विवाह गरिरहेका एक जोडी मण्डपबाटै पक्राउ

रुकुम-१५ बैशाख

जिल्लाको सानीभेरी गाउँपालिकामा विवाह भइरहेको अवस्थामा दुलाहा-दुलहीलाई प्रहरीले पक्राउ गरेको छ। गाउँपालिका वडा नम्बर ७ स्थित जैधुनेमा बाल विवाह गरिरहेका एक जोडीलाई प्रहरीले पक्राउ गरेको हो।

बालविवाह गर्न लागेको सूचनाका आधारमा प्रहरीले दुलाहा-दुलहीलाई विवाह मण्डपबाटै पक्राउ गरेको थियो। केटाकेटीबीच केही दिनअघि प्रेम विवाह भएको थियो।

सानीभेरी गाउँपालिका वडा नम्बर १० अर्माका १८ वर्षीय बालक र सानीभेरी वडा नम्बर ७ जैधुनेकी १७ वर्षीया बालिकाबीच बालविवाह हुँदै गर्दा प्रहरीले पक्राउ गरेको सिम्ली प्रहरी चौकीका प्रमुख गगनसिंह ठकुरीले जानकारी दिए। उनले केटीका अभिभावक शिक्षक भएको भन्दै शिक्षित परिवारबाटै यसरी बालविवाह हुनु दु:खद भएको बताए।

प्रहरीले दुलाहा-दुलहीलाई पक्राउ गरेपछि विवाह रोकिएको छ। विवाह रोकी केटाकेटीलाई अभिभावकको जिम्मा लगाइने प्रहरीको भनाइ छ।

सरकारले केटाकेटी दुवै २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाह भनेको छ। बालविवाह भएका प्रकृति हेरी ६ महिना वा एक वर्षसम्म कैद हुनसक्ने कानुनी व्यवस्था छ। (रासस)

फेसबुकबाट तपाईको प्रतिक्रिया