विश्वकै पहिलो ठूलो जेट उडाउँदै चीन
बेइजिङ २३ बैशाख
चीनको पहिलो ठूलो यात्रु जेटले उडान भर्न लागेको छ । सी–९१९ नाम यो विमानको पहिलो परीक्षण उडान शुक्रबार सांघाईको पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलबाट गरिँदै छ ।
समाचार एजेन्सी सिन्ह्वाका अनुसार सी–९१९ विमानका साथ चीनले व्यापारिक ठूलो विमानमा विश्वकै ठूलो बजार हुने लक्ष्य राखेको छ । १ सय ६८ सिट क्षमताको यो विमानको आकार लगभग एयरबसको ए–३२० र बोइङको ७३७–८०० बराबरको छ ।
एयरबस र बोइङका यी विमान लोकप्रिय रहँदै आएका छन् । सी–९१९ ले दुई साताअघि जमिनको परीक्षण पूरा गरेको थियो । केही गडबडी आए धावनमार्गमा सुरक्षित रूपमा रोक्न सक्ने क्षमता पनि देखाएको थियो ।
पहिलो उडान विमान निर्माता कोम्याकका लागि महत्वपूर्ण हुनेछ । तर, यात्रुलाई आकर्षित गर्नका लागि यो विमानले अझै लामो यात्रा तय गर्न बाँकी नै छ । मागअनुसारको परीक्षणका लागि यो विमानलाई अझै वर्षौं लाग्न सक्छ ।
कोम्याकले स्वयं चीनमा पनि विश्वास जित्न बाँकी नै देखिएको छ । सी–९१९ लाई यो अवस्थासम्म आइपुग्नका लागि लामो समय लागेको छ । चीनको राज्य स्वामित्वको विमानसेवाले सन् २०१० मै यी विमान खरिद सम्झौतामा हस्ताक्षर गरेको थियो ।
यो गत वर्ष नै सेवामा प्रवेश गर्ने अपेक्षा गरिएको थियो । तर, यो विमानको प्रोटोटाइप २०१५ को नोभेम्बरसम्म पनि सार्वजनिक गरिएको थिएन । प्रविधिका कारण विमानको पहिलो उडानको समय पर सरेको थियो ।
दशकौंको अनुभव भए पनि बोइङ र एयरबसले पनि उच्च प्रोफाइलको आयोजनामा ढिलाइको सामना गर्दैै आएका छन् । नयाँ जेट ल्याउने विषयमा पनि यी विमानले अप्ठेरोको सामना गर्दै आएका छन् ।
अमेरिका, रूस, ब्राजिल, क्यानडा, बेलायत, फ्रान्स र जर्मनीले पनि आफ्नै विमान विकास गरेका छन् । तर यी विमान स्थानीय विमानसेवा कम्पनीबाट मात्र माग हँुदै आएका छन् ।
सन् २०३० मा विश्वकै ठूलो व्यापारिक उड्डयन बजारमा चीनले अमेरिकालाई उछिन्ने देखिएको अवस्थामा चीनमा नयाँ विमानको माग राम्रो हुने अपेक्षा गरिएको छ । एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया