विशेष आर्थिक क्षेत्र (सेज) विधेयक पारित
काठमाडौँ १३ भदौ
व्यवस्थापिका–संसद्ले विशेष आर्थिक क्षेत्र (सेज) विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ । विधेयक पारित गर्नुअघि वैठकमा उठेका प्रश्नको जवाफ दिदै उद्योग मन्त्री नवीन्द्रराज जोशीले मुलुकको आर्थिक क्षेत्रको विकास र निर्यात व्यापार बढाउन उक्त विधेयक ल्याईएको बताए ।
सेज विधेयक पारित
व्यवस्थापिका संसद्मा उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्वन्ध समितिको प्रतिवेदन सहितको विशेष आर्थिक क्षेत्र विधेयक, २०७१ माथि छलफल गरियोस् भनी प्रस्तुत गरिएको प्रस्तावमाथिको छलफलमा केही सांसदहरुले भाग लिएका थिए ।
विकास समितिको वार्षिक प्रतिवेदन पेस
व्यवस्थापिका–संसद्को आजको बैठकमा विकास समितिको वार्षिक प्रतिवेदन पेस गरिएको छ । समितिका सभापति रवीन्द्र अधिकारीले सदनसमक्ष विकास समितिको वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
उनले समितिले भूकम्पपछिको पुनःनिर्माण, विकास निर्माण र अन्य समितिका कामका सम्बन्धमा सरोकारवाला निकायसँग भएका छलफल र दिएको निर्देशनका बारेमा जानकारी गराउँदै अपेक्षित रुपमा उपलब्धि हासिल हुन नसकेको बताए ।
समितिले दिएका निर्देशनको कार्यान्वयनको अवस्थाका बारेमा पुनः छलफल गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले सरकार र संसद्ले एकअर्काको समन्वय गरी काम गर्नुपर्नेमा त्यसो हुन नसकेको गुनासो गरे । समितिले स्थलगत अध्ययन भ्रमणका साथै ७८ घन्टा छलफल गरेको पनि उनले जानकारी गराए ।
सम्झौतामाथि छलफल र अनुमोदन
“व्यवस्थापिका–संसद्ले ऊर्जा सहयोगका लागि सार्क प्रारुप सम्झौता (विद्युत्) माथि छलफल गरियोस्” भन्ने प्रस्तावलाई बहुमतले अनुमोदन गरेको छ ।
यसअघि बैठकमा ऊर्जामन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव अनुमोदन गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले ऊर्जा सङ्कट समाधान गर्न, उत्पादित विद्युत् वर्षायाममा निर्यात गर्नसमेत योगदान होस् भनेर प्रस्ताव ल्याइएको हुँदा यसलाई समर्थन गर्न आग्रह गरेका थिए ।
संसद्को अर्को बैठक भोलि भदौ १४ गते दिनको २ बजे बस्नेछ । रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया