विश्वविद्यालय अनुदान आयोग र टेलिकमबीच सस्तो मूल्यमा इन्टरनेट दिने सम्झौता

कठमाण्डौ ९ भदौ २०७७ ।

कोरोनाका कारण शैक्षिक सत्र नगुम्ने गरी पठनपाठन र अनुसन्धान कार्य सुचारु गर्न विश्वविद्यालय अनुदान आयोग र नेपाल टेलिकमबीच सम्झौता भएको छ  ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको उपस्थितिमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र विश्वविद्यालय अनुदान आयोगका प्रमुख प्रशासकीय अधिकृत सुभाष चन्द्र ढुंगेलबीच शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा सम्झौता सम्पन्न भएको हो ।

मुलुकका सबै विश्वविद्यालय र ती अन्तर्गतका आंगिक क्याम्पसहरुमा अध्ययन, अध्यापन र अनुसन्धानमा संलग्न सबैलाई सम्झौता बमोजिम टेलिकमले ह्याप्पी लर्निङ प्याक उपलब्ध गराउने छ ।

सो प्याकेज अन्तर्गत ३१५ मा २४ जीबी र ५०० मा ३५ जीबी डाटा उपलब्ध हुनेछ । २४ जीबी डाटामध्ये २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने कम्पनीले जनाएको छ । यसैगरी ३५ जीबी डाटामध्ये ३० जीबी डाटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ ।

ह्याप्पी लर्निङ प्याक टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत उपयुक्त हुने कुनैपनि समयमा प्रयोग गर्न सकिने छ ।  दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ ।

सो   प्याकेज प्रयोग गर्न विद्यार्थी, प्राध्यापक वा अनुसन्धानकर्ताहरुले आजैका मितिदेखि edupack@ntc.net.np मा इमेल पठाउन सक्ने टेलिकमले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया