विश्वकप फुटबलमा ४८ देश सहभागिता गराउन अध्यक्ष इन्फान्टिनो प्रस्ताव

एजेन्सी १८ अशोज
लण्डन । विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष गियानी इन्फान्टिनोले विश्वकप फुटबलमा सहभागी हुने टिमको संख्या बढाउने प्रस्ताव गरेका छन् । अध्यक्ष इन्फान्टिनोले विश्वकपमा अहिलेसम्मकै बढी राष्ट्रको सहभागिता गराउन फिफामा प्रस्ताव ल्याएका हुन् ।
फिफा अध्यक्ष इन्फान्टिनाले विश्वकप फुटबलको अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने टिमको संख्या ४८ पुर्‍याउन प्रस्ताव गरेका छन् । अध्यक्ष इन्फान्टिनोले अघि सारेको प्रस्तावबारे आउँदो जनवरीमा हुने फिफाको काउन्सिलमा छलफल हुनेछ । इन्फान्टिनोले गएको फेब्रुअरीमा फिफा अध्यक्ष बन्दा विश्वकपमा सहभागी हुने टिमको संख्या ४० पुर्‍याउने बताएका थिए ।
अध्यक्ष इन्फान्टिनोले ल्याएको प्रस्तावअनुसार समूह चरणअघि प्रारम्भीक नटकआउट प्रतिस्पर्धा गराउने र त्यसबाट १६ टिम समूह चरणका लागि छनौट हुने तथा १६ टिम बाहिरिने छन् । त्यसपछिको प्रतिस्पर्धा अहिलेको जस्तै रहने र त्यसमा ३२ टिम नै हुनेछन् । समूह चरण अघिको नकआउट खेलमा ३२ टिम सहभागी हुने र विजयी टिम समूह चरणका लागि छनौट हुनेछन् भने १६ टिम भने बाइ पाएर समूह चरणका लागिछनोट हुने छन् ।
बिश्व फुटबलको विकासका लागि यो प्रस्ताव उचित रहेको पनि अध्यक्ष इन्फान्टिनोले बताएका छन् । त्यस्तै उनले विश्वकप फुटबल विश्वकै ठुलो प्रतियोगिता रहेको र धेरैको सहभागिता आवश्यक रहेको बताए । अध्यक्ष इन्फान्टिनोले फिफाले सन् २०१७ भित्रमा यस विषयमा निर्णय लिइसक्नु पर्ने समेत बताएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया