विद्युत् चोरी रोक्न प्राधिकरणको ‘एग्रेसिभ मुभ’

राजविराज ८ माघ
 नेपाल विद्युत प्राधिकरण, शाखा कार्यालय राजविराजले छ महिनामा विद्युत् हुकिङ गरी चोरी गर्ने ६९८ व्यक्ति तथा उपकरणमाथि कारबाही गरेको छ ।
चुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय राजविराजले विद्युतको पोलबाट हुकिङ गरेर सिँचाइ तथा घरमा विद्युत चोरी गर्नेमाथि कारबाही गरेको प्राधिकरण केन्द्रका  प्रमुख रामउद्गार साहले बताए।
केन्द्रका प्रमुख साहका अनुसार आव २०७३/०७४ को साउनदेखि हालसम्म विद्युत् चोरी गर्ने ६९८ व्यक्ति तथा उपकरणमाथि विद्युत ऐनवमोजिम कारबाही गरिएको बताए।

प्राधिकरणमा कुलमान घिसिङ आएपछि विद्युत चोरी नियन्त्रणमा एग्रेसिभ कारवाही सुरु गरिएको हो।उनले विद्युतमा भएको चुहावट नियन्त्रणका लागि जिल्लामा अभियान चलाउन निर्देशन दिएका छन्।

घिसिङले मिटर नभएका ठाउँमा तत्कालै मिटर जडान गर्न समेत निर्देशन दिएका छन्।उनी प्रवन्ध निर्देशकमा आउनेवित्तिकै सुकुम्बासीलार्इ समेत मिटर दिनमिल्नेगरी प्राधिकरणबाट निर्णय गराएका थिए।यो निर्णयसँगै मिटर जडान गर्नेको संख्या बढ्दो क्रममा रहेको प्राधिकरण स्रोतले बतायो।

तीमध्ये ३८३ जना हुकिङ गर्ने मानिसलाई रु ५,००० जरिवाना र २३४ वटा सामान जफत गरिएको उनले जानकारी दिए।यस्तै, तीमध्ये मिटरबाट सिधै विद्युत् चुहावट गर्ने ८१ जनालाई समेत कारबाही गरिएको बताइएको छ । यता विद्युत् चुहावटको कारबाहीबाट रु ४६ लाख १६ हजार ६०० राजस्व सङ्कलन समेत गरिएको प्राधिकरण राजविराजले जनाएको छ ।
यसैबीच, विद्युत्को महसुल तिर्न बाँकी बक्यौता भएकाको लाइन काट्ने कार्य जारी राख्दै जिल्लामा भइरहेको व्यापक विद्युत् चुहावट नियन्त्रणका लागि समेत प्राधिकरणले चुहावट नियन्त्रण अभियानलाई जारी नै राखेको प्रमुख साहले बताए। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया