विलासी विक्रेताको गन्तव्यमा चीनका चार सहर

एजेन्सी, ९ जेस्ठ
बेइजिङ, ६ जेठ – विलासी खुद्रा विक्रेताका लागि विश्वका उत्कृष्ट १० गन्तव्यमा चारवटा चिनियाँ सहर परेका छन् । हङकङ, सांघाई, बेइजिङ र ताइपेई सूचीमा परेको रियल इस्टेट परामर्शदातृ फर्म जोन्स ल्याङ लासाले (जेएलएल) ले जनाएको छ । लन्डन, पेरिस र न्यूयोर्क पनि सूचीमा परेका छन् ।

एसिया–प्रशान्त क्षेत्रमा चार चिनियाँ सहरसहित जापानको टोकियो र ओशाका तथा सिंगापुर पनि परेका छन् । फर्मका अनुसार आगामी १५ वर्षको अवधिमा क्षेत्रमा उच्च आम्दानी भएका परिवारको संख्यामा हुने वृद्धिले क्षेत्रलाई विश्वव्यापी विलासी उपभोगको केन्द्रका रूपमा स्थापित गर्नेछ । सूचीको पहिलो स्थानमा लन्डन परेको छ भने दोस्रो र तेस्रो स्थानमा हङकङ र पेरिस परेका छन् ।

आर्थिक वृद्धिमा देखा परेको सुस्त अवस्था र भ्रष्टाचारविरोधी अभियानका बाबजुद विलासी खुद्रा विक्रेताले हङकङलाई चिनियाँ बजारको द्वार र मुख्यभूमि चीनबाट आउने उच्च खर्च गर्ने पर्यटकको लोकप्रिय गन्तव्यका रूपमा हेर्ने गरेको जेएलएलले जनाएको छ ।

सांघाई सूचीको छैटौं स्थानमा परेको छ र एसियामा विलासी खुद्रा बिक्रीका लागि नयाँ केन्द्रका रूपमा स्थापित हुँदैछ । बेइजिङ दुबईपछि अर्थात् नवौं स्थानमा छ । उच्च सम्पत्ति भएका व्यक्तिहरूको ठूलो संख्याका कारण यो मामिलामा बेइजिङको सम्भावना प्रबल भएको परामर्शदातृ फर्मले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया