वैदेशिक लगानीको प्रतिबद्धता बढ्यो

काठमाडौं ९ माघ।

वैदेशिक लगानीसम्बन्धी कानूनी संरचनामा सुधार तथा लगानी सम्मेलनको आयोजनालगायत कारण नेपालमा वैदेशिक लगानी प्रतिबद्धतामा सुधार आएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महीनामै विदेशी लगानी प्रतिबद्धता रू. २७ अर्बभन्दा बढी पुगेको छ, जुन गत आवको कुल प्रतिबद्धताभन्दा झन्डै रू. २ अर्बले बढी हो ।

उद्योग विभागको तथ्यांकअनुसार यस वर्षको पहिलो ६ महीनामा  रू. २७ अर्ब २८ करोड बराबरको विदेशी लगानी भित्र्याउने प्रतिबद्धताका १५० कम्पनी उद्योग विभागमा दर्ता भएका छन् । यस वर्ष सबैभन्दा बढी प्रतिबद्धता पर्यटन क्षेत्रमा आएको छ, त्यसपछि सेवा, सूचना प्रविधि तथा ऊर्जाक्षेत्रमा धेरै लगानी देखिएको छ । नेपालले २०२० लाई भ्रमण वर्षका रूपमा मनाइरहँदा पर्यटन क्षेत्रमा रू. ८ अर्ब ७ करोड लगानी गर्नेगरी ६० कम्पनी दर्ता भएका छन् ।

अघिल्ला वर्षहरूमा झैं नेपालमा लगानी भित्र्याउनेमा चिनियाँ कम्पनीहरू अग्रपंक्तिमा छन् । यस अवधिमा चीनका ११८ कम्पनीहरूबाट रू. १६ अर्ब ६६ करोड बराबरको लगानी प्रतिबद्धता आएको छ ।

ठूला लगानी कम
लगानी प्रतिबद्धता ह्वात्तै बढेको देखिए पनि अर्ब रुपैयाँमाथिका लगानी प्रतिबद्धता भने थोरै नै छन् । विभागको तथ्यांकअनुसार मात्र ३ आयोजनामा अर्ब रुपैयाँभन्दा बढी लगानीको प्रतिबद्धता देखिएको छ । रू. १० करोडदेखि रू. २० करोड बराबरको लगानी गर्ने गरी ३७ कम्पनी दर्ता भएका छन् भने रू. २५ करोडदेखि रू. ५० करोड बराबरको लगानी गर्ने गरी ३४ कम्पनी दर्ता भएका छन् ।

संख्या र कुल लगानी रकमको हिसाबले चीन अगाडि भए पनि चालू आवको यस अवधिको सबैभन्दा ठूलो एकल विदेशी लगानी प्रतिबद्धता संयुक्त राज्य अमेरिकाबाट भएको छ । यस वर्ष अमेरिका र बेलायतबाट लगानी प्रतिबद्धता ह्वात्तै बढेको छ ।

उद्योग विभागको तथ्यांकअनुसार अमेरिकाबाट ऊर्जाक्षेत्रका लागि रू. ४ अर्ब ७ करोड लगानीको प्रतिबद्धता आएको छ । त्यस्तै, बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन (सीडीसी) ले इन्टरनेट सेवाप्रदायक वल्र्डलिंकमा लगानी गरेका कारण सो मुलुकबाट यस अवधिमा झन्डै रू. २ अर्बको लगानी प्रतिबद्धता आएको छ । आर्थिक अभियान दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया