व्यवस्थापिका–संसद् भाडाको भवनमा

काठमाडौं २० जेष्ठ –

देशकै नीति निर्माण गर्ने व्यवस्थापिका–संसद् भाडाको भवनमा सञ्चालित छ । संसद् सचिवालयले संसद्को नियमित बैठक हुने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भाडा वार्षिक नौ करोड ६१ लाख रुपैयाँ महानगरपालिकालाई बुझाउँदै आएको छ ।

व्यवस्थापिका–संसद् भवन बनाउने विषय उठेको झन्डै १८ वर्ष भएको छ । तर, अहिले सिंहदरबारस्थित पुतली बगैँचामै संसद् भवन बनाउने गरी संसद् सचिवालयले प्रक्रिया अगाडि बढाएको छ । तर, सरकारले यस वर्ष जम्मा ५० लाख रुपैयाँ बजेट मात्र विनियोजन गरेको छ ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ०५५ मै सिंहदरबारस्थित पुतली बगैँचाको जग्गामा संसद् भवन बनाउने निर्णय गरेको थियो । तर, स्थानका विषयमा विवाद भयो । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एकै ठाउँमा रहँदा संकुचन हुने भन्दै संसद् भवन बाहिर बनाउनुपर्ने आवाज उठेपछि विभिन्न अध्ययन समिति बनेका थिए । ती समितिले पुतली बगैँचामै भवन बनाउन उपयुक्त हुने निष्कर्ष दिएका छन्।

पछिल्लोपटक अर्थमन्त्री विष्णु पौडेलको अग्रसरतामा १७ पुस ०७२ मा कानुनमन्त्री अग्नि खरेल, संसद्का महासचिव मनोहरप्रसाद भट्टराई, अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार गोविन्द नेपाल, व्यवस्थापिका–संसद् सचिवालयका सचिव मुकुन्द शर्मालगायतको बैठक बस्यो । बैठकले संसद्का महासचिव मनोहरप्रसाद भट्टराईकै संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो ।

समितिमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव भेषराज शर्मा, सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा र भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा सदस्य थिए । उपयुक्त स्थान पहिचान गर्न दुई साता समय पाएको समितिले पुतली बगैँचा नै उपयुक्त भएको प्रतिवेदन बुझाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया