् । ‘बी’ रेटेड कम्पनीहरूले समेत यहाँको व्यवसाय लिन आनाकानी गर्न थालेको नेपाल बीमक संघको एक प्रतिवेदनले देखाएको छ ।

संघका अनुसार पछिल्लो ५ आर्थिक वर्षमा त विदेशी पुनर्बीमा कम्पनीले नेपालसँगको व्यवसायमा घाटा नै बेहार्नु परेको छ । संघका अनुसार नेपालका कम्पनीहरूले जति बीमाशुल्क तिर्छन्, त्यसको औसत ३५ प्रतिशत कमिशनका रूपमा फिर्तै दिन्छन् । त्यसपछि दाबीबापत थप ६० प्रतिशत रकम भुक्तानी दिने गरेका छन् । यसरी विदेशी पुनर्बीमा कम्पनीले नेपालको व्यवसायको ९५ प्रतिशत यहीँ नै फिर्ता दिनुपरेको छ । त्यसमा व्यवस्थापन खर्च जोड्दा उनीहरूले यहाँको व्यवसायमा घाटा नै बेहोरिरहेको संघको भनाइ छ ।

२०७२ सालको भूकम्पबाट पनि विदेशी पुनर्बीमा कम्पनीले यहाँको व्यवसायमा ठूलो नोक्सानी बेहोरेका थिए, जुन स्वाभाविक थियो । तर, पछिल्लो समय प्राकृतिक प्रकोपका कारण नेपालमा वर्षेनि बीमा दाबीयोग्य क्षति बढ्दै गएको छ । त्यसबाट स्वतः विदेशी पुनर्बीमा कम्पनीहरू प्रभावित भएका छन् । फलस्वरूप विदेशी पुनर्बीमा कम्पनीहरू यहाँको व्यवसायबाट बाहिरिन थालेको नेपाल बीमक संघका अध्यक्ष चंकी क्षत्री बताउँछन् ।आर्थिक अभियान दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया