विश्व बैङ्कद्वारा महामारी बीमा घोषणा

जेठ ८, सेण्डाई (जापान) ।

बहुपक्षीय कर्जादाता निकाय ‘विश्व बैङ्क’ले महामारी बीमा योजना घोषणा गरेको छ । बैङ्कका अध्यक्ष जोम योङ किमले जापानको सेण्डाईमा चलिरहेको जी–सेभेनको बैठकमा शनिवार नयाँ ‘पण्डेमिक इमर्जेन्सी फाइनान्सिङ फ्यासिलिटी’ (पीईएएफ)को घोषणा गरेका हुन् । यस बीमा योजनाले विश्वमा ठूलो महामारी फैलिएको स्थितिमा सोको रोकथाम र नियन्त्रणका लागि तीव्र गतिमा रकम सञ्चालन गर्नेछ ।

महामारीले धेरै जनसङ्ख्या र कमजोर अर्थतन्त्रलाई खतरा पुर्‍याएमा पीईएएफले अन्तरराष्ट्रिय र राष्ट्रिय प्रतिक्रियालाई तीव्रता दिने किमले बताएका छन् । पीईएप्m महामारी बीमा र ऋणपत्र दुवैको मिश्रण भएको किमको भनाइ छ । सन् २०१४ मा पश्चिम अफ्रिकामा इबोलाको महामारी फैलिएपछि सोको निवारणमा दाताहरूले निकै सुस्त प्रतिक्रिया दिएका थिए । यसकै प्रत्यक्ष प्रतिक्रियास्वरूप विश्व बैङ्कले उक्त बीमा योजना घोषणा गरेको हो ।

इबोलाबाट करीब ११ हजार मानिसको मृत्यु भएको थियो भने यसका कारण महीनौं पश्चिम अफ्रिकाको आर्थिक गतिविधि पनि प्रभावित बनेको थियो । ‘महामारीले विश्व स्वास्थ्य र आर्थिक सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको छ,’ किमले भने । केही समयअघि पश्चिम अफ्रिकामा इबोलाको महामारी फैलिएला भनेर कोही पनि तयार नरहेको र यसले सम्पूर्ण विश्वका लागि ‘वेक–अप कल’को काम गरेको उनले बताएका छन् ।

महामारी फैलिएको स्थितिमा सोको नियन्त्रणका लागि तीव्रताका साथ काम गर्ने प्रभावकारी अन्तरराष्ट्रिय प्रणाली नै नभएकाले बैङ्कले पीईएप्mको घोषणा गरेको बताइएको छ । पश्चिम अफ्रिकामा इबोला सङ्क्रमण देखिएपछि विश्व बैङ्कले सोको निवारणमा तीव्रताका साथ कदम चालेको थियो । तर, विश्वभरिबाट त्यहाँ स्वास्थ्यकर्मी परिचालन गर्न, आवश्यक सामग्रीहरूको आपूर्ति गराउन र सेरा लियोन, गिनी र लाइबेरियाजस्ता देशहरूमा अन्य उद्धार सामग्री परिचालनका लागि करोडौं डलर जुटाउन महीनौं लागेको थियो । समयमा आवश्यक रकम जुटाउन नसक्दा १० गुणा मृत्यु भएको किमले बताएका छन् । रासस/एएफपी

फेसबुकबाट तपाईको प्रतिक्रिया