विश्वकै सस्तो पर्यटकीय गन्तव्य पोखरा
काठमाडौँ २९ जेष्ठ
वासिङ्टन डिसी – नेपालको पोखरालाई सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भएको विश्व प्रसिद्ध फोव्र्स पत्रिकाले उल्लेख गरेको छ ।फोव्र्सका अनुसार अमेरिकी डलरको स्थानीय मुद्रासँगको विनिमय दरलाई आधार मानेर यस्तो तथ्य सार्वजनिक गरेको हो ।
विश्वका धनी व्यक्तिको सूची सार्वजनिक गर्ने फोव्र्सले प्रकाशित गर्ने यस्तो सूचीले पर्यटकको आगमनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अमेरिकामा व्यवसाय गर्दै आएका युएस नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष वेद खरेलले बताए ।
खरेलले भने, “अमेरिकाका मध्यमवर्गका लागि यो महत्वपूर्ण सूचना हुन सक्छ । यसरी पोखरा सूचीकृत हुनु आफैँमा नेपालको पर्यटन प्रचार पनि हो ।”
उक्त पत्रिकाले प्रतिदिन १५ डलर ८४ सेन्टमा नेपालको पोखरामा बस्न सकिने उल्लेख गरेको छ । सोसँगै २१ स्थानलाई पर्यटकीय सम्भावनाको सस्तो क्षेत्रको रुपमा फोव्र्सले सूची निकालेको छ । यी २१ स्थानमध्ये काठमाडौँ सातौँ स्थानमा छ ।रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया